भाषण र कांग्रेस नेता माथिको आक्रमण

सम्पादकीय
नेपाली समाज नकरात्मक सोच, चिन्तन र निराशाको ग्राफमा उकालो मात्र होइन, बढ्दो स्वतन्त्रतासँगै अराजकता र बेथिति पनि बढिरहेको छ । समाज र देश जे जस्ता समस्या, प्रवृत्तिहरुबाट आजित बनिरहेको छ, त्यसको मुख्य दोष या कारक नेपाली राजनीति, मुख्य दल र नेताहरु हुन् । त्यसैले राजनीति र नेताहरु प्रति अहिलेको पुस्ताको तिब्र आक्रोश र घृणा व्याप्त छ । जसका कारण जनता बिभिन्न तबरले आक्रोश अभिव्यक्त गरिरहेका छन्, जनताकै नाममा आफ्नो कुण्ठा, प्रतिशोध, पूर्वाग्रह साधेर भौतिक आक्रमण गर्ने घटना पनि बढ्दो छ । उसो त खराब राजनीति र नेताहरुको विकल्पमा जबरजस्त नयाँ नयाँ स्वतन्त्र पार्टीहरु जन्मिरहेका छन् । यसले पुरानालाई कि सच्चिने कि सक्किने विकल्पमा ठुलो चुनौती खडा भइरहेको छ ।

राजनीतिमा कति अराजकता फैलिँदो छ बुधवारको नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवमाथि सार्वजनिक भाषण पश्चात काठमाडौँमा भएको सांघातिक हमला एक ज्वलन्त उदाहरण हो । रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा भाग लिएर फर्कने क्रममा उनीमाथि हमला भयो । नुवाकोटको बिदुर नगरपालिका ७ घर भएका श्याम बहादुर सापकोटाले यादवको टाउकोमा पछाडिबाट खुकुरी आक्रमण गरेको प्रहरी भनाई छ । कार्यक्रममा यादवले चिनियाँ राजदूत छन् सोङको पछिल्लो अभिव्यक्तिलाई लिएर आपत्ति जनाएका थिए । उनले भनेका थिए,‘नेपालका लागि चिनियाँ राजदूतले नेपाल र भारतबीच जुन कुरा बोल्नुभएको छ, वास्तवमा यो नेपालमा यसले एक किसिमले तरङ्ग ल्याएको छ । यो कूटनीतिक मर्यादाको विपरीत हो । नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक हो । हामी कोसँग मित्रता राख्छौँ ? कोसँग व्यापार गर्छौ, यो हाम्रो निजी मामिला हो ।’ उनले नेपालसँग भारतको विशेष किसिमको सम्बन्ध रहेको उल्लेख गर्दै चिनियाँ राजदूतले नेपाल र भारतबीचको सम्बन्धलाई अवरोध पु¥याउने काम गर्न नहुनेमा जोड दिएका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बालकृष्ण खाँण निर्दोष रहेको जिकिर गरे । भ्रष्टाचारको सवालमा सरकारले गर्ने कारबाहीमा समानता नभइरहेको उनको गुनासो थियो । कांग्रेसका सहमहामन्त्री यादवलाई आक्रमण गर्ने आक्रमणकारी श्याम बहादुर सापकोटाले रिसको झोकमा आक्रमण गरेको बताएका छन् । आक्रमणअघि सापकोटाले कांग्रेस नेता यादवको भाषण धैर्यतापूर्वक सुनेका थिए तर बाहिर निस्किएपछि उनले झोलाबाट खुकुरी झिकेर आक्रमण गरेका थिए ।

कांग्रेस सहमहामन्त्रीले सार्वजनिक कार्यक्रममा जे बोलेका छन्, त्यसमा त्यस्तो भौतिक आक्रमण गर्ने खालको उत्तेजित या भयभित बनाउने विषय खासमा केही छैन । यसमा खुकुरी प्रहार नै किन भयो ? के आक्रमण भाषणकै विषयमा भएको हो ? या त आक्रमणमा अरु नियोजित योजना, आग्रह र प्रतिशोधहरु अन्तरनिहित छन् ? अब प्रहरी अनुसन्धानबाट विस्तारै खुल्ला। । तर, आक्रमणपछि उनले एमसीसी खारेज गर, हिन्दू राष्ट्र कायम गर, राजसंस्था जिन्दावाद जस्ता नारा लगाउनुका पछाडि घटनामा सामान्य भाषण मात्र कारक देखिनेमा संशय छ । नेता, व्यक्ति, पार्टी, उसका भाषण कार्यशैली मन नपर्न सक्छन् । त्यसमा फरक तर्क, मत दर्ज गर्ने अधिकार सबैलाई छ । तर, जे विषयमा जस्तो घटना भएको खबर सार्वजनिक छ, त्यो दुखद र भत्र्सनायोग्य छ । यस्ता हिंस्रक, अराजक, गुण्डागर्दी पात्र र प्रवृत्ति विगतको तुलनामा उल्लेख्य नियन्त्रणमा छ । भलै अहिलेको घटनामा यथेष्ट अनुसन्धान र आवश्यक कारबाही नगर्ने हो भने अराजकताले प्रश्रय पाउछ । यसमा सरकारका साथै नेपाली कांग्रेसले समेत यथोचित कदम र कारबाहीका लागि आवश्यक पहल कदम चाल्नु अनिवार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *