कल्ले दियो भारतीयलाई नागरिकता उपहार ?

सम्पादकीय
नेपाल कति मनपरी, बेथितिग्रस्त रुपमा चलिरहेको छ ? पछिल्ला दिनमा सार्वजनिक केही घटना हेरे प्रष्ट हुन्छ । नक्कली भुटानी शरणार्थी काण्डले त नेपाली राजनीति, सत्ता र कर्मचारीतन्त्रको असली अनुहार उदांगो पारिदिएको छ । एक पछि अर्को हाइ प्रोफाइल नेता र कर्मचारी, प्रधानमन्त्री, मन्त्री पत्नीहरु समेत तानिनुले यो ठुलो गिरोहमा भुसको आगो झै फैलिएकोमा अब द्धिविधा रहेन । यही घटनाले सिंगो देश तरंगित भइरहँदा फेरि अर्को उस्तै प्रकृतिको घटनाको समाचार सार्वजनिक भएको छ । भारतीय नागरिकले नेपाली नागरिकता लिएर अबैध धन्दा चलाइरहेको पाइएको छ । जसमा सम्लग्न १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ समेत गरेको छ । यस प्रकरणमा पनि भारतीय नागरिकले नेपाली नागरिकता कसरी प्राप्त गरे ? अब गम्भिर खोज, अनुसन्धानको विषय बनेको छ ।

नेपाली नागरिकता लिएका १० भारतीय नागरिक संघीय राजधानीमा बसेनन् मात्रै, अनेक धन्दा र कारोबार पनि चलाए । जसको ढिलै भए पनि अनुसन्धान गरेर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले शंखमूल, कलंकी, बागबजार र बानेश्वरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमतिदेवी गुप्ता, ३९ वर्षीय गोपाल गुप्ता, ४४ वर्षीय रामसुन्दर गुप्ता, ४३ वर्षीय रामप्रवेश गुप्ता, ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मीनादेवी गुप्ता र ५२ वर्षीय राजेशकुमार गुप्ता छन् । उनीहरू सबै भारत उत्तर प्रदेशको बलिया इब्राहिमपट्टीका हुन् । यो सबैको चासो छ कि उनीहरुले कसरी नेपाली नागरिकता पाए ? नेपालको तराईका विभिन्न जिल्लाबाट विभिन्न समयमा नागरिकता बनाउन स्थलगत खटिएको टोलीबाट उनीहरूले नेपाली नागरिकता लिएको खुलेको छ । यसरी नागरिकता लिँदा भारतीय नागरिकले सिराहा, बारा, पर्सा, रुपन्देही लगायतका जिल्लाबाट नेपालमा घरजग्गा कारोबार गरेको झुटा विवरण पेस समेत गरेका छन् । तर, सरकारी टोली झुक्कियो या योजनाबद्ध रुपमा नागरिकता दिलाइयो ? यो प्रहरी अनुसन्धानको विषय बन्नुपर्छ ।

भारतीय नागरिकले नेपाल भारतको खुल्ला सीमानाको अधिक फाइदा उठाउने मात्र होइन, यसको दुरुपयोग समेत गरेको यो पछिल्लो घटना हो । मधेस आन्दोलनपछि साबिकको नागरिकता ऐन संशोधन गर्ने सहमति अनुसार मुलुकमा नेपाल नागरिकता ऐन, २०६३ जारी भयो । यसकै आधारमा नागरिकता बाँड्ने क्रममा भारतीय नागरिकले नागरिकता लिनुमा कर्मचारीदेखि नेता सम्म अब को कसको सम्लग्नता छ ? नागरिकता जस्तो संवेदनशील विषयमा त्यसबेलाको सरकारी कर्मचारीहरुलाई जरुर अनुसन्धानको घेरामा ल्याउनु पर्छ । प्रहरीले कुनै पनि दबाब र प्रभाब बिना अनुसन्धान गर्नुपर्छ । भारत र नेपाली नागरिकता र मतदाता परिचय पत्रको दोहोरी कार्ड बरामद छ । यस घटनामा योजनाबद्ध रुपमा कुनै गिरोह सक्रिय भएको भए पनि गहिरो अनुसन्धान मार्फत दोषीलाई सम्बन्धित निकायले कानुनी कठघरामा उभ्याउनु पर्छ । जसबाट भोलिका दिनमा कुनै पनि कर्मचारी, नेता या स्वदेशी विदेशी नागरिकले यस्ता अबैध धन्दा गर्ने आँट सम्म नगरोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *