विषादी प्रयोग : जनस्वास्थ्यमा गम्भीर खेलवाड

सम्पादकीय

नेपाल कृषि प्रधान देश हो । तर, मुलुकको समय परिवेश बदलेर यस्तो अवस्था परिस्थिति खडा भइसक्यो कि असली किसान देख्न भेटाउनै मुश्किल भएको छ । शहर बजार र सेरोफेरोमा त यस्तो समस्या तिब्रतर गतिमा बढ्दो छ नै, दुरदराजका गाउँ गाउँमा समेत खेतबारी बाझो बन्ने क्रम बढेको छ । हलो जोत्ने, बाउसे मेलापातका लागि ज्यालादारीमा काम गर्ने जनशक्ति पाउनै सकस हुन थालेको छ । दक्ष जनशक्ति युवा पुस्ता उच्च शिक्षा र आफ्नो उज्ववल भविष्यका खातिर शहर र विदेश जाने क्रम तिब्र बनेको छ । यसले वर्षौदेखि खेती किसानी गर्ने गाउँले किसानहरु समेत विस्तारै अरु विकल्प सोच्न र खोज्न थालेका छन् ।

अहिले एकातिर कृष उपजमा श्रम लगानी र उत्पादनमा कमी आइरहेको अवस्था छ भने अर्को तर्फ भएको खेतीपातीमा पनि उत्पादन बढाउन रासायनिक विषादीको प्रयोगले माटोको उर्वरा शक्ति र जनस्वास्थ्यमा गम्भिर खेलवाड भइरहेको छ । नेपालीको दैनिक भान्सामा नभई नहुने तरकारीमा अझै पनि विषादीको प्रयोग हुँदै आएको पाइएको छ । सरकारले सार्वजनिक गरेको कृषि गणना २०७८ अनुसार तरकारी बाली लगाउने कृषकको परिवारसंख्या १९ लाख ७७ हजार ५ सय ७१ छन् । कुल तरकारी कृषकमध्ये ५ लाख २८ हजार १२ परिवार अर्थात् २६.६७ प्रतिशतले तरकारीमा विषादीको प्रयोग गर्छन् । यसमध्ये पनि ६८ हजार एक सय १४ परिवारले तरकारीमा कडा विषादीको प्रयोग गर्दै आएका छन् । ३ हजार ६ सय ९७ परिवारले तरकारीमा अध्यधिक कडा विषादीको प्रयोग गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयको विवरण अनुसार भक्तपुर, काभ्रे र तराईका सीमा क्षेत्रमा जिल्लामा लगाइएको तरकारीमा अत्यधिक कडा विषादीको प्रयोग गर्ने गरेको पाइएको छ । तथ्यांक संकलनका क्रममा कूल तरकारी लगाउने कृषकको संख्या मध्ये ७३.३ प्रतिशतले विषादीको प्रयोग नगरेको बताएका थिए ।

तरकारी मानिसको दैनिक भान्सामा अपरिहार्य खाद्य सामग्री हो । यसमा प्रयोग गरिने विषादीले जनस्वास्थ्यमा कति गम्भिर असर पु¥याइरहेको होला ? यसबारे आजको दिन सम्म गम्भिर खोज, अध्ययन अनुसन्धान हुन सकेको छैन । यद्यपि, निःसन्देह तरकारीमा जान अञ्जान प्रयोग गरिएको विषादीबाट जनस्वास्थ्यमा धेरै असर गरिरहेको छ । पछिल्लो समय मानिसहरुमा जे जसो गरेर भए पनि धन सम्पत्ति कमाउनु पर्छ भन्ने सोच जबरजस्त निर्माण भइरहेको छ । यस्तो सोचले स्वास्थ्य जस्तो संवेदनशील कुरामा पनि किसानहरु देखि बिचौलिया व्यापारी सम्मले खेलवाड गर्ने कार्य जारी राखेका छन् । सरकारले यस तर्फ गम्भिरतापूर्वक कदम चाल्नुपर्छ । चाहे त्यो नेपालमा विषादी प्रयोग गरेर उत्पादित तरकारीजन्य वस्तु होस् या भारतबाट आयात हुने अनाज तरकारीहरु होस् । दैनिक आम मानिसहरुले प्रयोग गर्ने तरकारीहरु स्वस्थकर उत्पादन गर्ने नीति, त्यसको प्रभावकारी कार्यान्वयनमा तीन तहको सरकार लाग्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *