दिवंगत दाहाल प्रति श्रद्धासुमन

सम्पादकीय
प्रधानमन्त्री पत्नी सीता दाहालको बुधबार दु:खद निधन भयो । पार्किन्सन जस्तो जटिल रोगबाट लामो समयदेखि ग्रसित दाहालको निधनले सिंगो देश स्तब्ध बन्यो । विशेष गरी उनले प्रचण्डले सुरु गरेको जनयुद्धदेखि गणतन्त्रात्मक शासन व्यवस्था स्थापित गर्दासम्म अविचलित गरेको त्याग, समर्पण अभूतपूर्व र स्मरणीय छ । प्रधानमन्त्रीका रुपमा प्रचण्ड सत्तामा हुँदामा पनि कुनै लाभ, पद र आशक्तिमा नमुछिएका सिता सादगी र निस्वार्थ पात्रका रुपमा अस्ताएकी छिन् । उनको राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनलाई पति पुष्पकमल दाहाल प्रचण्ड र दुई छोरी रेणु र गंगाले दागबत्ती दिएका हुन् । जहाँ विभिन्न राजनीतिक दलका नेता तथा उनका शुभचिन्तकहरुले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रधानमन्त्री एक पिताका रुपमा आफ्ना तन्नेरी छोरा प्रकाश दाहाल र छोरी ज्ञानु दाहाल गुमाएर पीडाबाट आहत थिए नै, त्यही आहातबाट चरम प्रताडित बनेकी थिइन् सिता दाहाल । जुन पीडाबाट निस्किएर नियमित लय र दैनिकीमा फर्किन उनलाई निकै कठिन भयो । पिर र सन्तापकै बिच जटिल पार्किन्सन रोगबाट ग्रसित भए पछि केही वर्ष यता सिताको स्वास्थ्य अवस्था निकै नाजुक बनिसकेको थियो । सम्भाव्य उपचारको खोजीमा प्रचण्ड र उनका परिवारले सबै पहल गरे । तर, सिताको स्वास्थ्यमा सुधार आउन सकेन । अन्ततः उनले ज्यान गुमाएका छन् । उनको निधनसँगै प्रचण्ड परिवारले एक श्रीमति, एक माता, सिंगो माओवादी पार्टी र देशले एक अभिभावक गुमाउनु परेको छ । मानवका रुपमा तिनका पनि कमीकमजोरी त हुन सक्लान् । यद्यपि, उनले जनयुद्धदेखि अप्ठ्यारा दिनहरुमा समेत प्रचण्डलाई निरन्तर आड भरोसा र साथ दिनेदेखि परिवारको अभिभावकत्व सम्हाल्ने कार्यमा देखाएको त्याग, समर्पण कुनै पनि महिला या आमाका रुपमा दुर्लभ प्रायः छ ।

हुन त नेपाली समाजमा मान्छे बाँच्दा सम्म आलोचना गर्ने र मरे पछि मात्र गुणगान गाउने प्रचलन व्याप्त छ । तर, सिता दाहालका हकमा नेकपा माओवादीका केन्द्रीय सल्लाहकार र नेतृत्वको भूमिका, पहुँचमा रहे पनि उनमा कहिल्यै आडम्बर देखिएन । प्रचण्ड प्रधानमन्त्री हुँदा पनि पत्नीका रुपमा विवादमा मुछिएनन् । आफुले परिवारका कठिन र जटिल परिस्थिति हुँदा पनि प्रचण्डलाई पार्टी र समाजको नेतृत्वका लागि सहज मार्ग बनाउन भूमिका खेल्नु भयो । यसका लागि उनी धन्यवादको पात्र छन् । आफ्नो, परिवार, समाज र देशका लागि उनले गरेको त्याग र समर्पणकै कारण प्रचण्डले चामत्कारिक सुधार केही हुने आशामा आफ्नो क्रान्तिकारिता भुलेर धार्मिक विधि समेत अपनाए । जसबाट चरम आलोचना पनि खेपे । राजनीतिक उतार चढावका बीचमा उनको परिवार पनि अशान्त भइरह्यो । जेठी छोरी ज्ञानुको क्यान्सरबाट कष्टप्रद मृत्युले घाइते सिता दाहाल एक मात्र छोरा प्रकाशको प्रेम विवाहको श्रृंखला हुँदै मृत्युसम्म आइपुग्दा ओछ्यानबाटै नउठ्ने अवस्थामा पुगिन् । अब उनको मृत्युबाट निराश होइन, शोकलाई शक्तिमा बदलेर कुनै पनि आमाहरु केवल व्यक्तिगत हित र परिवारिक दायित्वको साँघुरो घेरामा मात्र होइन, सिंगो समाज, देश र मानव कल्याणका खातिर समर्पित भइरहन सके दिवंगत सिता दाहाल प्रति सच्चा श्रद्धाञ्जली हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *