बागलुङ बजार, व्यापार र बहस

सम्पादकीय

पछिल्लो केही महिना यता देशमा आर्थिक समस्या बढ्दो छ । आर्थिक तरलताले सिंगो नेपाल र नेपालीलाई गाँजिरहेको छ । व्यापार व्यवसायमा चौतर्फी ह्रास छ । सानादेखि ठुला लगानीका उद्योगी व्यवसायीहरु यतिबेला हठास मनस्थितिमा छन् । बैंकको अस्वभाविक बढ्दो ब्याजदरले कैयन पलायन भइसकेका छन् भने उति नै संख्यामा डिप्रेशनमा पुग्ने अवस्थामा छन् । कोरोना भाइरसको लामो संकट र सकसबाट विस्तारै नियमित लयमा आउन थालेको दैनिकी जीवनबाट फेरि मानिसहरु अप्ठ्यारो परिस्थितिको सामना गरिरहेका छन् । विश्वव्यापी रुपमा देखिएको तरलताको समस्याले नेपाल संकटग्रस्त अवस्थाको सन्निकट छ । यसमा अझ नेपालको अस्थिर राजनीतिले नागरिकलाई थप चिन्तित तुल्याइरहेको छ । अब नेपाल र नेपालमा रहने नागरिकहरुको भविष्य कस्तो रहन्छ ? भन्ने प्रश्न र संशयले धेरैलाई विदेश पलायनको विकल्प र बाटोमा लाग्न बाध्य बनाइरहेको छ ।

सर्वत्र समस्या र संकट देखिरहेको यस्तो बेलामा बागलुङमा पनि व्यापार, व्यवसायमा ह्रास आउनु अस्वभाविक विषय होइन । तर, बागलुङ बजारको वर्तमान अहिलेको दया लाग्दो अवस्था आउनुका पछाडि यति मात्रै कारण छैन । आज सम्म जिल्ला र सदरमुकाम बनाउने नेतृत्व र दायित्व जो जसले पाए, उनीहरु मुख्य जिम्मेवार छन् । त्यसका अतिरिक्त सरकार, सरोकारवाला, स्वयंम् बजारबासी नगरवासी, उद्योगी व्यवसायीहरु पनि यसको जिम्मेवार छन् र हुनुपर्छ । हरेक गाउँ या शहरमा समय सापेक्ष विकास र विस्तार हुन सकेन भने त्यो शहर या गाउँ अन्ततः किनारामा पर्छ या त गुल्जार बनिरहेको मुकामबाट एकाएक सुनसान बन्न पनि सक्छ । त्यो इतिहास र विगत अहिलेको चर्चित पर्यटकीय गन्तव्य बनेको तनहुँको बन्दिपूरले पनि भोगेको थियो । अहिले बागलुङ बजारले भोगिरहेको छ । यसै साता मात्रै नेपालमै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर परिसरमा लागेको परम्परागत ऐतिहासिक चैत्राष्टमी मेलामा हजारौंको उपस्थिति हुँदा पनि बजारले जुन नियति भोग्यो, त्यसले बागलुङ बजारको भविष्यमा खतराको घण्टी निश्चय पनि बजाएको छ । उसो त यसअघि नै दक्षिण क्षेत्रका नागरिकलाई कुश्मा बजारले जोडेर मनग्गे फाइदा उठाइसकेको छ भने गलकोट, र पश्चिम बुर्तिबाङ बुटवलसँग बढी निर्भर भइरहेको छ ।

मन्दिर र मेलामा त्यतिका मानिस आउँदा पनि बागलुङ बजार किन गुल्जार बन्न सकेन ? मेला आयोजक र उद्योग बाणिज्य संघ बिचको सम्बन्ध सधैं कि त तिक्ततापूर्ण मात्रै देखिन्छ र यस्तो महत्वपूर्ण अवसरलाई बजारको व्यापार व्यवसायको उपयोग गर्नमा किन चुकिरहेको छ ? स्वयम् व्यवसायीहरु व्यवसायको विविधता र विकल्पमा किन तदारुकता देखाउन सकिरहेका छैनन् ? बजारको चहल पहल, बजार र पर्यटन प्रवद्र्धन गर्नमा किन ठोस कदम चालिएको छैन ? यसमा सर्वत्र चिन्ता त विगत केही वर्ष यता भइरहेककै छ । यद्यपि असली ठोस कदम चाल्ने गरी चिन्तन सरकार र सरोकारवाला निकायबाट हुन सकिरहेको छैन । अहिले सार्वजनिक मञ्च, सामाजिक सञ्जाल, चोक, चौतारी र चिया पसलहरुमा बजारको व्यापार र भविष्यबारे गफगाफ र बहस भइरहेको छ । अब बहस मात्रले पुग्ने छैन, तत्काल बागलुङ बजारको भविष्यका लागि सरकारी र निजी स्तरबाट पहल नगर्ने हो भने यसको विकल्प स्वभाविक खोजिनेछ, देखिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *