सहकारी, बचत सुरक्षा र सरकार

सम्पादकीय
समय गतिशील र बलवान छ । यो कसैको बशमा छैन, आफ्नै गति र लयमा हिँडिरहेछ निरन्तर । यस्तो समयलाई बेला बेलामा कहिले सत्तामा हुने, कहिले शक्तिमा हुनेले, कहिले पैसावालले, कहिले सम्पतिवालाले आफ्नो काबुमा राखेर अहम्ता प्रदर्शन गर्छन्, उनीहरुलाई यस्तो भ्रम हुन्छ कि यो समाज, सिंगो संसार आफ्नै नियन्त्रणमा छ । समाजमा यस्तो एउटा ठुलो पंक्ति छ, जसले आफ्नो स्वार्थ सिद्धिका लागि यस्तै पात्र र प्रवृत्ति भएका मानिसहरुलाई उचाल्छन्, बोक्छन्, निश्चित समय सम्म वाहवाही गर्छन् र अन्ततः पछार्छन् या पछारिए पछि सर्लक्क छोडिदिन्छन् । यस्ता अनगिन्ती घटना, यसबिचमा धेरै देखियो । यो अहिले आर्थिक मन्दी सम्म आइपुग्दा अझ बढि देखिएको छ । बागलुङकै शिव शिखर बहुउद्धेश्यीय सहकारी र इमेज बचत तथा ऋण सहकारी संस्था र तिनका सञ्चालक उदाहरणको रुपमा देखिएका छन् ।

इमेज सहकारी आकर्षक ब्याज दिने मात्र होइन, स्मार्ट रुपमा सञ्चालन भएर कर्मचारीलाई समेत आकर्षक तलब दिने सहकारीको रुपमा उदाहरणीय थियो । तर, केही महिना यता जटिल बन्दै गइरहेको आर्थिक मन्दीले इमेज सहकारी निकै कठीन अवस्थामा छ । सहकारीको सबै बचत रकम आफ्नो व्यक्तिगत सम्पत्ति बेचेर भए पनि क्रमशः फिर्ता गर्ने प्रतिवद्धता गरेका यसका संस्थापक अध्यक्ष देवकुमार नेपाली अझ सम्पर्कविहीन भएको सूचना पछि त पुरै देश तरंगित बनिरहेको छ । बचतकर्तासँग पटक पटक भेट र सामूहिक छलफल समेत गरेका नेपाली जेठ ४ गतेदेखि सम्पर्कविहीन भएको भन्दै संस्थामा बचत गरेका बचतकर्ताहरु आइतवार बिहानैदेखि कार्यालय घेर्नुका साथै जिल्ला प्रशासन कार्यालय अघि नाराबाजी समेत गरेका थिए । नेपालीले इलाका प्रहरी कार्यालय बुर्तिबाङमा उपचारका लागि जानु पर्ने भएकाले परिवारको सुरक्षाका लागि आग्रह गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ । नेपाली सम्पर्कविहीन भएको बचतकर्ताहरुको उजुरी पछि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा पत्राचार गरेको थियो । पत्राचार लगत्तै संस्थापक अध्यक्ष नेपाली सहित सञ्चालक समितिका सबैलाई विदेश जानमा रोक लगाइएको छ ।

इमेज सहकारीका संस्थापक अध्यक्ष नेपाली केवल संस्थापक मात्रै होइनन्, उनी ढोरपाटन नगरपालिकाका मेयर समेत हुन् । त्यो पनि दुई दुई कार्यकाल शानदार मतका साथ बिजयी नेपाली अहिलेको जटिलता र संकटबाट भाग्ने छुट छैन । जनप्रतिनिधिका हिसाबले जनताप्रति र आफ्नो सहकारीका शेयर, वचतकर्ता प्रति निःसन्देह जवाफदेही र उत्तरदायी बन्नैपर्छ । अहिले आर्थिक मन्दीको कठीन समयमा सबै बैंक वित्तीय संस्थाहरु अप्ठ्यारो अवस्थामा छन्, त्यसको सिकार इमेज सहकारी, शिव शिखर लगायतका कैयन सहकारी, लघुवित्तहरु भइसकेका छन् । जसबाट हजारौ सर्वसाधारण नागरिक ठगिसकेका छन् । अब यसमा शेयर वचतकर्ताको रकम सुरक्षित गर्ने दायित्व राज्य र यसका निकायको हो । इमेज सहकारीको सवालमा नेपाली सम्पर्क विहीन भएपछि सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराले कानुनी प्रक्रिया के कसरी अघि बढाउछ ? त्यो हेर्न बाँकी छ । यस घटनाले अब सिंगो सहकारी बदनाम मात्र भएका छैनन्, चौतर्फी प्रश्न र संशय उठिरहेको छ । अब यसबाट पाठ सिकेर सबै सहकारी, सञ्चालक समिति, तीन तहको सरकार, सहकारी संयन्त्रले सचेततापूर्वक ठोस कदम चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *