सवारी लाइसेन्स : ढिला तर सुखद कदम

सम्पादकीय
साविक धौलागिरी अञ्चल, अहिलेको धौलागिरी क्षेत्र (बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ) । यस क्षेत्रको विगत राजनीतिक जागरण, पृथक मौलिक संस्कार, संस्कृति लगायतका हिसाबले छुट्टै पहिचान बोकेको छ । तर, वर्तमान राजनीतिक रुपमा पनि पछि परिरहेको अवस्था छ भने अन्य भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, सडक सुविधा लगायतका विकासक्रममा पनि पछि नै छ । केन्द्रीय राजनीतिमा सशक्त पहुँचको कुरा त परै जाओस्, प्रादेशिक राजनीतिमा समेत धौलागिरीको उपस्थिति कमजोर हालतमा देखिन्छ । यसले धौलागिरी क्षेत्रमा यथेष्ट सम्भावना र अवसर हुँदा हुँदै पनि धेरै पछि परेको अवस्था बिद्यमान छ । यसमा न त धौलागिरीबासी एकतबद्ध भएर अघि बढेको अवस्था छ, न त संघीय सरकार र प्रादेशिक सरकारले धौलागिरी क्षेत्रलाई विशेष प्राथमिकताका साथ हेरिरहेका छन् । जसले गर्दा धौलागिरी अबका दिनमा समेत पिछडिने खतरा छ ।

धौलागिरीमा वर्षौदेखि भएका कैयन सार्वजनिक सेवा, सुविधा र अवसर बरु अहिले छैनन् । मतबल बिभिन्न बाहनामा बन्द गरिएका छन्, कटौती गरिएका छन् । यसको एक उदाहरण चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा हो । जुन ११ वर्ष अघि
नयाँ मापदण्ड अनुसारको संरचना नहुँदा विसं २०६९ देखि चारपाङ्ग्रेको प्रयोगात्मक (ट्रायल) परीक्षा बागलुङमा हुन सकेको थिएन । भलै अहिले लामो पहल, प्रयत्न र दबाब पछि धौलागिरी क्षेत्रमै पुनः चारपाङ्ग्रे सवारी चालक अनुमतिपत्र परीक्षाका लागि आवेदन खुल्ला गरिएको छ । अब बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका सेवाग्राहीलाई चारपाङ्ग्रेको लाइसेन्सका लागि पोखरा लगायतका स्थानमा पुग्नुपर्ने बाध्यता हट्ने भएको छ । यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले आइतबारदेखि (बि) (सि) (इ) (एफ) र (जि) वर्ग (चार पाङ्ग्रे) सवारी चालक अनुुमतिपत्रका लागि आवेदन खुला गरिएको छ । गण्डकी प्रदेशमा कास्की, बागलुङ, तनहुँ र नवलपुर गरी चार ठाउँबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुँदै आएको छ ।

११ वर्ष पछि भए पनि धौलागिरी क्षेत्रमा चारपाङ्ग्रेको सवारी अनुमति पत्रको प्रयोगात्मक परीक्षा बागलुङमा पुनः सुरु हुनु सकारात्मक कुरा हो । यसबिचमा धौलागिरी क्षेत्रका चार जिल्लाका नागरिकले सवारी लाइसेन्सका लागि भोग्नुपरेको सास्ती, पोखरा, बुटवल, काठमाडौं लगायतका शहरमा पुग्दा बेहोरको सकस र आर्थिक व्ययभारको हिसाब कसले पो गर्ने ? जे होस् अहिले निजी कम्पनी सँगको सहकार्यमा पुनः प्रयोगात्मक परीक्षा हुने खबरले धौलागिरीबासी नागरिक उत्साहित छन् । अब यसलाई चुस्त र व्यवस्थित भने गर्न अपरिहार्य देखिन्छ । किनकि तत्कालीन समयमा लाइसेन्स परीक्षामा थुप्रै बेथिति, गुनासाहरु व्याप्त थिए । त्यो अबको समयमा दोहोरिन दिनु हुँदैन । सवारी चालक अनुमतिपत्रलाई छिटो छरितो, सहज र डिजिटलाइजेशन गर्नुपर्छ । अब पनि लामो लाइन राखेर सेवाग्राहीलाई सास्ती दिने प्रवृत्ति अन्त्य गरिनु पर्छ । यसका लागि प्रदेश सरकार, धौलागिरी यातायात व्यवस्था कार्यालय लगायतले विशेष कदम चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *