बिपद्, वेदना र विश्लेषण

सम्पादकीय
नेपाल भौगोलिक हिसाबले विविधता सहितको मात्र छैन, उत्तिकै कमजोर, जटिल र जोखिमयुक्त पनि छ । र वर्षेनी बाढी, पहिरो लगायतका प्राकृतिक बिपद्बाट दर्जनौले अकालमै ज्यान गुमाइरहेका छन्, ठुलो संख्यामा अंगभंग भएका छन् । हजारौ नागरिक घरबार विहीन हुन पुगेका छन् । सयौं बालबालिका अभिभावक विहीन बन्न पुगेका छन् । हरेक वर्ष आउने बाढी, पहिरो, बिपद्को सम्भावित जोखिम, यसको क्षतिबारे आँकलन पनि आम रुपमा गरिन्छ । तर, यसको यथोचित पूर्ववत सजगता, व्यवस्थापन, तयारी नहुँदा वर्षेनी एकै खालको नियति नागरिकले भोग्न बिबश छन् । यस्ता बाढी, बिपद्जन्य घटना कति भवितव्य र कति मानव समुदायकै लापरवाही र बेवास्ताबाट भइरहेको छ भन्ने बारे यथोचित विश्लेषण, समीक्षा हुन सकिरहेको छैन ।

गत साउन २८ गते मुस्ताङको कागखोलामा अचानक बाढी आयो । बाढीले समयमै सूचना पाएर पूर्ववत सचेतता अपनाएका कारण मानवीय क्षति नभए पनि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको बिपत् व्यवस्थापन समितिले बाढीले कागबेनीमा करिब एक अर्ब बढीको क्षति पु¥याएकोे विवरण तयार गरेको छ । बाढीले कृषकको ११ रोपनी भन्दा बढीमा लगाइएको स्याउ लगायतका फलफूल, ३६ रोपनी जग्गामा सिञ्चित गरिने सिँचाइ कुलो, २३ गोठ, ३२ लुलुगाई, नगद, सामान र संरचना पूर्णतः ध्वस्त ग¥यो । सडक, मोटरेबल पुल, झोलुंगे पुल, गुम्बा, मन्दिर, धर्मशाला, सामुदायिक, वडा, प्रहरी चौकीको भवन, तटबन्ध लगायत भौतिक पूर्वाधारमा क्षति पुग्दा दैनिक जीवन यात्रादेखि जीविका सम्म स्थानीय वासिन्दा अनेकन समस्या र सकस भोगिरहेका छन् ।

केही वर्ष अघि सम्म बर्खायाममा समेत निकै कम पानी पर्ने मुस्ताङमा भारी वर्षा मात्र भइरहेको छैन, ठुलो बाढी विपद् आइरहेको छ । आखिर यस्तो किन भइरहेको छ ? यी र यस्ता स्थानहरुमा अरु सम्भावित जोखिमहरु तत्काल र दीर्घकालीन रुपमा के कस्ता देखिन्छन् ? यसमा तीन तहको सरकार र सरोकारवालाले गम्भिरतापूर्वक बिपद्जन्य घटनाको कारणबारे गम्भिरतापूर्वक बिश्लेषण गर्न जरुरी छ । हामीकहाँ ठुला ठुला अकल्पनीय विपद्का घटना दुर्घटना हुन्छन्, त्यसमा सरकार प्रमुख, राजनीतिक दलका नेताहरुले घटना प्रति दुःख, मृतक प्रति श्रद्धाञ्जली, पीडित परिवार प्रति समवेदना, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना मात्र गर्छन् । अब यस्तो औपचारिकता, कर्मकाण्डले मात्र विपद्जन्य घटना र जनधनको क्षति रोक्न असम्भव छ । हुन त बाढी, पहिरो, बिपद् बाजा बजाएर पूर्ववत संकेतका साथ आउँदैनन् । तर, कैयन यस्ता बिपदजन्य घटना हुन्छन्, जसको सम्भावित जोखिमको समयमै सही बिश्लेषण गर्न सक्यो भने त्यसबाट क्षति पूर्णतः रोक्न सम्भव हुन्छ, नभए पनि केही कम गर्न सकिन्छ । अतः अहिले कागबेनी र अरु यस्तै बाढी, पहिरो र बिपद्जन्य घटनाको यथेष्ट कारण खोजेर अबका दिनमा यस्ता घटना दोहोरिन नदिन पूर्ववत सचेतता, तयारी र व्यवस्थापनमा ठोस नीति र कार्यक्रम सरकारले ल्याउनु पर्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *