स्तम्भकार शाक्य प्रति भावपूर्ण श्रद्धासुमन


सम्पादकीय/हर मानिस आफ्नो जन्मसँगै स्वभाविक मृत्यु लिएर आएको हुन्छ । विश्व ब्रह्माण्डमा कुनै यस्तो मानिस छैन, जो नमरेको होस् अर्थात् अजम्बरी होस् । चाहे त्यो जुनसुकै भुगोल, क्षेत्र, जाति, धर्म, लिंगका किन नहोउन् । जति नै गरे पनि आखिरमा भौतिक रुपमा यो संसार छोडेर जानै पर्छ । बरु आध्यात्मिक रुपमा मानिसको मृत्युसँगै आत्म नमर्ने लगायतका कैयन विषयमा मानिसहरुमा भेद छ । जीवन र मृत्युका भिन्न भिन्न संस्कार, सोच, परम्परा र विश्वासहरु छन् । हिन्दु धर्मालम्बीहरुको भिन्न विधि र मान्यता छ, बौद्ध धर्मालम्बी, इसाई क्रिस्चियन धर्मालम्बी लगायत अरु भिन्न धर्म मान्नेहरुको जन्मदेखि मृत्यु संस्कार सम्म अलग्गै विधि, संस्कार र मान्यताहरु छन् । यही बिबिध संस्कार र मान्यतका बिचमा समाजको फराकिलो दायरामा बाँच्दै समाजको अनेकन आयाममा भूमिका खेलेका अग्रसर साप्ताहिकका नियमित स्तम्भकार, स्वास्थ्यकर्मी जीवन शाक्यको असामयिक निधन भएको छ ।

शाक्य बागलुङ जिल्लाबासीका लागि चिर परिचित पात्र हुनुहुन्छ । उहाँले अस्पतालमा कार्यरत रहँदा होस् या आफ्नो निजी मेडिकलमा मार्फत होस् या स्वास्थ्य कार्यालयमा सरकारी जागिरेको रुपमा काम गर्दा होस् । नागरिकको स्वास्थ्य अधिकार सहज र सुनिश्चित गर्नका लागि खेल्नु भएको भूमिका स्मरणीय रहनेछ । स्वास्थ्यका बारेमा चेतना, जागरणमा कम भएका बेला गाउँ गाउँमा समेत पुगेर स्वास्थ्य जागरण ल्याउने, मानिसहरुलाई स्वस्थ रहन प्रेरित गर्ने शाक्य स्वयंम्को हृदयघातबाट मृत्यु भएको छ । यो खबरले सिंगो जिल्लाबासी, स्वास्थ्यकर्मी, शुभेच्छुक सबैलाई स्तब्ध तुल्याएको छ । शाक्यको निधनबाट आदर्श सञ्चार सहकारी संस्था लि.ले एक इमान्दार शेयर सदस्य, अग्रसर साप्ताहिकले वर्षौदेखि नियमित स्वास्थ्यका विषयमा कलम चलाइरहनु भएका लेखक स्तम्भकार गुमाएको छौ ।

कुनै एक व्यक्ति जो सरकारी कर्मचारीको रुपमा स्वास्थ्य क्षेत्रमा क्रियाशील, सोही व्यक्ति पत्रपत्रिकामा लेखन मार्फत् पनि स्वास्थ्यकै विषयमा अनवरत सचेतना, जागरणका लागि लेखिरहने निकै कम छन् । अनेकन विषयमा अध्ययन, सरकारी जागिरबाट अवकाश प्राप्त गरेर अनुभवले समेत ओझिलो हुँदा पनि शालिन जीवनशैलीबाट आफूलाई कहिले पनि दुर बनाउनु भएन । चाहे त्यो सरकारी जागिरका क्रममा होस् या परिवार, साथीसंगी हुँदा होस् या समाजमा । शाक्य सम्भवतः सबैजसोका नजरमा कहिले पनि अस्वभाविक, कुरुप भूमिकामा देखिनु भएन । शाक्यले सेवाहरुमा पृथक सेवा क्षेत्रको रुपमा रहेको स्वास्थ्य सेवामा जागिरेको रुपमा रहेर जुन इमानका साथ सेवा प्रवाह गरेका छन् । जुन दृढता, अठोट र समर्पणका साथ सिर्जनशील लेखनमा सक्रिय रहनु भयो । र आदर्श सञ्चार, धौलागिरी जागरण दैनिक र अग्रसर साप्ताहिकलाई अनवरत साथ दिएर लामो सहकार्य गर्नुभयो । यस प्रति आदर्श सञ्चार सहकारी संस्था, जागरण दैनिक र अग्रसर साप्ताहिक परिवार कृतज्ञ ररिरहनेछ । अन्त्यमा, तपाइँको आत्मालाई शान्ति मिलोस् । दिवंगत स्तम्भकार शाक्य प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *