लोकतन्त्रः चित्रमा होइन, चरित्रमा देखियोस्

सम्पादकीय
नेपालमा पुरानो व्यवस्थालाई खराब करार गरेर नयाँ व्यवस्था ल्याएको पनि १७ वर्ष पुरा भइसक्यो । तर, जनताको बलिदान, संघर्ष र त्यागबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रातमक व्यवस्था अनुसारको शासन व्यवस्था र व्यवहार नहुँदा जनतामा खास परिवर्तनको अनुभूति हुन सकिरहेको छैन । व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन सकेन । शासन सत्तामा शाह बंशिय राजाहरुको स्थानमा पात्र बदलिए, खराब प्रवृत्तिहरु बदलिएन । फलतः आजको उन्नत व्यवस्था पनि बदनाम भइरहेको छ । त्यो स्वयंम् व्यवस्थाका कारणले नभई नेपालका राजनीतिक दल र तिनका नेताहरुको अदुरदर्शिता, अपरिपक्वता, प्रतिशोधपूर्ण व्यवहार र अक्षमताका कारण भइरहेको छ । जुन कुरा नागरिकले पनि विस्तारै बुझ्दै गइरहेका छन् ।

मुलुकमा लोकतन्त्र स्थापना हुनु ठीक १७ वर्ष अघिको अवस्था आजको जस्तो अबश्य थिएन । १९ दिन सम्म निरन्तर देशभर उर्लिएको जनसागरका सामु निरकुंश राजतन्त्र अन्ततः घुँडा टेक्न बाध्य बनेको थियो । आज नागरिकमा जुन स्वतन्त्रता छ, त्यो स्वतन्त्रता लगायतका कैयन अधिकार र अवसर आजको समय र व्यवस्थामा छ । तर, लोकतन्त्र जे उद्धेश्य, भावना र मर्मका साथ स्थापना गरिएको हो । त्यस अनुसार देश र मुलुकको राजनीति अघि बढ्न सकिरहेको छैन । लोकतन्त्रको उभार ल्याउने आन्दोलन केबल नेताहरुलाई सत्ताको आसनमा बस्नका लागि मात्र कदापि थिएन । अभूतपूर्व जनआन्दोलन फगत सहरिया सम्भ्रान्तहरुको बुद्धिविलासका लागि मात्र पनि थिएन । त्यो त मुलुकको शासन व्यवस्था र शासकीय चित्र चरित्र दुवै फेरेर हर नागरिकको जीवन र देशमा कायापलट ल्याउने अभिलाषाबाट प्रेरित र निर्देशित थियो । समयको गतिमा वर्षौ पछि परिसकेको देशको विकास, परिवर्तन र समृद्धिलाई तिब्रतर गतिमा जनअपेक्षा अनुसार अघि बढाउने संकल्प र शंखघोषको परिणाम थियो ।

बिडम्बना, यो सब राजनीतिक दल र नेताहरुका लागि भन्ने कुरा मात्र भएको छ । चुनावका बेलामा जनतालाई भ्रमित तुल्याउने चुनावी नारा मात्र भएको छ । ऐतिहासिक जनआन्दोलन सफल भएर लोकतन्त्र स्थापना हुँदाको खुसी, उत्साह र अपेक्षा कुन तहमा थियो ? आज लोकतन्त्र स्थापनाको १७ वर्षमा लोकतान्त्रिक व्यवस्था, राजनीतिक दल, नेताहरु प्रति नागरिकको धारणा र सोच के छ ? आज यघि बिघ्न निराशा, आक्रोश राजनीतिक दल र नेताहरु प्रति किन व्यक्त भइरहेको छ ? निश्चय पनि लोकतन्त्र दिवस मनाउदै गर्दा यसको सघन चिन्ता, छलफल र बहस जरुर हुनुपर्ने हो । त्यसो पनि हुन सकिरहेको छैन । यसो भन्दै गर्दा यसबीचमा केही नभएको होइन, भएको पनि छ । तर, त्यो प्रयाप्त छैन, जनअपेक्षा अनुसार अघि बढ्ने बढाउने कुरामा सरकार, राजनीतिक दल र नेताहरु बारबार चुकिरहेकै छन् । अब विगतबाट पाठ सिकेर अघि बढ्नुको विकल्प पक्कै छैन । निरकुंश राजतन्त्र नसच्चिए पछि जनआन्दोलनको उभार चलेको इतिहास दलहरुले बिर्सिनु हुन्न । अहिले राजनीतिक दल र नेताहरुलाई सच्चिने कि सक्किने कुनै एक विकल्प मात्र छ । नत्र फेरि दलहरुलाई पनि सच्याउन कुनै आन्दोलन या अभियान जरुर चल्न सक्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *