सम्पादकीय
मुलुकको अर्थतन्त्र संकट र सकसमा छ । व्यापार व्यवसायमा उल्लेख्य ह्रास आएको छ । दैनिक रोजीरोटीका लागि परदेशिनेको संख्या बढ्दो छ । गाउँघर रित्तिदो छ, खेतबारी बाझा छन् । नेपालमै केही गरौं भन्नेहरुका लागि पनि उत्तिकै सकसलाग्दो क्षण अहिले छ । त्यसैले अधिकांशमा फस्टेसन व्याप्त देखिन्छ । नेपालमा भएका सम्भवतः ९० प्रतिशत भन्दा बढी नागरिक जीवनकै उकुसमुकुस र सकसलाग्दो परिस्थितिबाट गुज्रिरहेका छन् । सत्ता र शक्तिको निकटमा रहेर लाभ उठाइरहेका बाहेक अरुको जीवन पछिल्लो समय कष्टप्रद बनिरहेको छ । नेपालमै सपना र सम्भावना देख्नेहरुको संख्या कम हुँदै गइरहेको छ । यो सिंगो देश नेपालका लागि चिन्ताको विषय हो ।
नेपालको अर्थतन्त्र देशकै सम्भावना, स्रोत साधनमा भन्दा रेमिट्यान्समा बढी निर्भर छ ।
रेमिट्यान्सको ताजा तथ्यांकले पनि यही तथ्य र यथार्थ बोलिरहेको छ । चालू आर्थिक वर्ष ०८०÷८१ को पहिलो दुई महिनामा नेपालले करिब साढे दुई खर्ब रेमिट्यान्स भित्राएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सार्वजनिक गरेको गत भदौ मसान्तसम्मको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो अवधिमा विप्रेषण आप्रवाह २२.१ प्रतिशतले बढेर रु. दुई खर्ब २८ अर्ब ३७ करोड पुगेको छ । अर्थतन्त्रको मुख्य आधार बनेको विप्रेषण वा रेमिट्यान्स आम्दानी यस आर्थिक वर्षको पहिलो महिना साउनमा १ खर्ब १६ अर्ब रुपैयाँ पुगेर अहिलेसम्मकै कीर्तिमान कायम गरेको थियो । कोभिड महामारीले दुई वर्ष रेमिट्यान्स आयमा प्रभाव पार्दा त्यसका कारण देशको विदेशी मुद्रा सञ्चितिमा गम्भिर समस्या र संकट भोग्नुु परेको थियो ।
रेमिट्यान्स ह्वात्तै बढ्नुमा विदेश जाने नेपाली कामदारको संख्या बढ्नुका साथै आधिकारिक माध्यमबाट रेमिट्यान्स पठाउने प्रवृत्ति, अवैध रकम र सामान आयातमा गरिएको कडाइले समेत भूमिका खेलेको छ । यदि कुनै कारणबस रेमिट्यान्स रोकियो भने नेपाल र नेपालीको हालत के होला ? निकै कहाली लाग्दो परिदृश्य देखिन्छ । तर, यसरी आउने रेमिट्यान्समा नेपाल र नेपाली खुसी हुने कि दुःखी ? आखिर कहिले सम्म रेमिट्यान्समा रमाउने ? नेपाल भित्रिएको रेमिट्यान्सको उपयोगिता केमा भइरहेको छ ? यी, यस्ता प्रश्न र सवालमा गम्भीर समीक्षा र बहसको जरुरत छ । सरकार रेमिट्यान्स भित्राएर अर्थतन्त्र चलाउनेमा मात्र सीमित हुनु हुँदैन । देश भित्रै रोजगारको सम्भावना, अवसर सिर्जना गर्नेदेखि व्यावसायिक सुरक्षा सुनिश्चितता गर्नेमा विशेषतः केन्द्रित हुन जरुरी छ । देश भित्रै स्रोत साधनको पहिचान, सम्भावना खोज, अध्ययन अनुसन्धान गर्ने, त्यसको अधिकतम उपयोग, उत्पादन र बजारिकरण गर्नेमा ध्यान जानु अपरिहार्य छ । यसो हुन सकेन भने देशको उर्जाशील जनशक्ति ठुलो संख्यामा विदेश जाने र रेमिट्यान्समै मुलुक चल्ने दुर्दशा र नियति वर्षौ सम्म भोगिरहन अभिसप्त हुनेछ ।