सम्पादकीय
देशमा सयौं योजना, आयोजना अलपत्र छन् । तर, यतिबेला ती सयौं अलपत्र आयोजनाका बिच चौतर्फी चर्चा, वादविवाद र बहस छ भरतपुर स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको । जुन रंगशाला अहिले अलपत्र अवस्थामा छ । नेपालले एकदिवसीय क्रिकेटमा ऐतिहासिक सफलता हासिल गरेसँगै रंगशालाको विषय जागृत भएको छ । कितिपूर स्थित रंगशालामा रुखमा चढेर क्रिकेट हेर्नु परेको फोटो, भिडियो भाइरल भएसँगै रंगशालाको विषयमा पक्ष बिपक्षमा मत, अभिमत र बहस जारी छ । यो विषय यति गम्भिर रुपमा उठिरहेको छ कि स्वयंम् रंगशालाको योजना सहित काम सुरु गरेका धुर्मुस–सुन्तली फाउन्डेसनले समेत यसबारे स्पष्टिकरण दिन बिबश भइरहेको छ । भरतपुर महानगरपालिका र संघीय सरकार माथि समेत अनगिन्ती प्रश्न उठिरहेका छन् ।
२० माघ ०७५ मा हाँस्य कलाकार तथा फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र उपाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली)ले भरतपुर–१५ स्थित कृषि तथा वनविज्ञान विश्वविद्यालयको जग्गामा डोजर चलाउँदै रंगशालाको डिपिआर प्रक्रिया सुरु गरेका थिए । उनीहरूले ६ महिनाभित्र डिपिआर सकेर दुई वर्षभित्र रंगशाला तयार गर्ने उद्घोष पनि गरेका थिए । तर, अभियानकर्ताले नै हात झिकेपछि ३० हजार दर्शक क्षमताको रंगशाला खण्डहर बन्दै गएको छ । देश–विदेशमा रहेका नेपालीबाट सहयोग जुटाएर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण थालिनु सुखद खबर थियो । तर, विश्वव्यापी कोरोना संकट लम्बिए सँगै रंगशाला सपना पनि अलपत्र बन्न थाल्यो । डेढ वर्षदेखि कुनै काम अघि बढ्न सकेका छैनन् भने रंगशालाका लागि बनाइएका बिभिन्न संरचना पनि जिर्ण बन्न थालेका छन् । प्यारापिटका लागि तयार गरिएका पिलरका फलामे छडमा खिया लागेको छ । केही रड भुइँमा लतारिएका छन्, काम नलाग्ने भएका छन् । मैदान झाडीमा बदलिएको छ । निर्माणस्थलनजिकै रहेको नमुना रंगशालाको अवस्था पनि बिजोग छ । फाउन्डेसनले रंगशालाका लागि उधारोमा किनेका सामग्रीको १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको फाउण्डेशनले बताइरहेको छ ।
देशकै सुन्दर तर निकै महत्वकांक्षी सपना रहेको रंगशाला सुरुवात गर्दा धुर्मुस सुन्तली दम्पतीको सर्वत्र चर्चा, वाहवाही र प्रंशसा थियो । अहिले समय र परिस्थिति यस्तो आइदियो कि यही अलपत्र रंगशालाको विषयले धुर्मुस सुन्तलीकै भनाईमा सर्वत्र आलोचनाले सुसाइड गर्ने अवस्था आउन थालेको छ । क्रिकेट रंगशाला बनाउने काम सरकारको हो, सरकारले गर्नुपथ्र्यो । तर, हाम्रो देशमा सरकार कमजोर भए पछि निश्चित व्यक्तिहरु भिन्न काम गरे गराएर हिरोइज्म बन्ने बनाउने लहड छ । सम्भवतः कलाकारितामै निकै जमिरहेका धुर्मुस सुन्तलीलाई नपुग्दो केही थिएन । देश विदेशमा मञ्चमा जमिरहेकै थिए । समाजसेवाको भोकले सायद उनीहरुलाई क्रिकेट रंगशालामा जोड्यो । अब आयोजना अलपत्र परे पछि देश विदेशबाट गाली, आक्रोश र आलोचना त सामना गर्नुपरेकै छ । त्यसका अतिरिक्त पहिले कलाकारितामा जमेका, चलेका उनीहरु अब बहिस्करणमा पर्ने खतरामाा छन् । तसर्थ, स्थानीय र संघीय सरकारले समयमै समन्वय गरेर यसको यथोचित निकास दिन जरुरी छ । धुर्मुस सुन्तली फाउण्डेशनले समेत अहिले उठिरहेका प्रश्न, संशयमा जिम्मेवारपूर्ण भूमिका निर्वाह गरेर हस्तान्तरण गर्न आवश्यक छ । र अब हरेक समाजसेवा गर्नेले प्रंशसा मात्र होइन, भोलिका दिनमा आउन सक्ने हरेक परिस्थितिको बिश्लेषण गरेर पाइला चाल्नेमा गम्भिरतापूर्वक सोच्नुपर्छ ।