हरितालिका तीजको शुभकामना

सम्पादकीय
आज हरितालिका तीज । हिन्दु महिलाहरुले विशेष रुपमा मनाउने तीजको रौनकता केही दिन यतादेखि नै गाउँ शहरमा छाइरहेको छ । सरकारी निकाय, सामाजिक संघ संस्था, राजनीतिक दलका भातृ संघ संगठन लगायतले भाद्र महिना सुरु भए यता नै दर खाने खुवाउने कार्यक्रम सहित नाचगानको कार्यक्रम आयोजना गर्दै आएका छन् । देशमा मात्र होइन, विदेशमा समेत नेपाली कलाकारहरु निम्त्याएर आयोजना गरिएको तीजी उत्सवहरुले परदेशी जीवन व्यतित गरिरहेका नारीहरुका लागि पनि छुट्टै खुसी र उत्साह प्रदान गरिरहेको छ । पहिले पहिलेको तुलनामा तीज पर्व मनाउने तौरतरिकामा उल्लेख्य बदलाव आएको छ । पहिले मनका पिर व्यथा, दुःख, कष्ट, कुण्ठा, बेदनाहरु मात्र व्यक्त गर्ने तीजमा बदलिँदो व्यवस्था, समय र परिवेशसँगै गीतका भाका, विषय र मुद्धाहरु बदलिएका छन् ।

तीज पर्व पछि फर्किएर हेर्दा निकै पुरानो इतिहास, घटना र कथाको पृष्ठभूमि छ । धार्मिक कथनहरुलाई हेर्ने हो भने हिमालय पुत्री पार्वतीको विवाह भगवान विष्णुसंग गरिदिने पिता, माताको वचन पार्वतीलाई चित्त बुझेन । सानै उमेरदेखि शिवलाई पति पाउँ भन्ने दृढता पार्वतीमा थियो । सोहि कारण माता पार्वतीले शिवलाई मनले पति धारण गरिसकेकी थिइन् । उनी जंगलमा गएर कठोेर तपस्या गर्न थालिन् । दिव्य एकसय वर्ष तपस्या गर्दा पनि तपस्याको फल प्रप्त नभएपछि पार्वतीले शिवलिङ्ग स्थापना गरि तपस्यालाई थप उचाईमा पुर्याउन थालिन् । कठोर र एकाग्र चित्तले तप गरेको कारण शिवजी प्रकट भई चिताएको कुरा पुगोस् भनि आशिर्वाद दिए र पार्वतीले शिवलाई पति प्रप्त गर्न सफल भइन् भन्ने धार्मिक किम्बदन्ती छ । यस पर्वका अवसरमा दर खाने देखि वत्र बस्ने, नाचगान गरेर दुःख पिर बिसाउने अनेक आयाम र विशेषताका कारण नेपाली समाजमा तीज पर्वको छुट्टै सामाजिक महत्व छ । पछिल्लो केही वर्ष यता भने तीज पर्वमा आएको बदलाव सँगै बहस पनि जारी छ । पहिले जस्तो अहिलेका गीतमा दुःख, बेदना मात्र छैन, पुरुष सत्ताको बिरोध र बिद्रोह पनि छ । सासु ससुराको शासकीय व्यवहारलाई ब्यंग्य र गाली गरिने गीतहरु बदलेर अब बिम्बमा समान सत्ताको शंखघोष हुन थालेको छ । पहिले पहिले मिठो मसिनो खान पनि चाडपर्व कुर्नुपथ्र्यो, अहिले त्यस्तो बाध्यता छैन । महिलाहरुलाई माइती भेट्नका लागि तीज, दसैं आउनुपथ्र्यो, अहिले सडक सुविधा, प्रविधिले भेटघाटमा कुनै अप्ठ्यारो छैन ।

देशमा व्यवस्था बदलियो, व्यवस्थासँग धेरै कुरा बदलिएको छ । महिलाहरुको सोच, चेतना, जागरणमा पनि उल्लेख्य उभार आएको छ । महिलाहरु आत्मनिर्भर बन्न थालेका छन्, पहिले जस्तो लोग्नेको कमाइमा परनिर्भर हुनु परेको छैन, अहिलेका नारीहरु आफै कमाएर खुल्ला संसारमा निर्धक्क रमाउन थालेका छन् । तीज पर्व आउँदै गर्दा महिलाहरु खुलेर रमाउँदा भड्किलो भो भनेर सार्वजनिक सूचना जारी गर्ने प्रहरी प्रशासनदेखि पुरुष सत्ताको किन टाउँको दुख्छ ? पुरुषहरुले अरु दैनिकीमा गरिरहेका गतिविधि महिलाले एक दिन खुल्ला रुपमा रमेर गर्दा किन यति बृहत हवाला हुन्छ ? कैयन् पुरुष दिनदिनै रक्सिले मातेर सडकमा सुत्छ, केही महिलाले तीज पर्वका अवसरमा कहीँकतै बोतल उचालेको तस्बिर देख्दा अतिरञ्जना गर्छ । यस्तो पाखण्ड त्याग्न जरुरी छ । महिलाहरुमा आएको बदलाव र तीज जस्ता पर्वमा खुलेर मनाउने खुसीमा पुरुषहरुले पनि खुसी मनाउन सक्नुपर्छ । चाडपर्वका नाममा साँच्चिकै तडकभडक भइरहेको छ भने त्यस्तो गलत कदम र बेथितिहरु भने रोकिनु पर्छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व तीजलाई अझ भव्य, सभ्य रुपमा मनाऔ । जसले सामाजिक साँस्कृतिक विविधता र एकतालाई मजबुत बनाउन सकोस् । तीज पर्वका अवसरमा सबैमा हार्दिक शुभकामना ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *