सम्पादकीय
महावीर पुनका साधारण पात्र र जीवनशैली । तर, उनका जीवनका विगत र वर्तमान नजिकबाट नियाल्ने हो भने साधारणसँगै असाधारण लाग्छन् । अधिक नेपालीको सपनाको देश अमेरिका त्यागेर देशमै केही गर्ने हुटहुटीले मातृभूमि फर्किएका दुर्लभ पात्र त हुन् नै, आज भन्दा दशक अघि नै म्याग्दीको दुर्गम गाउँ नागीमा सन् २००७ मै बेतारे इन्टरनेट सञ्जालको पहुँच पु¥याएर विश्व चर्चित म्यागासेसे पुरस्कार समेत पाए । सामान्य पहिरन, खुट्टामा चप्पल लाएरै अधिकांश सार्वजनिक समारोहमा देखिने उनी अहिलेको देखावटी दुनियाँमा पृथक बाँचिरहेका छन् । दुनियाँ आफ्नो र परिवारको नाममा धन सम्पत्ति जोड्न उद्धत भइरहेका बेला महावीर आफ्नो भएको जग्गा सम्पत्ति पनि बेचेर राष्ट्रिय आविष्कार केन्द्रमा नाममा दिन्छन् । यो कुनै भावनामा बहकिएर दिएका पनि होइनन्, यस मार्फत भावी पुस्ताले आफ्नै देशमा नयाँ नयाँ आविष्कार सिर्जना गरेर देशमै कुनै न कुनै उद्यम सिर्जना गर्ने परिस्थिति निर्माणका खातिर हो । यसलाई न त सरकारले गम्भिर रुपमा लिएको छ, न त समाजले नै गहन रुपमा ।
र त महावीर यतिबेला सडकमा छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको राष्ट्रिय आविष्कार केन्द्रको सारा व्यस्तता छाडेर उनी केही दिन यता माइतीघरको सडकमा धर्नामा छन् । ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन र धर्ना कार्यक्रम’ नाम दिएर नयाँ पुस्ताका लागि लडिरहेको उद्घोष गरिरहेका छन् । यस कार्यका लागि सरकार सँग पटक पटक आग्रह र ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिए पछि सडक आन्दोलनमै उत्रिनु परेको बताइरहेका छन् । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राई, योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलाई भेटेर आफ्ना माग राखेका थिए । वैशाखे झरीबीच त्रिपालको ओत लागेर माइतीघरमा आन्दोलनरत महावीरले सरकारसँग ४ बुँदे मााग राखेका छन् । बुँदा १ मा ‘संघ र प्रदेश सरकारले आफ्नो बजेटको १ प्रतिशत अनुसन्धान र नवप्रवर्तन कोष बनाएर राख्नुपर्ने; २. अनुसन्धान, नवप्रवर्तन, आविष्कार प्रवर्द्धन तथा सञ्चालन एवं खरिद ऐन बनाउनुपर्ने; ३. नवप्रवर्तनलाई सरकारले नीति, नियम र कानुन बनाएर व्यावसायिक बनाउन सहजीकरण गर्नुपर्ने र ४. विश्वविद्यालयमा व्यावहारिक अनुसन्धान र नवप्रवर्तन विभाग बनाउनुपर्ने ।’
अहिले महावीरले सडकबाट सरकारसँग जे माग राखेर आन्दोलनमा उत्रिएका छन्, त्यो काम सरकारकै प्राथमिकतामा जरुर हुनुपर्ने हो । जसले सरकारको उचाइँ कद स्वभाविक हिसाबले माथि हुन्थ्यो । तर, सरकार कता कता अलमल र अन्यौलमा छ । जे काम प्राथमिकताका साथ गर्नुपर्ने हो त्यो नगर्ने र जे नगर्ने हो त्यता बढी ध्यान दिन उद्धत रहेको नागरिकको आरोप र गुनासो छ । महावीरले भने जस्तै अध्ययन, अनुसन्धान, आविष्कारमा राज्यका तर्फबाट यथोचित लगानी भएन भने देशको विकास हुँदैन । यो तितो सत्य हो । यसर्थ, युवाहरूलाई अनुसन्धान, आविष्कारमा लगाउन सरकारले आर्थिक, नीतिगत र कानुनी सहयोग गर्नुपर्छ । उच्च शिक्षा र वैदेशिक रोजगारीका नाममा पलायन भइरहेका युवाहरूलाई देशमै राख्ने कार्यको सुरुवात तत्काल नगर्ने हो भने भोलि विकराल अवस्था आउन सक्ने खतरा छ । यस हिसाबले महावीरले उठाएको एजेण्डा र आन्दोलनमा देशव्यापी ऐक्यवद्धता देखिन थालेको छ । सरकारले पनि वार्ताका लागि पहल थालेको छ । सकारात्मक मनसायले सरकारले पहल थालेको हो भने त्यो निकै सुखद कदम हो । यद्यपि, यो आन्दोलनलाई विगतका अरु सडक आन्दोलन, धर्ना, अनसन पश्चातको सहमति, सम्झौता जस्तै नियतिमा पु¥याउने नियत लुकेको छ भने त्यो देशकै लागि दुर्भाग्यपूर्ण हुनेछ । सरकारले महावीरको यो आन्दोलनलाई एक महत्वपूर्ण अवसरको रुपमा उपयोग गरोस् । जसले स्वयंम् सत्तारुढ दल, प्रधानमन्त्री, मन्त्रीको मात्र होेइन, सिंगो देशको हित गर्नेछ ।