अप्रिय मृत्यु, परदेश र सन्तानको प्रतीक्षा

सम्पादकीय
यतिखेर संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट सिंगो नेपाल र नेपाली स्तब्ध छ । उनको निधनबाट देशले एक परिपक्व, समन्यवकारी नेता गुमाएको छ । सोमवार राति निधन भएका नेम्वाङको अन्त्येष्टि भने आज (बिहीबार) मात्र गरिदैछ । कारण नेम्वाङका दुवै सन्तान परदेश (बेलायत र अष्ट्रेलिया) भएका कारण दुइ दिन दिन परदेशी सन्तानको प्रतिक्षामा शव राख्नु पर्ने बिडम्बना अवस्थाले यो देशको तितो यथार्थ सहितको चित्र प्रष्ट देखाएको छ । चार चार पटक संविधानसभाको अध्यक्ष, पटक पटक मन्त्री र सरकारी उच्च पदस्थ भूमिकामा भएका व्यक्तिको सन्तान त भविष्य खोज्दै परदेशमा छन् भने अरु सर्वसाधारण जनताको अवस्था के होला ? सहजै जो कसैले अनुमान गर्न सक्छ ।

बुढेशकाल लाग्दै गरेका बुवाआमालाई छोडेर कैयन सन्तान परदेशिएका छन् । आफ्नो र परिवारको उज्ववल भविष्य, जीविका र खुसीका लागि जीवनको उर्जाशील समय विदेशमा व्यतित गर्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था छ । बुढ्यौली लागेर छोराछोरीको साथ सहयोग, रेखदेख, हेरचाह चाहिने बेला आत्मिय साथ छैन । न बिरामी हुँदा तातो पानी दिने हात छ, न त बुढेशकालमा अड्याउँदै हिँडाल्ने सहयोगी हात र साथ छ, छन् त केवल रेमिट्यान्सको लहडमा उदास बन्दै गरेका गाउँ घर, विदेशको भौतिक सुख, सुविधा र बिलासितामा जानेहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिड । शहर बजारका पनि अग्ला घरहरुमा बुढेशकाल लागेका बाउआमा मात्रै अधिक छन् । अहिले पूर्व सभामुख नेम्वाङका जेठा छोरा शव अन्त्येष्टि र काजकिरिया गर्न दुई दिनमा आए जसरी मृत्यु पश्चात पनि आउन नपाउने, नसक्ने नेपालीका कथा झन् कति दर्दनाक होलान् ? दैनिक एयरपोर्टमा काठका बाकस भित्र आउने नेपालीको शव, तिनका परिवारको दैनिकी र भविष्य कति भयानक बनिरहेको होला ? के हाम्रो राज्य सरकारले यसतर्फ कहिल्यै सोच्ने, मन्थन गर्ने र समाधानका लागि ठोस पहलकदमी लिने प्रयत्न गरेको छ ? बोलि र भाषणमा अभिव्यक्त भए पनि अहिले सम्म व्यवहारतः नागरिकले अनुभूति गर्न पाएका छैनन् ।

अहिले नेम्वाङ जस्ता स्थापित नेताका सन्तान त देशमा टिक्न सक्दैनन् भने अरु कसरी टिक्लान् ? यो पाटोबाट बहस भइरहेको छ । यो देशको शिक्षा नीति, राजनीतिक अस्थिरता, असुरक्षित भविष्य लगायतका कारण देशमा बस्ने र केही गर्नुपर्छ भन्ने युवा निकै कम संख्यामा छन् । नेम्वाङ यसर्थमा चाही इमान्दार देखिए कि उनले परिवार र भविष्य बनाउनका लागि आफ्ना सन्तानलाई आफ्नो राजनीतिको छत्रछायामा सुन तस्करी बनाएनन्, सार्वजनिक जग्गा किर्तेमा मुछेनन् । अहिले आदर्श, इमानमा बाँच्नेहरुको नियति देशमा असुरक्षित हालतमै छ । यसलाई आजको व्यवस्थामा पनि हल गर्ने दिशामा नसोच्ने हो भने भोलिका दिन नेपालका लागि अझै बिकराल बन्ने निश्चित छ । आज संविधानसभा अध्यक्ष नेम्वाङको अन्त्येष्टि र काजकिरियाका लागि शव दुई दिन राखेर कुर्नुप¥यो । भोलि कुनै दिन नेपाली सन्तान नेपाल नफर्केर उतैबाट डिजिटल रुपमा काजकिरिया गरेर कर्मकाण्डी निभाउने अवस्था सन्निकट छ । अतः जीवन रहुञ्जेल मात्र होइन, मृत्यु पश्चात पनि छोराछोरीको प्रतिक्षा गरेर शव दुर्गन्धरहित बनाएर राखिराख्ने ? सबैले गम्भिरतापूर्वक सोच्नु, समीक्षा गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *