भ्रष्टाचारीलाई संरक्षण होइन सजाय

सम्पादकीय
नेपालमा भ्रष्टाचारको घटनाले पुरै देश तंरगित भइरहेका बेला पाकिस्तानबाट एक खबर आएको छ । जहाँका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन् । इस्लामावाद स्थित उच्च अदालत बाहिरबाट उनलाई प्रहरीले पक्राउ गरेको अलजजिराले जनाएको छ । गत वर्ष प्रधानमन्त्री पदबाट राजीनामा दिएका खान विरूद्ध विभिन्न मुद्दाहरू लगाइएको थियो । उनीविरूद्ध कम्तिमा पनि ८५ वटा मुद्दा भएको र दैनिक कुनै न कुनै मुद्दा पर्ने गरेको थियो । भ्रष्टाचार, आतंकवाद, अदालतको मानहानी, दंगा गरेको लगायतका आरोप छ । यही आरोपहरुका कारण विगतमा सुरक्षा दिने सुरक्षाकर्मीले नै घेरा हालेर पक्राउ गरेको दृश्य विश्वव्यापी रुपमा यतिबेला भाइरल छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री पक्राउ पर्दै गर्दा नेपालमा पनि पूर्व उपप्रधानमन्त्री विरुद्ध नक्कली भुटानी शरणार्थी भ्रष्टाचार प्रकरणमा पक्राउ पुर्जी जारी गरिएको छ । पूर्व प्रधानमन्त्री पत्नी आरजु राणा, पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत यस प्रकरणमा मुछिएका छन् । सत्ता र शक्तिको आडमा नीतिगत निर्णय देखि तल्लो तह सम्म सेटिङ मिलाएर अवैध धन्दा चलाउनेहरुको एक पछि अर्को पर्दाफास भइरहेको छ । राजनीतिक दलका नेता मात्र होइन, कर्मचारी संयन्त्रका उच्च पदस्थ व्यक्तिहरुको समेत मिलोमतोमा यी सबै काम फत्ते भएको पाइएको छ । ८ सय ३९ जनालाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा सानो गिरोह छैन भन्ने प्रष्ट भइसकेको छ । तर, यसको थप गहिरो खोज, अनुसन्धान र यथोचित कारबाहीमा ठुला मान्छेहरुको सम्लग्नता देखिदै गए पछि थुप्रै संशय देखा पर्न थालेको छ । सत्ता निकट व्यक्तिहरु समेत काण्डमा मुछिए पछि सरकार थप सकसमा देखिन्छ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ पुर्जी पछि फरार छन् । उनलाई प्रहरीले आजका मिति सम्म पक्राउ गर्न सकिरहेको छैन । उही मुद्धामा मुछिएका सत्तासीन दलका नेता खाण र देउवाहरु प्रति फरक व्यवहार प्रदर्शन गरिरहेको गुनासो र आलोचना हुन थालेको छ ।

सरकारले नक्कली भुटानी शरणार्थी प्रकरणमा जे जसरी काम गरेको छ, यो निकै सकारात्मक छ । यसको सुरुवातका लागि नेपाल सरकार धन्यवादको पात्र छ । तर, यति भन्दै गर्दा सरकारका थप कदम र कामका बारेमा अनेकन प्रश्न र संशय बाँकी नै छ । अहिलेको ताजा प्रकरणमा एक पछि अर्को शक्तिशाली त्यो पनि सत्तासीन दलका पात्रहरु नै मुछिन थाल्दा अनुसन्धान सुस्तता र प्रभावित हुन सक्ने संशय छ । अर्को तर्फ शीर्ष नेताहरु विगतमा जस्तै आ आफ्ना मान्छेहरुको संरक्षणका लागि मिलिभगत गर्ने पो हुन् कि भन्ने भय छ । किनकी भ्रष्टाचारका अनेकन आयाममा सबैजसो दल र तिनका नेताहरु जोडिएका छन् । यसले गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणको थप अनुसन्धान र कारबाही पाटोमा सरकार चुक्ने पो हो कि भन्ने छ । यी र यस्ता सबै प्रश्न र संशयलाई चिरेर सरकारले यस प्रकरणको न्यायिक निरुपण गर्ने सामथ्र्य राख्नुपर्छ । घटनामा जे जस्तो र जति ठुलो गिरोह भए पनि उनीहरुको मिहिन अनुसन्धान र यथोचित कारबाहीका लागि कठघरामा उभ्याइनु पर्छ । पाकिस्तानमा पूर्व प्रधानमन्त्री इमरान खानलाई जे जसरी पक्राउ गरिएको छ । अब नेपालमा पनि कुनै सत्ता, दल, जात, धर्म, लिंग निकट भएर संरक्षण होइन, बिना दबाब र प्रभाब निश्पक्ष छानविन र दोषिलाई कारबाहीको दायरामा ल्याउने ल्याकत सरकार र प्रहरीले राख्नु पर्छ । नत्र भ्रष्टाचार र बेथितिको जालो तोड्न कठिन हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *