जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति

सम्पादकीय
नेपाल देशले आजको दिन, समय र परिवेशमा जे जस्तो दुर्दशा भोगिरहेको छ, त्यसमा नेता, कर्मचारीतन्त्रमा व्याप्त भ्रष्टाचार, अनियमितता, बेथिति, मनपरीतन्त्र त मुख्य कारक छ नै, त्यसमा उत्तिकै भूमिका गैरजिम्मेवार पात्र, प्रवृत्तिको पनि छ । यसबाहेक जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति, कार्यशैलीले पनि मुलुकमा अस्थिरता र अराजकता पैदा गर्न र त्यसलाई बढावा दिन भूमिका खेलिरह्यो । यो दुश्चक्र आजको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थापमा पनि उस्तै शैलीमा देखा परिरहेको छ । यसैसाता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काठमाडौं महानगरका मेयर बालेन शाहको दुई अभिव्यक्ति सार्वजनिक भए । जुन अभिव्यक्तिले उनीहरुको पदिय कद घटाएको मात्रै छैन, सिंगो देशकै स्थिरता, गरिमा, मर्यादा र पहिचानमा ठेस पुगेको छ ।

प्रधानमन्त्री प्रचण्डले सरकारको कार्यकारी भूमिकामा रहेकै बेला लाखौं जनता सडकमा उतार्ने भाषण गरे । जबकि उनी यो देशको प्रधानमन्त्री छन् । जनताको आवाज माग सुनुवाई सम्बोधन गर्ने जिम्मेवारीमा रहेका नेताको यस्तो उत्तेजक भाषणले अन्धभक्त कार्यकर्तालाई मुते न्यानो त दिलाउन सक्छ । तर, यसले दीर्घकालीन रुपमा अवश्य क्षति पुग्नेछ । प्रधानमन्त्री प्रचण्डको यस्तो गैरजिम्मेवार अभिव्यक्ति सेलाउन नपाउँदै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले पनि उस्तै उत्तेजक अभिव्यक्ति दिए । मेयर शाहले भोलिबाट महानगरपालिकाका कुनै पनि गाडी सरकारले रोकेमा सिंहदरबारमा आगो लगाइदिने धम्की दिए । ‘आजको लागी केहि भएन ,भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार,’ उनले लेखेका छन् । संघीय सरकारविरुद्ध शनिबार सामाजिक सञ्जालमार्फत मेयर शाहले उत्तेजक अभिव्यक्ति दिए पछि उनको पक्ष विपक्षमा नागरिक बिभाजित छन् । अधिकांशले मेयरको अभिव्यक्तिको चर्को आलोचना गरे पनि युवा पुस्ता भने बालेनकै बचाउमा सक्रिय देखिएका छन् ।

प्रधानमन्त्री प्रचण्ड र उनी नेतृत्वको सरकारले अहिले सुरु गरेका केही कदम अवश्य सकारात्मक छन्, प्रशंसनीय छन् । मेयर बालेन शाह पनि वर्तमानको चरम निराशाजनक राजनीतिक अवस्थामा एक आशा लाग्दा जनप्रतिनिधि निःसन्देह हुन् । मेयर निर्वाचित भए पछि उनले गरेका केही प्रयासहरुको खुलेर प्रंशसा गर्ने ठुलो जमात थियो र छ । तर, उनको पछिल्लो अभिव्यक्तिले धेरैलाई झस्काएको छ । जिम्मेवार भूमिकामा रहेका व्यक्तिहरुको गैरजिम्मेवार अभिव्यक्तिले अराजकतालाई प्रश्रय दिएको छ । राज्य सञ्चालकहरु संयमित, जिम्मेवार र दुरदर्शी रुपमा आफ्नो पदिय भूमिका निर्वाह गर्ने भन्दा समाजमा कहिले सेन्टिमेन्ट ब्ल्याकमेलिङ गर्ने त कहिले उत्तेजक भाषण गरेर जनतालाई भुलभुलैयामा पार्ने प्रवृत्ति आजको होइन, यसलाई आजको व्यवस्थामा पनि निरुत्साहित गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो । बालेनले आफ्नो जीवन संगिनीको जे जस्तो संवेदनशील समस्या र अवरोध भए पनि यथेष्ट समन्वय, सहजिकरण गर्ने तर्फ लाग्ने र कतै गम्भिर लापरवाही र जबरजस्त अपमान गरिएको छ भने त्यस उपर कारबाही गर्न भूमिका खेल्ने हो । तर, अराजक भिडलाई बढावा दिने अभिव्यक्ति दिने कदापि होइन । त्यो चाहे प्रधानमन्त्री प्रचण्ड होउन् या मेयर बालेन शाह दुवैले यसमा आत्मआलोचित भएर अघि बढ्दा राम्रो हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *