डाक्टरमाथि श्रृंखलावद्ध कुटपिट : अराजकता कि लापरवाही ?

सम्पादकीय
कुनै बेला भगवानकै रुपमा सम्मानित डाक्टर माथि पछिल्लो समय कुटपिटको श्रृंखला जारी छ । सोमबार मात्रै विरामीको मृत्युको विषयलाई लिएर पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि हातपात भएको छ । असहज महसुस भएको भन्दै लमजुङकी ५७ वर्षीया सुकमाया दुरालाई उपचारका लागि अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको छ । दिनभरि डुलाइएको तर के भएको जानकारी नदिइएको भन्दै विरामीका आफन्तले डाक्टरमाथि हातपात मात्र होइन, अस्पतालका केही सीसा फुटाएका छन् । स्थिति तनावग्रस्त भएपछि ठूलो संख्यामा प्रहरी परिचालन गर्नुप¥यो । उसो त यसअघि हेटौडा लगायतका अस्पतालमा पनि चिकित्सक र स्वास्थ्यकर्मी माथि विरामीका आफन्तले हातपात गरेका छन् । यसले चिकित्सक, स्वास्थ्यकर्मीलाई आतंकित र थप हतोत्साही बनाएको छ ।

चिकित्सक, स्वास्थ्यकर्मी माथि किन यसरी पटक–पटक आक्रमण हुन्छ ? विरामीका आफन्तहरु अस्पताल, चिकित्सकको बेवास्ता र लापरवाहीका कारण अकालमै मृत्यु भएको तर्क गर्छन् । यदि यसो हो भने अस्पताल र चिकित्सक माथि निःसन्देह कडा कारबाही हुनुपर्छ । तर, अस्पतालमा उपचारका लागि ल्याइएका विरामीहरुको शत प्रतिशत सफल उपचार असम्भव कुरा हो । डाक्टरहरुले निरन्तर प्रयास गर्दा–गर्दै पनि सबै विरामीलाई बचाउन सक्दैनन्, यो तितो यथार्थ हो । यही यथार्थबोध गर्न नसक्दा पछिल्लो समय अस्पताल र स्वास्थ्यकर्मी माथि श्रृखंलावद्ध भौतिक आक्रमणका घटना भएका छन् । यो कुनै पनि हिसाबले राम्रो संकेत होइन । एक त नेपालमा डाक्टरको दरबन्दी अनुसारको जनशक्ति चरम अभाव छ । अर्को देशमै सेवा गर्ने संकल्प गरेका चिकित्सक माथि यसरी कुटपिट र आक्रमण भइरहने हो, राज्यका निकाय लाचार भइरहने हो भने कार्यरत डाक्टर समेत पलायन हुने अवस्था आउन सक्छ । एक तथ्यांक अनुसार देशभर ६४ हजार स्वास्थ्य जनशक्तिको अभाव छ । हाल दुई लाख ५७ हजार दुई सय तीन मेडिकल जनशक्ति आवश्यक रहेकामा दुई लाख ११ हजार नौ सय ७७ मात्रै कार्यरत छन् । सहज स्वास्थ्य सेवाका लागि विश्व स्वास्थ्य संगठनले प्रति १० हजार जनसंख्यामा ४९ स्वास्थ्यकर्मी (डाक्टर, नर्स नेपालको जनसंख्याको अनुपातमा यो निकै कम हो ।

मृत्यु त अवश्यमभावी कुरा हो । यो न त भगवान मानिने डाक्टरले रोक्न सक्छन्, न त आस्थाका देवताको रुपमा पुजिने भगवानले सक्छन् । मृत्यु कैयन भवितव्य र कति निश्चित उमेर कालखण्डमा निश्चित आउँछ । त्यो घरमा पनि हुन सक्छ, अस्पतालमा या सडक, चोक, चौतारी जहाँ पनि हुन सक्छ । यस्तो यथार्थ स्वीकार गर्न अस्वभाविक या अकालमै मृत्यु बेहोर्नु पर्ने जो कसैलाई कठिन त हुन सक्छ । तर, त्यस्तो पीडाको आक्रोशको निसाना विरामीको सेवामा दिनरात समर्पित डाक्टर र स्वास्थ्यकर्मी बन्नु बनाइदिनु हुँदैन । एकपछि अर्को श्रृखंलावद्ध आक्रमणले डाक्टरहरु अहिले असुरक्षित महुशुस गरिरहेका छन् । अस्पतालमै चिकित्सक माथि कुटपिट हुनु भनेको सामान्य कुरा कदापि होइन, हुन सक्दैन । यसमा सरकारले कुटपिट र अराजक गतिविधिमा सम्लग्नलाई कानुनको दायरामा ल्याउनै पर्छ । सरकारले देश या विदेशमा पढेका डाक्टरलाई भौतिक सुरक्षा मात्र होइन, सिंगो भविष्य नै नेपालमै छ भन्ने वातावारण र प्रत्याभूति गराउनु पर्छ । नत्र अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक विदेशिनेको लाइनमा डाक्टर, स्वास्थ्यकर्मी पनि लामवद्ध भएको देख्ने अवस्था आउन सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *