सम्पादकीय
नेपाली राजनीति अझै पनि कति परनिर्भरताको अवस्थामा छ र नेताहरु कति दुरदर्शी, इमान्दार र परिपक्व छन् भन्ने हेर्न पछिल्ला केही घटना र परिदृश्य काफी छ । सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्ति र त्यस पछि उत्पन्न तरंग एक उदाहरण हो । ‘रोड्स टु द भ्यालीः द लिगेसी अफ सरदार प्रितम सिंह इन नेपाल’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक भारतको दिल्ली गएको बताएका थिए । त्यसपछि नेपालको संसद यही विषयले तंरगित छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संघीय संसदको दुबै सदन अवरुद्ध गरेको प्रधानमन्त्रीको राजीनामा समेत मागिरहेको छ । संसद बाहिर समेत प्रचण्डको व्यापक आलोचना र बिरोध भइरहेको छ ।
प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिलाई लिएर एमालेले बुधबार राष्ट्रियसभा र त्यस लगत्तै बसेको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध ग¥यो । प्रधानमन्त्रीको अभिव्यक्तिले संसदको अपमान गरेको र नेपालको स्वाभिमान गिरेको एमालेको निष्कर्ष छ । हुन पनि एउटा गम्भिर प्रश्न चाही प्रधानमन्त्रीको अभिव्यक्तिले स्वभाविक जन्माएको छ । के प्रचण्ड साँच्चिकै भारतको इशारा, चाहना, भारतको नेतृत्व र भारतको संयोजनमा भएका हुन् ? नेपालको सार्वभौम संसदको यसरी खुलेआम मानमर्दन गर्न मिल्छ ? नेपालको प्रधानमन्त्री बन्न भारत जानुपर्छ भन्ने आशयको अभिव्यक्तिले मुलुकको राष्ट्रियता, स्वभिमान कहाँ पुग्यो ? के प्रचण्डको पछिल्लो अभिव्यक्ति प्रमुख प्रतिपक्षले भन्दै आएको आरोप ‘भारतका लागि समेत कम्फर्टेबल सरकार’ कै निरन्तरता हो त ? नेपालको सरकार भारतले बनाउँदै आएको र बनाइरहन्छ भन्ने सन्देश देशभित्र र बाहिर स्थापित बनाउनमा प्रचण्डको अभिव्यक्ति कति सहयोगी बन्यो ? यी र यस्ता अनगिन्ती प्रश्न र सवाल जरुर उठेको छ । जसको जवाफ अब प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले दिनै पर्नेछ ।
प्रचण्डले जे अभिव्यक्ति दिएका छन्, त्यो प्रत्यक्ष परोक्ष रुपमा कैयन हद सम्म देखिएको पनि हो । तर, एक देशको प्रधानमन्त्रीले त्यही कुरा सार्वजनिक रुपमा अभिव्यक्त गर्दा देशको स्वाभिमान गिरेको छ । नेपालमा प्रधानमन्त्री बन्न राष्ट्रहित जहिले पनि गौण र भित्री मनसाय भारत खुसी पार्ने मनोवृत्तिलाई मलजल गरेको छ । उसो त प्रचण्ड बेला बेलामा कहिले भावुक त कहिले उत्तेजित भाषण गरेर विवाद र आलोचना खेपिरहन्छन् । अहिले पनि उनले जे जसरी अभिव्यक्त दिएका छन्, त्यो मुलुकको प्रधानमन्त्रीको रुपमा कत्ति पनि स्वीकार्य छैन । यसमा उनले प्रमुख प्रतिपक्षीले भने जस्तै राजीनामा नभए पनि नैतिक रुपमा आफ्नो कमजोरी प्रति आत्मआलोचना सहित स्पष्टिकरण र सच्चिने प्रतिवद्धता जरुर गर्नुपर्छ । नत्र उनी स्वयंम्का लागि मात्र होइन, यस्तो प्रवृत्ति मुलुकका लागि समेत निकै महँगो पर्न सक्नेछ ।