स्वास्थ्य क्षेत्रमा बढ्दो बेथिति र अराजकता


सम्पादकीय/ स्वास्थ्य क्षेत्र, त्यसमा पनि अस्पताल त अत्यन्त संवेदनशील क्षेत्र हो । बिडम्बना भन्नुपर्छ, न त यसमा सरकारको प्राथमिकता छ, न त अरु सरोकारवाला निकाय र सर्वसाधारणकै गाम्भिर्यता । त्यसैले नेपालको स्वास्थ्य क्षेत्र निजीकरणकै काबुमा छ । निकै महँगो छ, जसमा सामान्य नागरिकले अलिकति जटिल रोग लाग्दा काल कुर्ने र सामना गर्ने बाहेक अरु विकल्प देखिदैन । सरकारी अस्पतालहरुको व्यवस्थापन चुस्त छैन, पहिलेको तुलनामा केही सुधार भए पनि अझै अस्तव्यस्त जस्ता देखिन्छन् । त्यही अस्तव्यस्तताको फाइदा प्रत्यक्ष निजी अस्पताल र माफियाहरुले उठाइरहेका छन् । स्वास्थ्य क्षेत्रमा पनि कमिसनको ठुलो चक्कर छ । कैयन सरकारी अस्पतालहरु त्यहाँ आएका बिरामीलाई अनेक बाहना बनाएर निजीमा पठाउँछन् । व्यवस्थापन चुस्त नहुँदा समयमै उपचार नपाउँदा लापरवाहीले कैयनको ज्यान समेत गइरहेको छ भने कतिपय सवालमा उपचार कोसिस गर्दा गर्दै मृत्यु हुने घटनाको विषयलाई लिएर स्वास्थ्यकर्मी माथि नै निर्मम कुटपिट र दुव्र्यवहारका घटना पनि भएका छन् ।

पछिल्लो समय कान्ति बाल अस्पतालको इमर्जेन्सी वार्डमा पालो कुर्दाकुर्दै उपचार नपाएर मकवानपुरकी पाँच वर्षीया बालिका रेजिशा गोपालीको मृत्यु भएको घटनाले धेरै तथ्य र यथार्थ बोल्छ । बालिकाका आफन्तले पटक–पटक अनुनय गर्दा पनि सेक्युरिटी गार्डले गम्भिर बिरामीलाई पनि लाइनमा पालोमा राखेको, तर सोही समयमा चिकित्सक भने आधा घन्टा इमर्जेन्सी कक्षबाटै गायब भएको छानबिनबाट पुष्टि भएको छ । अस्पतालको लापरबाहीका कारण १८ भदौमा बालिकाको मृत्यु भएपछि सोही दिन डा. प्रकाश जोशीको संयोजकत्वमा नर्सिङ अधिकृत अजिता सिलवाल र शाखा अधिकृत डम्बरु दाहाल सदस्य रहेको छानबिन समिति गठन भएको थियो । उक्त समितिले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको छ । स्वास्थ्य क्षेत्रको यो बेथितिको घटना सेलाउन नपाउँदै मकवानापुरमा दुई चिकित्सक माथि कुटपिट भएको छ । गत २५ साउनमा सन्चो अस्पतालमा उपचारका लागि आएका ४१ वर्षीय राजेश प्रधानको मृत्युको विषयलाई लिएर चिकित्सकद्वय विकास थापा र प्रशान्त बिडारीमाथि २८ भदौमा उनीहरूले कुटपिट गरेका थिए । जसको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल छ ।

केही दिनकै अन्तरालमा भएको यी दुई घटनाले नेपालको स्वास्थ्य क्षेत्रमा व्याप्त बेथिति र अराजकतालाई उजागर गरेको छ । कान्ति अस्पतालमा बिरामीका आफन्त बच्चाको उपचार गरिदिन छटपटाएको देख्दादेख्दै गार्डले लाइनमै राखिराख्नु र चिकित्सक उपचार नै छाडेर गायब हुनु हदैसम्मको लापर्बाही हो । यसमा यथोचित कारबाही जरुरी छ । तर, संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले व्यवस्थापकीय कमजोरीका कारण भन्ने जवाफ दिएर कारबाही होइन, संरक्षण गर्ने कोसिसमा सरकार लागेको देखिएको छ । मकवानापुरकाको अस्पतालमा भएको चिकित्सक माथिको कुटपिट पनि निन्दनीय छ । यसको बिरोधमा स्वास्थ्यकर्मी आन्दोलित समेत छन् । हेटौँडाका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द गर्ने मात्र होइन, हेटौडा अस्पतालका ७९ जनाले सुरक्षा नभएको भन्दै राजीनामा पत्र बुझाएका छन् । यस घटनामा पनि निश्पक्ष छानविन जरुरी छ, चिकित्सकको लापरबाही भएको छ भने कानुनी कारबाही गर्ने विकल्प छ । तर, भिड अस्पताल पुगेर चिकित्सकलाई कुटपिट गर्ने कार्य भत्र्सनायोग्य छ । यसले स्वास्थ्यकर्मीको मनोबल मात्र घटाएको छैन, देशमै बसेर सेवा गरौ भन्ने चिकित्सक स्वास्थ्यकर्मीका लागि समेत विदेश जाने भिड लागिरहेको बेला सोच्न बाध्य तुल्याइरहेको छ । सरकारले यसमा गम्भिरतापूर्वक कदम चाल्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *