एसईई, नतिजा सुधार र सन्देश

सम्पादकीय
माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा यसै साता सार्वजनिक भयो । एसइई परीक्षाको नतिजा पहिलेको एसएलसी परीक्षाको जस्तो रौनकता नभए पनि यसको चर्चा परिचर्चा र बहस भने अझै बिद्यमान छ । एसइई परीक्षामा पहिले जस्तो पास फेल हुने व्यवस्था हटेर सबै उतिर्ण हुने व्यवस्था गरिएको छ । तर, सबै पास हुँदा पनि यस परीक्षाको सफलता, सुधार, सन्देश लगायतका विषय सोचनीय छ । कारण एसएलसी परीक्षा समय अनुकुल शिक्षाको माग सहित एसइई परीक्षा नामाकरण गरे पनि त्यसमा अपेक्षित सुधार आउन सकेको छैन । जसले गर्दा हजारौ बालबालिका विद्यार्थीहरु चौतर्फी निराशा बेहोरेर बसिरहेका छन् । अब के हुन्छ ? कहिले सम्म हुन्छ ? यावत प्रश्न र संशय उठ्न थालेको छ ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० को (एसइई)को नतिजामा गत वर्षभन्दा सुधार भएको छ । ०७८ मा जिपिए ३.६० देखि ४.० सम्म ल्याउनेको संख्या नौ हजार ६ सय ३३ (१.९४ प्रतिशत) रहेकोमा ०७९ मा सोही जिपिए ल्याउनेको संख्या २२ हजार चार सय ७५ (४.६३ प्रतिशत) छ । ०७८ मा जिपिए ३.२ देखि ३.६० सम्म ल्याउनेको संख्या ४१ हजार ६ सय २७ (८.४० प्रतिशत) रहेकोमा ०७९ मा ५५ हजार ६९ (११.३६ प्रतिशत) पुगेको छ । कोभिडको खास प्रभावित वर्ष ०७६ र ०७७ मा भने सम्बन्धित विद्यालयले आन्तरिक मूल्यांकन गरेर नम्बर उपलब्ध गराएका कारण उच्च जिपिए ल्याउने अझै धेरै थिए । प्रयोगात्मक परीक्षा नहुँदा गणितमा सबैभन्दा कमजोर नतिजा आयो । ई ग्रेड आउने डेढ लाख छन् । कुल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीमध्ये एक लाख ५५ हजार चार सय ५९ को गणितमा ई ग्रेड आएको छ । डी ग्रेड ल्याउने ४९ हजार आठ सय १० छन् । यी विद्यार्थीलाई कक्षा ११ मा भर्ना पाउन कठिन हुन्छ । २० देखि माथि र ३० भन्दा कम अंक ल्याउनेले डी र २० भन्दा कम ल्याउनेले ई ग्रेड पाउँछन् । ०७८ मा गणितमा ग्रेड ई ल्याउनेको संख्या एक लाख ८८ हजार ९४ थियो  ।

एसइई परीक्षा अब आइरन गेट रहेन । किनभने यसको पुरानो चर्चा, मान्यता र दृढतामा कैयन बदलाव आइसकेको छ । एसइई परीक्षा पहिले जस्तो निकै कठिन र जटिल छैन । पछिल्लो समय सार्वजनिक नतिजामा थुप्रै विषयमा सुधार भएको खबर सार्वजनिक छ । तर, गणित लगायतका केही विषय विद्यार्थीका लागि गलपासो बनिरहेको छ । यो वर्ष ऐच्छिक विषय कम्प्युटर साइन्समा उत्कृष्ट अंक ल्याउने विद्यार्थीको संख्या ठूलो छ । कम्प्युटर साइन्समा ३१ हजार आठ सय ७२ ले ए प्लस ल्याएका छन्  । यो विषयमा यति धेरै अंक प्राप्त भएको पहिलोपटक हो । ०७८ मा कम्प्युटर साइन्समा २५ हजार आठ सय ४० परीक्षार्थीले ए प्लस ल्याएका थिए । यसपालि गणितमा १९ हजार तीन सय ३० ले ए प्लस ल्याएका छन् । अनिवार्य अंग्रेजीमा १७ हजार ६ सय २९, विज्ञानमा नौ हजार पाँच सय ७३, स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षामा २२ हजार पाँच सय ७४ विद्यार्थीले ए प्लस ल्याएका छन् । जिपिए ४.० ल्याउनेको नतिजा समीक्षा गर्ने सरकारको तयारी छ । यति मात्रै होइन, अहिले परीक्षामा सुधार आएको दावी गरिएको छ । यो दाबी कति यथार्थ छ ? एसइई नतिजा, सफलता र सुधारका लागि जरुर सोच्नुपर्नेछ । र थप कदम सहित अघि बढ्नुपर्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *