सुशासन, समृद्धि ‘राजनीतिक स्टन्ट’ मा सीमित नहोस्

सम्पादकीय
देश बन्ने बनाउने अभियान जारी छ । पुरानो संकुचित र निरकुंश शासन व्यवस्थाको निस्सासिदो समय पार गर्दै अहिलेको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हामी छौ । मुलुकमा व्यवस्था फेरियो, समयसँगै थुप्रै चिज फेरिए । तर, नेपालको बिडम्बना भन्नुपर्छ, पुराना खराब पात्र र प्रवृत्तिजन्य समस्यामा अपेक्षाकृत र उल्लेख्य बदलाव आउन सकेन । कारण जकडिएर रहेको बेथिति, फोहोरी राजनीति नै हो । एकले अर्को दल वा नेतालाई असल नियतले राम्रो गर्दा पनि खुट्टा तान्ने अस्वस्थ खेल निरन्तर चलिरहेको छ भने अर्कोतर्फ राजनीतिक दल र नेताहरुले काम भन्दा पनि सस्तो लोकप्रियताको आशक्तिबाट गर्ने राजनीतिक स्टन्टबाजी नेपाली समाजमा समस्या र विकृतिको रुपमा देखिएको छ ।

नेपाली राजनीतिमा कति काम गर्ने हल्ला नगर्ने छन् भने कति काम नगर्ने हल्ला बढी गर्नेहरु छन् । देश बनाउने उद्घोष गर्नेहरुले नै देश बिगार्ने काम पनि गरिरहेका छन् । नेताहरुले आफ्नो बोलि र व्यवहारमा एकरुपता ल्याउन सकिरहेका छैनन् । बिभिन्न समय र सन्दर्भमा राजनीनिक स्टन्ट गरेर चर्चा बटुल्ने होडमा छन् । यतिबेला राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचार खर्च आफै बेहोर्ने समाचारले उत्साहित नागरिक नेपाल सरकारले खर्च बेहोर्ने निर्णय गरेको समाचारले उत्तिकै आक्रोशित अवस्थामा छन् । संघीय सरकारको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको छ । भारतमा उपचार गर्न जाँदा र आउँदा लागेको हवाई भाडा, अस्पतालको खर्च र सुरक्षाकर्मीहरुको दैनिक भ्रमणभत्ता लगायतमा ५५ लाख २ हजार २ सय ७९ रुपैयाँ खर्च भएको विवरण छ । जबकि यसअघि राष्ट्रपति आफैंले उपचार खर्च बेहोर्न चाहेको भनी उनको कार्यालयबाट सूचना सार्वजनिक भएको थियो । स्वदेशमै हुन सक्ने सामान्य उपचारका लागि विदेश गएको भनी आलोचित पौडेलका तर्फबाट कार्यालयले वक्तव्य जारी गर्दै आलोचना मत्थर गरेको थियो । अहिले भने सरकारले नै उक्त रकम तिर्ने निर्णयले फेरि राष्ट्रपति प्रति आक्रोश र आलोचना बढेको छ ।

राष्ट्रपतिले आफ्नो उपचार खर्च आफै बेहोर्ने निर्णय देशका लागि सुखद थियो नै । तर, अहिले एकाएक सरकारले राष्ट्रपतिको उद्घोष विपरित खर्च बेहोर्ने निर्णय गरेको खबर आउनु दुखद र बिडम्बनाको विषय हो । राष्ट्रपतिको उपचार खर्च राज्यले बेहोर्ने कुरा अन्यथा र अस्वभाविक विषय पनि होइन । तर, केही साता अघि आफ्नो उपचार खर्च आफै बेहोर्ने निर्णय गरे पश्चात वाहवाही पाएका पौडेल झन् बढी आक्रोश र आलोचनाको सिकार बन्ने अवस्था पैदा भइसकेको छ । यो अरु विपक्षी दल या नेता, कार्यकर्ताहरुको कारण नभई स्वयंम्ले समस्या सिर्जना गरेका हुन् । पहिले नागरिक आलोचना झेल्न नसकेर सस्तो लोकप्रियताका लागि जे पनि जसो पनि गरियो, गर्ने क्रम जारी छ । अब राजनीतिक स्टन्ट हटाएर असली समाजको समस्या र सम्भावनालाई ठोस योजनाका साथ अगाडि बढाउनुको विकल्प छैन । त्यसैले सस्तो लोकप्रियताका लागि राजनीतिक स्टन्ट गर्ने प्रवृत्ति अब रोकिनु पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *