बढ्दो अराजकता र अस्थिरताको जोखिम

सम्पादकीय

पछिल्लो समय राजनीतिक अस्थिरता बढ्दै जाँदा भ्रष्टाचार, बेथिति, अराजकता पनि बढ्दो क्रममा छ । तीन तहको सरकार मार्फत भइरहेको संघीय अभ्यास मार्फत सबल र समृद्ध देश बन्ने बनाउने अपेक्षा बिपरित सरकार, सत्तारुढ राजनीतिक दलका गतिविधि देखिरहेका छन् । नारामा, भाषणमा आश्वासनमा राजनीतिक स्थिरता, सुशासन, समृद्धि, जवाफदेहिता, पारदर्शिताको कुरा गरे पनि व्यवहारतः सरकार र नियामक निकायको भूमिका कमजोर प्रतित भइरहेको छ । जसका कारण मुलुकमा स्वतन्त्रताको नाममा अराजक, अस्थिरता निम्त्याउने गतिविधि बढ्दो छ । कतिपय भने यही अराजकताका बिचमा खेलेर देशलाई अस्थिरता तर्फ धकेल्ने दुश्प्रयास समेत भइरहेको देख्न सकिन्छ । जुन नेपाल र नेपालीका लागि गम्भिर चिन्ता र सरोकारको विषय हो ।

व्यवसायी दुर्गा प्रसाइँ पछिल्लो समयका एक प्रतिनिधि पात्र हुन्, जसले देशमा आर्थिक मन्दी सुरु भए पछि बैंक वित्तीय संस्थाको ऋण नतिर्ने, कालो मोसो दल्ने लगायतका उग्र क्रान्तिकारी कदम चाल्ने घोषणा गरे । भिड र भाइरलको दुनियाँमा युट्युवर लिएर उनी अराजक गतिविधिमै रमाइरहे । झापाको एक कार्यक्रममा ‘बैंकहरुलाई जता भेट्यो, त्यतै कालो मोसो दल्नु’ भन्दै उर्दी जारी गरे । ‘यो तरिकाले बैंकहरु भोलिदेखि बन्द हुन्छन् । अब यी टाई लगाएका गुण्डाहरुले होसियार हुँदा हुन्छ’ भन्दै उनले बोलेको भडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भयो । संघीयता खारेजी, हिन्दू राष्ट्र कायम, राजतन्त्र पुनर्वहाली पनि उनको एजेण्डा छ । बिडम्बना, तिनै बैंक, लघुबित्त र सहकारीका पैसा उठाउन आउने कर्मचारीलाई कालोमोसो लगाउने अभियान सुरु गरेका प्रसाइँ आफैले कालो मोसो बेहोरेका छन् । काठमाडौं कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनमा केही तस्करहरूको फोटो सार्वजनिक भन्दै केही व्यक्तिको फोटो सार्वजनिक गरेका थिए । सोही क्रममै उनीमाथि केही युवाले कालो मोसो दलेका हुन् । यही प्रतिशोधमा झापाको अर्जुनधारामा आयोजित युवा संघ नगर कमिटीको कार्यक्रममा सहभागी हुन पुगेका एमाले नेता महेश बस्नेत चढेको गाडि पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ताले तोडफोडमा गरिदिएका छन् । युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका ७ वटा सवारी साधन तोडफोड गरिएको हो ।

पछिल्लो समय स्वतन्त्रताका नाममा, आन्दोलन र अभियानका नाममा जे जस्ता अराजक कदम चालिएका छन् । त्यो विधिको शासन भएको देशका लागि खराब कदम हो । चाहे त्यो दुर्गा प्रसाइँले ऋण नतिर्ने, कालो मोसो दल्ने घोषणा र कदम होस् या उनलाई कालो मोसो लगाउनेहरुले चालेको कदम होस् या त्यही प्रतिशोधमा झापामा महेश बस्नेत र युवा संघका नेताहरुको गाडि तोडफोड गर्ने कदम होस्, त्यो गलत हो । यसलाई आन्दोलन, अभियान र स्वभाविक आक्रोशको हिसाबले होइन, कानुन र अपराधका हिसाबले नै हेरिनु पर्छ । नत्र देशमा यस्ता अराजक पात्र र प्रवृत्तिले प्रश्रय पाउदै जाने मात्रै होइन, यसकै आडमा देशमा अशान्ति र अस्थिरता सिर्जना हुन सक्ने खतरा छ । यसमा सरकार र सम्बन्धित सरोकारवाला निकायले समयमै सचेतता अपनाउनु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *