‘एउटा पैसा कैलेलाई, चैते दशैंलाई’

सम्पादकीय
बागलुङ र चैते दशैं मेला कुनै समय एक अर्काका पर्याय थिए । बागलुङ र धौलागिरी क्षेत्रकै सबै भन्दा ठुलो पर्वको रुपमा स्थापित थियो चैते दशैं । जहाँ रेरेरे, यानीमाया, सालैजो, दोहोरी गीत गाउने, रम्ने रमाउनेको भिड लाग्थ्यो । घरेलु उत्पादनको खरिद–बिक्री पनि उस्तै व्यापक हुन्थ्यो । चैते दशैं पर्वमा हुने जमघटले यस्तो मानक खडा गरेको थियो कि भौगोलिक दुरीका हिसाबले दुरमा भएकाहरुको यही बेला भेट हुने बाचा हुन्थ्यो । चैते दशैं पर्व, यसका विशेषता र महत्वका बारेमा दर्जनौ गीतहरु सार्वजनिक छन् । त्यसबेलाको एउटा गीत एउटा पैसा कैलेलाई, चैते दशैंलाई निकै चर्चित थियो । पछिल्लो समय चैते दशैं मेलामा, झर्छ आँशु छुट्ने बेलामा बोलको गीतले पनि उस्तै चर्चा र समय सन्दर्भको कथा बोलेको छ । यी र यस्ता गीत या कथाहरुले चैते दशैं कति महत्वपूर्ण सामाजिक र धार्मिक पर्व हो भन्ने कुरा सहजै बुझाएको छ ।

चैतेदशैं मेला बागलुङको मौलिक परम्परा हो । चैत्र महिनामा पर्ने दशैं तथा नवरात्रीलाई चैते दशैं भनिन्छ । यसमा पनि दशैंको जस्तै पूजापाठ, चण्डीपाठ, बाजागाजा बज्ने गर्छन् । नेपाली चाडपर्वमा चैते दशैंको पनि महत्वपूर्ण स्थान रहेको छ । चैते दशैँको अवसरमा बागलुङको प्रसिद्ध कालिका मन्दिर परिसरमा वर्षौदेखि भइरहेको मेलामा बिभिन्न कार्यक्रम आयोजना गरेर उत्सव, महोत्सवको रुपमा मनाइन्छ । यसबेला बागलुङ कालिका मन्दिरमा नेपालका साथै छिमेकी भारतबाट समेत हजारौं दर्शनार्थी आउँछन् । असुर शक्तिमाथि दैवी शक्तिको विजय अर्थात् असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइ पटक मनाउने गर्छन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैते दशैं भन्ने गरिन्छ । तर, पछिल्लो केही वर्ष यता मनाइने चैते दशैंमा पहिले पहिले जस्तो मौलिकता र रौनकता भेटिन छोडेको छ ।

चैते दशैं बडा दशैंको एउटा प्रतिबिम्ब चाड हो । पुराना कथनहरुका अनुसार पहिले पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको भोजन अनि हिँड्डूलले धेरैजना बिरामी परेपछी दशैंलाई वर्षको मध्यमा सारीएको मान्यता छ । जे होस्, चैते दशैंको रौनक पनि कम छैन । चैते दशैंलाई कतिपय ठाँउमा सानो दशैं भन्ने चलन पनि छ । यस पर्वको महत्वबोध गरेरै गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा समेत दिएको छ । बागलुङको चैते दशैं रंग रमाइलोमा मात्र सीमित थिएन । कुनै बेला कैयन महिना, दिनलाई व्यापार, व्यवसायबाट खर्च जोहो गर्ने पर्व पनि थियो । सांस्कृतिक बिबिधता, मौलिक कला, संस्कृतिको संरक्षण, पुस्तान्तरणका हिसाबले अनुपम समय र क्षण थियो । त्यसमा अहिले उल्लेख्य ह्रास आएको छ । अब पहिलेकै जस्तो मेला, मौलिकता खोजेर सम्भव छैन । अब समय सापेक्ष रुपमा चैते दशैंको निरन्तरता सँगै व्यापार, पर्यटन लगायतका अनेकन आयामका बारेमा पनि जिल्लाबासीका बिचमा चिन्तन, बहस हुन जरुरी छ । ऐतिहासिक पर्व चैते दशैंको तपाई सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *