‘सेलिब्रेटी क्रेज’को दुरुपयोग नगर

सम्पादकीय
कलाकारलाई नेपाली समाजमा अझै पनि अमुल्य गहनाको रुपमा हेर्ने गरिन्छ । यसको अर्थ कलाकार अरु मानिसहरु भन्दा पृथक क्षमताका मानिन्छ । र त अरुलाई भन्दा भिन्न हिसाबले समाजमा सम्मान र व्यवहार गरिन्छ । त्यसकारण कलाकार र तिनका सिर्जनालाई मन पराउने, पछ्याउनेहरुको संख्या अनगिन्ती हुन्छ । उनीहरुले जे जस्ता व्यक्तिगत, सामाजिक या व्यावसायिक कर्म गर्छन्, त्यो आम मानिसहरुका लागि प्रेरणा, सिकाई र प्रचारको विषय र अवसर बन्छ । तर, साँच्चिकै सेलिब्रेटी कलाकारहरुले आफ्नो क्रेज, उचाई अनुसारको मर्यादा पालन र कर्म गरिरहेका छन् त ? यो पाटोको गहिरो खोज नभए पनि कैयन कलाकार आफ्नो लोकप्रियता, क्रेज बिर्सेर पैसा कमाउनकै लागि अवैध कर्म पनि गर्ने गरेको खुलेको छ ।

केही साता अघि तिनै सेलिब्रेटी कहलिएका दर्जन हाराहारीका कलाकार पक्राउ परे । अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन प्रचारप्रसार गरेको आरोपमा गत जेठ ३२ गते उपत्यका अपराध अनुसन्धान कार्यालयले हास्यकलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर), पवन खतिवडा (म्याकुरी), सरोज घिमिरे (ढेडो बूढो), बेगम नेपाली (भटभटे माइला) लगायतलाई पक्राउ ग¥यो । अनलाइन जुवा प्रचार प्रसारका लागि १० देखि ४० लाख रुपैयाँसम्म लिएको प्रमाणसमेत फेला परेको छ । यस घटनाले नेपाली कला क्षेत्र तरंगित बन्यो नै, सिंगो नेपाल र नेपाली समेत आफुले फरक आदर्श पात्र र सम्मानका साथ लिइएका कलाकाहरुले गरेको अवैध धन्दाको खबरबाट मर्माहत बनिरहेका छन् । धेरै मेहेनत पछि उल्लेख्य नेपालीको माया र साथ पाएका कलाकार एकाएक हातमा हत्कडी लगाउन बिबश छन् । एकैसाथ लाखौ दर्शकमा पुग्ने पहुँच र पल्याटफर्म बनाएका कलाकारले केही लाखको लोभमा अवैध धन्दालाई साथ दिँदाको सजाय अहिले भोगिरहेका छन् । अहिले उनीहरु प्रहरी हिरासतमै रहे पनि पहिले नै छायांकन गरिएका भिडियो सिरियलहरु नियमित प्रसारण भइरहेकै छ । यस घटना रिल र रियल जीवन बिचको भिन्नता बुझ्न समेत काफी बनिरहेको छ ।

हुन त अवैध कर्म र धन्दामा सेलिब्रेटी बनिरहेका कलाकाहरु पक्राउ परेको यो घटना नितान्त नयाँ र नौलो कदापि होइन । नेपाली समाजमा यस्ता कैयन अवैध र अपराधजन्य घटनामा कलाकारहरु आफ्नो लोकप्रियताको उपयोग होइन, दुरुपयोग गरेर छिटो आर्थिक उपार्जन गर्ने ध्येल प्रहरी हिरासत र जेल सम्म पुगेका छन् । देशदेखि विदेशमा मानव तस्कर गर्ने सम्मका घटना र समाचार बेला बेला आएका पनि छन् । भन्न त भन्ने गरिन्छ, पैसा भने पछि भगवानका पनि तीन नेत्र खुल्छन् । यहाँ पनि चाहे कलाकार होस् या अरु आम मानिस, पैसाका लागि जे पनि गर्ने पात्र र प्रवृत्ति बढ्दो क्रममा देखिन्छन् । यसमा राज्यले पछिल्लो समय कडाई गर्दै आएको छ । बिद्यमान व्यवस्था, नीति, नियम विपरित अवैध धन्दामा लोकप्रिय कलाकारहरु मुछिएर हिरासतमा पुग्नु कलाकारका लागि त लज्जाको विषय हो नै, सिंगो समाज र देशका लागि समेत यो सुखद विषय होइन । अब यस घटनाबाट पाठ सिकेर हरेक क्षेत्रमा सफलता हासिल गर्ने व्यक्तिहरुले पनि आफ्नो लोकप्रियता, उचाई र गरिमाको ख्याल गर्नुपर्छ । नत्र कठीन दुःख र मेहनेतले आर्जन गरेको जनविश्वास, लोकप्रियता र उचाई क्षणभरमा भुइँमा पुग्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *