शिक्षक खोज्दै गाउँ

सम्पादकीय

शिक्षा विकास, परिवर्तन र समृद्धिको मुख्य आधार हो । नेपालमा पहिलेको तुलनामा शिक्षाको जागरण, गुणस्तर र पहुँच विस्तारै बढ्दो क्रममा छ । केही वर्ष पहिले सम्म शिक्षा र शैक्षिक पूर्वाधारको अभावले आक्रान्त बनेका दुरदराजका गाउँहरुमा पनि अहिले ठुला ठुला विद्यालय भवनहरु बनेका छन् । तर, बिडम्बना भन्नुपर्छ, विद्यालय भवन, पूर्वाधारहरु निर्माण हुँदै गए पनि विद्यार्थी र गाउँ बस्ने मानिसहरु गाउँ छाड्ने क्रम तिब्र छ । गाउँ मात्र होइन, देश नै छोडेर जानेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उस्तै भिड लागिरहेको छ । अधिकांश गाउँघरमा बुढापाकाहरु मात्र छन् । छोराछोरीहरु रोजगारको खोजीमा शहर बजार र विदेश भौतारिदै छन् भने गाउँमा आमा बुवा काम गर्ने मानिस खोज्दै हैरानी खेप्न बिबश छन् । दुर्गम विद्यालयहरुमा पढाउने शिक्षक पाउन समेत मुश्किल बन्दै गएको छ ।

अहिले बिभिन्न पत्रपत्रिकामा गणित र विज्ञान विषयको शिक्षक खोजी गरेर विद्यालयले बिज्ञापन प्रकाशित गरिरहेका छन् । तर, विज्ञापन अनुसार शिक्षक नआए नपाए पछि एउटै विज्ञापन पटक पटक प्रकाशित गर्न विद्यालयहरु बाध्य बनिरहेका छन् । छिमेकी जिल्ला म्याग्दीको बेनी नगरपालिकाको राष्ट्रिय माध्यामिक विद्यालयले यही साउन ८ गते मावि तहको अनुदान कोटामा गणित शिक्षक खोजी गर्दै तेस्रो पटक सूचना जारी गरेको छ । सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिकाले अंग्रेजी विषयमा पाँचौ पटक, विज्ञानमा चौथो पटक र गणित विषयमा तेस्रो पटक विज्ञापन प्रकाशित गरेको छ । यद्यपि, अझै शिक्षक पाउन सकिरहेको छैन । रुपन्देहीको कञ्चन गाउँपालिकाको प्रगति माध्यमिक विद्यालयले साउन २६ गते निमावि तहमा २ जना अंग्रेजी शिक्षक माग गरेको छ । प्रथम पटकमा लाइसेन्स अनिवार्य बनाउँदा आवेदन नपरेपछि दोस्रो पटक सूचना प्रविधिको प्रयोग गरी शिक्षण गर्न सक्ने मापदण्ड राखेर लाइसेन्स अनिवार्य नगरी आवेदन आह्वान गरिएको छ ।

अहिले सामुदायिक विद्यालयमा ५३ हजारभन्दा बढी शिक्षक थप्नुपर्ने शिक्षा मन्त्रालयको तथ्यांक छ । विद्यालयहरुमा शिक्षक नपाउनुका धेरै कारण छन् । सरकारले २०५५÷५६ देखि नयाँ शिक्षक दरबन्दी थपेको छैन । निमावि तथा मावि तहका विद्यालय सञ्चालन अनुमति दिए पनि शिक्षक दरबन्दी नदिँदा ग्रामीण क्षेत्रका अधिकांश विद्यालयले शिक्षक अभाव खेपिरहेका छन् । अस्थायी जागिरको अनिश्चितता, तलब सेवा सुविधा कम, वैदेशिक अध्ययन र रोजगारको आकर्षण तथा लहड लगायतका कारण दक्ष जनशक्ति पाउन कठिन भइरहेको छ । गाउँले शिक्षक खोज्ने तर नपाउने समस्या बढ्दै जाने हो भने त्यसले शैक्षिक गुणस्तरमा मात्र होइन, ग्रामीण र सामुदायिक शिक्षा प्रतिको आकर्षण र विश्वासमा पनि ह्रास आउनेछ । यसमा मुख्यतः संघीय सरकारले नै गम्भिरतापूर्वक सोच्नुपर्छ । र अहिले विद्यमान समस्या समाधानका लागि नीतिगत र ठोस कदम चाल्ने गरी योजनावद्ध पहल अपरिहार्य छ । नत्र यो समस्याले सामुदायिक शिक्षामा निकै जटिलता र गम्भिर असर पु¥याउने निश्चित छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *