शीर्ष नेताका भेटको अन्तर्य र अपेक्षा

आदर्श अनलाइन, बागलुङ

नेपालका तीन शीर्ष नेता छन्, जो मिलेर जे पनि गर्छन् भन्ने नेपाली समाजमा जबरजस्त एक मानक स्थापित छ । उनीहरुले देशका लागि गर्नै पर्ने काम भन्दा पनि नगर्नु पर्ने काम गरेको आरोप, गुनासा र आलोचना व्यापक छ । यसो भन्दैमा उनीहरुको विगतको समाज र देशका लागि गरेको योगदानको अवमुल्यन कदापि गर्नु हुँदैन । देशको ऐतिहासिक परिवर्तनमा अहिलेका प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड, प्रजातान्त्रिक लोकतान्त्रिक आन्दोलनमा पूर्व प्रधानमन्त्रीद्धय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भूमिका स्मरणीय छ । यिनीहरुको आन्दोलनमा देखिएको एकता र नेतृत्वले व्यवस्था परिवर्तनमा उल्लेख्य उपलब्धि हासिल पनि भएको छ । तर, पछिल्लो समय तीन शीर्ष नेतृत्वको भूमिका, कार्यशैली प्रति चौतर्फी प्रश्न र संशय उठिरहेको छ ।

अझ पछिल्लो नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भए पश्चात शीर्ष तीन नेताको भेट बाक्लिएको छ । यसप्रति आम रुपमा भ्रष्टाचारीलाई चोख्याउने खेलमा सहमति जनाउने खतरा नागरिकले देखिरहेका छन् । विगतमा कैयन पटक यस्तो भएको पनि छ । गत वैशाख २१ यता मात्रै यी तीन नेताबीच पटक–पटक कहिले त्रिपक्षीय त कहिले द्विपक्षीय बैठक–छलफल चलिरहेको छ । चैत १२ गते यो प्रकरणका प्रमुख तीन योजनाकार पक्राउ परेसँगै निरन्तर अघि बढेको प्रहरी अनुसन्धानले उच्चपदस्थ कर्मचारीदेखि प्रभावशाली नेताहरूलाई पनि अनुसन्धानको दायरामा तानिएका छन् । अहिले पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री तथा एमाले सचिव टोपमबहादुर रायमाझी समेत यही प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा पुगेका छन् भने केहीलाई पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको अनुसन्धान प्रतिनिधिसभा सदस्य एवं कांग्रेस नेता आरजु राणा देउवा, कांग्रेसकै प्रतिनिधिसभा सदस्य मञ्जु खाँण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई लगायत मुछिएका छन् । अहिले जनमानसमा शीर्ष नेतृत्व बिचको तिब्र भेटघाट यही विषयमै केन्द्रित भएको आशंका ज्यादा छ । वैशाख २६ र २७ गते दाहाल, देउवा र ओलीबीच त्रिपक्षीय छलफल भएको थियो । आइतबारको समेत जोड्दा पछिल्लो ७ दिनमा दाहाल, देउवा र ओलीबीच तीन पटक त्रिपक्षीय बैठक भइसकेका छन् । यसबाहेक देउवा र प्रचण्ड बिच समेत छुट्टै छलफल भएको छ ।

शीर्ष नेताहरु बिच कुनै समसामयिक सवालमा भेट हुनु अस्वभाविक विषय भएन । तर, शीर्ष नेताहरु बिच हुने भेटघाट देशको राजनीतिक स्थिरता, विकास, समृद्धि, सुशासनका खातिर भएको देख्न, सुन्न चाहन्छन् नागरिक । बिडम्बना भन्नुपर्छ, आजको दिन सम्म अपवाद बाहेक यी नेताहरुका भेटघाटमा आपसी भागबण्डा, मुद्धा मामिला, विवाद, असन्तुष्टिका एजेण्डामा बाहेक अरु देशका लागि अपरिहार्य गम्भीर सवालहरु सायदै छलफल, मन्थन भएको खबर सार्वजनिक छ । त्यही कारण अहिलेको शीर्ष नेताहरूका द्विपक्षीय र त्रिपक्षीय बैठक पनि शंकाको घेरामा छ । शीर्ष नेताको बैठकले आशंका जन्माउनुको प्रमुख कारण राजनीतिक व्यक्ति जोडिएका अधिकांश मुद्दामा अनुसन्धान नै नहुने र भए पनि त्यसबाट उनीहरूलाई उन्मुक्ति दिने दुश्प्रयास हो । यो अहिलेको भेटघाट मार्फत निरन्तरता हुने खतरा प्रति नागरिकको सचेतता र खबरदारी हो । यो शीर्ष नेताहरुले हेक्का राख्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *