अपराधमा ‘बालुवाटार’को सत्ता स्वार्थ

सम्पादकीय
नेपाली राजनीति आजको दिनमा यघि बिघ्न बदनाम किन छ ? अझ बारबार सरकारको नेतृत्व गरेका र त्यसमा सामेल भइरहेका ठुला पुराना राजनीतिक दल, तिनका नेता कार्यकर्ता प्रति घृणा र आक्रोश किन छ ? यसमा अनगिन्ती कारणहरु छन् । त्यसमध्ये एक महत्वपूर्ण कारण हो राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण । यस्तो पात्र र प्रवृत्ति सत्तासीन कुनै एक, दुई दलमा सीमित छैन, सत्ता राजनीतिमा परीक्षण भइसकेका सबैजसो राजनीतिक दलहरुमा हाबी छ । जसले गर्दा नेपाली राजनीति झन् झन् बदनाम बन्दैछ । यस्तो प्रवृत्तिको आम रुपमा सर्वत्र बिरोध, निन्दा र आलोचना हुँदा समेत सरकार, सत्तासीन राजनीतिक दल नेताहरु सुध्रिने कुनै गुञ्जायस छैन । बरु आपराधिक मनोवृत्ति बोकेका पात्रहरुलाई संरक्षण गर्ने र जेलमा पुगेकाहरुलाई समेत कारबाही छुट दिनुमा सफलताको भ्रम पालिरहेको छ ।

संविधान दिवसका दिन सरकारले असली चालचलन भएका व्यक्तिहरुलाई सजाय मिनाहा दिएर थुप्रै जेलबाट छुटे । यही पंक्तिमा नेपालगञ्जका गुण्डा नाइके रिगल भनिने योगराज ढकाल पनि परे । उनले संविधान दिवसमा ६० प्रतिशत सजाय माफी मिनाहा पाएका छन् । कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाइएका उनलाई सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ११ वर्ष जेल सजाय छुटको निर्णय गरेका हुन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार ६७० जनाको कैद भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गर्ने निर्णय गरेका थिए । यो निर्णयपपछि दाङको घोराही कारागारबाट रिगल थुनामुक्त भइसकेका छन् । ढकाल तिनै पात्र हुन्, जसको योजनामा २८ असार २०७२ मा नेपालगञ्जमा खुँडा प्रहार गरेर चेतन मानन्धरको हत्या भएको थियो । घटना भएका बेला ढकाल तरुण दल बाँके क्षेत्रनम्बर–३ का क्षेत्रीय सभापति थिए । भारतबाट सञ्चालन हुने अवैध बसहरुबाट हप्ता असूली गर्ने विषयमा विवाद हुँदा रिगलको योजनामा मानन्धर मारिएका थिए । रिगल कुनै समय केन्द्रीय कारागारमा गुण्डानाइके समिरमानसिंह बस्न्यात, रमेश बाहुनहरुसँगै थिए । त्यसबेला उनीहरुले जेलभित्रैबाट समेत अवैध गतिविधि चलाएको सूचना प्रहरीसम्म पुगेको थियो । पछि ढकाललाई केन्द्रीय कारागारबाट सरुवा गरिएको थियो ।

रिगल अदालतबाट अपराधी ठहर भएर कारबाही भोगिरहेका पात्र हुन् । भलै उनी ६० प्रतिशत कारबाही छुट पाउने भाग्यमानी पात्रमा दर्ज भए । सरकारले सत्ता स्वार्थमा यस्ता निर्णयहरु गर्छ, जसले अपराधको राजनीतिलाई थप मलजल गर्छ । अझ बिडम्बनापूर्ण दृश्य र प्रवृत्ति त यो पनि छ कि बुधबार ढकाललाई छाड्ने निर्णयको पत्र आउँदा स्वागतमा तरुण दलका कार्यकर्ताको भिड मात्र लागेन, खादा र अविर जात्रा नै चल्यो । कारागारबाट निस्किँदा तरुण दलका कार्यकर्ताहरुको स्कर्टिंङमा बाहिरिए । यसले नेपालको न्याय प्रणाली कमजोर, अपराधको राजनीतिकरण डरलाग्दो अवस्थामा रहेको प्रष्ट देखाउँछ । बाह्य संसारमा मात्र होइन, जेल भित्र समेत बालुवाटार र सिंहदरबारको सत्ता स्वार्थ देखिनु दुर्भाग्यपूर्ण कुरा हो । यस्तोा प्रवृत्ति विरुद्ध सबैले आवाज बुलन्दित गरेर खरो उत्रिनु अपरिहार्य छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *