गणतन्त्र दिवस : सर्वसाधारणलाई विस्मात नबनोस्

सम्पादकीय

आज जेष्ठ १५, गणतन्त्र दिवस । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १५ वर्ष पुगेको छ । २०६२÷०६३ को १९ दिने जनआन्दोलनले २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरेपछि १५ जेठ २०६५ मा जननिर्वाचित संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था शुभारम्भ भएको घोषणा गरेको थियो । देशको शासन व्यवस्था नै परिवर्तन भइ गणतन्त्रात्मक व्यवस्था शुरु भएको आजको दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा बिभिन्न कार्यक्रम त गरिन्छ तर, आम नागरिकमा दिवस प्रतिको खास उत्साह र गुञ्जायस छैन । किनभनेर मुलुकमा गणतन्त्र स्थापना भएको वर्षौ भइसक्दा पनि व्यवस्था अनुसारको परिवर्तन संस्थागत नहुँदा नागरिकमा चरम निराशा देखिन थालेको छ ।

हरेक वर्ष गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष लगायतले देशबासीलाई शुभकामना त व्यक्त गर्छन्, औपचारिकता निरन्तरताको कर्मकाण्ड निभाउछन् । तर, उनीहरु स्वयंम् देश कुन दुर्दशाबाट गुज्रिरहेको छ ? नागरिक कुन स्तरबाट बाँचिरहेका छन् ? त्यसबारे बेखबर भए जस्तो प्रतित सर्वत्र हुन्छ । गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रूपमा मात्र नभई जीवनपद्धतिका रूपमा समेत स्थापित र संस्थागत हुँदै जानुपथ्र्यो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था अवलम्बन भएपछि देश सुशासन तथा द्रुत आर्थिक र सामाजिक विकाससहित समृद्धि हासिलको दिशामा उल्लेख्य प्रगतिको विन्दुमा पुग्नुपथ्र्यो । राजनीतिक स्थिरता सहित आम नागरिक आशावादी, जीवनवादी भएर गर्विलो जीवन व्यतितको अवसर पाउनु पथ्र्यो । तर, देश अझै पनि राजनीतिक अस्थिरताको भयमा छ । भ्रष्टाचार, कमिसनतन्त्र, बेथिति केन्द्रदेखि स्थानीय तह सम्म संस्थागत हुँदै गएको छ ।

व्यवस्थाहरुमा उन्नत मानिएको व्यवस्था हो गणतन्त्र । व्यवस्था उन्नत भए पनि पात्र र प्रवृत्तिमा परिवर्तन नहुँदा देश यथास्थितिबाटै गुज्रिरहेको छ । यसो भन्दैमा पहिलेको राजतन्त्रात्मक शासन व्यवस्थाकै अवस्था भन्ने होइन । गणतान्त्रिक व्यवस्था अनुसारको आचरण, विकास, कार्यशैली विकास हुन सकेको छैन । सत्ता र शक्तिको पहुँचमा भएकाहरुले सीमित र सामूहिक स्वार्थ पुर्तिका लागि जे पनि गर्ने राजनीतिक दल, नेता र कर्मचारीतन्त्रको नियतको सिकार नेपाल र नेपाली बनेका छन् । गणतन्त्र केवल जप्ने, चर्का भाषण गर्ने अस्त्र जस्तो भएको छ । यद्यपि, अहिलेको सरकारले नक्कली शरणार्थी प्रकरणबाट भ्रष्टाचार नियन्त्रणका लागि कदम सुरु गरेको छ । भलै यस प्रकरणलाई अनेक कोणबाट ढिसमिस बनाउने कुरुप खेल समेत भइरहेकै छ । अर्को तर्फ सरकार, अदालत र राष्ट्रपतिको सम्बन्ध, भूमिका पनि विवादास्पद र बिरोधाभास देखिन थालेको छ । गणतन्त्र सर्वसाधारण नागरिकका लागि न हर्ष न विस्मात जस्तो हुन थालेको छ । त्यसैले, गणतन्त्रात्मक शासन व्यवस्थाको असली अनुभूति नागरिकलाई गराउन एक दिन दिवस मनाएर दिप प्रज्वलन गरेर, शुभकामना दिएर मात्र पुग्दैन, साँच्चिकै समृद्ध नेपाल सुखी नेपालीको संकल्पलाई सार्थक बनाउने ठोस कदमहरु साझा रुपमा अघि बढाउन अपरिहार्य छ । अबको साझा एजेण्डा संविधानको सफल कार्यान्वयन, बलियो राष्ट्रिय एकता र प्रत्येक नागरिकले प्रत्यक्ष अनुभूति गर्ने दिगो आर्थिक विकाससहितको समृद्ध नेपाल निर्माण हो । यस लक्ष्य र दायित्वबाट सरकार, सरोकारवाला निकाय र अरु कोही पनि पन्छिन मिल्दैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *