हाटबजार : सहकारीको उदाहरणीय प्रयास

सम्पादकीय
नेपाल कृषि प्रधान देश । तर, पछिल्लो समय कृषि प्रतिको आकर्षण र समर्पण भाव घट्दो क्रममा छ । गाउँघरका खेतीयोग्य जमिन बाझा बन्न थालेका छन् । बसाइँ सराइले गाउँ घर रित्तिने क्रम तिब्र छ । वैदेशिक रोजगार र शहरको भोगबिलास मोहले उत्पादनमा ह्रास छ । कृषि कर्म र शारीरिक श्रम गरेर भन्दा सत्ता र शक्तिको नजिकमा पुगेर कमिसन, ठगी धन्दा चलाउनेहरुको मुलुकमा बोलवाला छ । जसका कारण सोझासिधा गरिखाने वर्ग थप शोषित र पीडित बन्नुपरेको छ भने हुने खाने र सत्ता शक्तिको निकटहरु भने बिना श्रम अथाह धन सम्पत्ति कमाउने, छाति फुलाउने अवस्थाले युवाहरुको दैनिक विदेश पलायन संख्या बढ्दो छ ।

यसबेला आर्थिक संकटले मानिसहरुको जीवन थप कष्टप्रद बनिरहेको छ । भुकम्प, नाकाबन्दी, कोरोना हुँदै आर्थिक मन्दीको अवस्था सम्म आइपुग्दा सरल र सहज लयमा हिँड्दै गरेको जीवन पनि फेरि लय भंग भएर अस्थिरताको खतरामा छ । यसबेला तीन तहको सरकारको भूमिका प्रभावकारी अपेक्षित छ । तर, सरकार सत्ता, शक्ति र स्वार्थकै उल्झनमा अलमल छ । बरु स्थानीय तहबाट भएका केही पहल र प्रयासहरु भने सकारात्मक र प्रशंसनीय छ । बागलुङको गलकोटमा गौमुखी कृषि विकास सहकारी संस्थाले गलकोट नगरपालिकासँगको सहकार्यमा गरेको कृषि हाट बजारको सुरुवात यसको एक अध्याय हो । सहकारीमार्फत कृषिउपजको बजारीकरणका लागि सहकारीले आफ्नै सवारीसाधनसमेत खरिद गरेको छ । बचत तथा ऋण कारोबार, रेमिट्यान्टस, गौमुखी कृषि फर्म, कृषिउपजको बजारीकरण गर्दै आएको सहकारीले किसानको कृषिउपजलाई बजारीकरणको ग्यारेन्टी गर्ने उद्देश्यले कृषि हाटबजार सञ्चालनमा ल्याएको छ । गौमुखीको गलकोट नगरपालिका–६ किम्बोटमा चार रोपनी जग्गामा व्यावसायिक तरकारी खेती छ । तरकारी खेतीका लागि पाँच अत्याधुनिक हाइटेक प्रविधिका प्लाष्टिक टनेल छ । टनेलमा गोलभेँडा, काउली, बन्दा, साग, बोडी, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरिँदै आएको छ । गत वर्ष मात्रै सहकारीले आफ्नो फार्ममा उत्पादन गरेको तरकारी बिक्रीबापत सात लाख रूपैयाँ आम्दानी गरेको थियो । सहकारीको गलकोट नगरपालिकाका सबै वडाको कृषिउपजलाई हाटबजार सँगै बजारको ग्यारेन्टी समेत गरेको छ ।

देशव्यापी रुपमा सहकारीहरु डुबेर सञ्चालकहरु भागाभाग भइरहेका बेला गौमुखी कृषि विकास सहकारीले गरिरहेको काम अनुपम उदाहरणीय छ । सहकारीले आफ्नो उद्धेश्य अनुरुप कृषि उपज उत्पादनमा मात्र होइन, सिंगो नगरपालिकाको कृषि उपजको हाटबजार मार्फत बजारिकरणको सुनिश्चितता समेत गर्ने बातावरण बनाउनु समुदाय प्रतिको अपनत्व हो । यसले पछिल्लो समय बदनाम सहकारीको परिचयलाई सकारात्मक बनाउन मात्र होइन, कृषि उपज र बजारिकरण मार्फत कृषिमा कृषकलाई थप प्रोत्साहित गर्न समेत महत्वपूर्ण भूमिका खेल्नेछ । महिलाहरु नेतृत्व क्षमता र कौशलतामा कमजोर हुन्छन् भन्ने नेपाली समाजको मनोविज्ञान छ । त्यसलाई ७० प्रतिशत महिलाहरुकै नेतृत्व र सहभागितामा स्थापित सञ्चालित गौमुखी कृषि विकास सहकारीले चिरेर अनुकरणीय कार्य गरेको छ । अब हाट बजार सञ्चालन र किसानले कृषिउपजको बजारीकरण गर्ने कुराको निरन्तरतामा गौमुखी र स्थानीय गलकोट नगरपालिकाको विशेष ध्यान केन्द्रित हुन जरुरी छ । यसलाई चुस्त र व्यवस्थित रुपमा निरन्तर सञ्चालन गर्न सके अरु सहकारी र समुदायका लागि पनि यो मोडेल अनुकरणीय बन्न सक्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *