शरणार्थी प्रकरणः प्रतिशोध र जालसाजीमा नसकियोस्

सम्पादकीय
पछिल्लो एक महिना नक्कली भुटानी शरणार्थी प्रकरणले देश तरंगित छ । देश मात्र होइन, विश्व समुदाय समेत नेपालको भ्रष्ट सरकारी संयन्त्र, अव्यवस्थित प्रणालीबारे थप जानकार भएको छ । सिंगो नेपाल र नेपाली बदनामी भएका छन् । सत्ता र राज्य संयन्त्रमा रहेका सीमित व्यक्तिहरुको स्वार्थ सिद्धिका लागि सिंगो देशले बदनामी खेप्नुपर्ने अवस्था सिर्जना गरिनु राज्य विरुद्धको गम्भिर अपराध हो । यो अपराध कर्म ढिलै भए पनि नेपाली प्रहरीले पत्ता लगएको छ । र यस घटनामा सत्ताको बागडोर सम्हालिरहेका मन्त्री, उच्च पदस्थ कर्मचारी, राजनीतिक दलका नेता र ठगी गिरोहको सक्रियता मिलोमतोमा नीतिगत भ्रष्टाचार कसरी हुन्छ भन्ने नयाँ तथ्य समेत उजागर गरेको छ । यसले नेपाली राजनीति, सत्ता र कर्मचारी संयन्त्रको कुरुप अनुहार समेत उदांगो बनाइदिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालीन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत अहिले हिरासतमा छन् । उनीहरु विरुद्ध प्रहरीले आवश्यक अनुसन्धान पश्चात जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने ठगी प्रकरणमा ३० जना प्रतिवादी विरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा अभियोग पत्र दायर गरेको छ । अभियोग पत्रमा ठगी, सरकारी कागजात कीर्ते, राष्ट्रहित विरुद्धको कसूर र संगठित अपराध मुद्दामा कारबाही गर्न माग गरिएको छ । मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । उसो त पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवा, पूर्वगृहमन्त्री खाण पत्नी मञ्जु पनि बयानका क्रममा मुछिएका छन् । अभियोग पत्र दर्ता गर्ने सम्मुखमा पूर्व प्रधानमन्त्री केपी ओलीका स्वकीय सचिव राजेश ब्रजाचार्य समेत प्रकरणमा मुछिएका छन् । भलै प्रहरीले अभियोगमा यथेष्ट प्रमाण नभएको प्रष्टोक्ति दिएको छ । अझ गम्भिर विषय त प्रहरी प्रमुख एआइजी बसन्त कुवर नै यस प्रकरणमा अनुसन्धानको घेरामा उभ्याउनु पर्ने विषय सार्वजनिक भएको छ ।

हुन त कुनै व्यक्तिले बोल्दैमा या आरोप लगाउदैमा त्यही कुरा सत्य हुँदैन । आग्रह, पूर्वाग्रह, प्रतिशोधले धेरै अनुसन्धान प्रतिवेदन र दाबी पटक पटक निकम्मा सावित भएका छन् । अहिले यस प्रकरणमा पनि धेरै विषय बाहिर आइरहेका छन् । त्यसको तथ्य जाँच प्रहरीले त गर्छ नै, आम नागरिकले पनि सामाजिक सञ्जाल या कसैले लेख्दैमा त्यसको तथ्यमा नगई भाइरल गर्ने होड जे छ । त्यो नेपाली समाजका लागि निकै हानिकारक देखिएको छ । अतः नेपाल प्रहरीले कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशिल विषयमा सूचना समाचार सम्प्रेषण नगर्न, भ्रम सिर्जना नगर्न आग्रह गरेको छ । उसो त प्रहरी पनि बेला बेला निश्चित राजनीतिक प्रतिशोध र सीमित व्यक्तिको स्वार्थ पुर्तिका लागि मतियारको रुपमा प्रयोग भएको विगत पनि छ । त्यसैले अहिलेको नक्कली भुटानी शरणार्थी प्रकरणमा कुनै प्रतिशोध र जालसाजी गरेर दोषिलाई कारबाहीबाट जोगाउने दुश्प्रयास नहोस् । साथै निर्दोषलाई जबरजस्त मुछेर प्रतिशोध साँध्ने र चरित्र हत्या गर्ने कार्य पनि कहीकतैबाट नहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *