सम्पादकीय
जलवायु परिवर्तन विश्वव्यापी समस्याको रुपमा देखिएको छ । नेपालमा पनि जलवायु परिवर्तन र यसको बिभिन्न क्षेत्रमा गम्भीर असर देखिन थालेको छ । मुख्यतः हिमाली क्षेत्रहरुमा प्रत्यक्ष जलवायु परिवर्तनको असर देखिरहेको छ । पहिले पहिले बर्खायाममा समेत खासै पानी नपर्ने मुस्ताङमा अहिले वर्षा हुने मात्र होइन, अस्वभाविक बाढी, पहिरो आउन थालेको छ । हिउँ बढी पर्ने भएकाले हिउँ रोक्ने र न्यानो हुने गरी बनाइएका परम्परागत माटोका घरहरु वर्षासँगै कामयावी देखिन छोडेका छन् । खेतबारी उत्पादन कृषि उपजहरुमा पनि जलवायु परिवर्तनको असरले उल्लेख्य फेरबदल आउन थालेको छ । यस्तो समस्या मुस्ताङमा मात्र होइन, अरु हिमाली, पहाडी जिल्लाहरुमा पनि देखिएको छ ।
जलवायु परिवर्तन र यसको असरबारे विगत केही वर्ष यता बहस छलफल त सुरु भएको छ । तर, यसको असर रोक्न सरकारका तर्फबाट ठोस कदम चालिएको छैन । सरकारको तर्फबाट बुधवार जलवायु परिवर्तन संवाद कार्यक्रममा मुस्ताङ पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक घोषणा गरे । विश्व समुदायले जलवायु परिवर्तन अनुकूलनका लागि सङ्कलन गरेको रकमबाट नेपालले ५० करोड पाउने र त्यो सबै रकम यसपालि मुस्ताङ पठाउने निर्णय भएको बताए । पछिल्ला समय नेपालको हिमाली क्षेत्रमा तापक्रम अत्यधिक बढेको छ । हिउँ पग्लिने र त्यसबाट बाढी आएर धनजनको क्षति हुन थालेको छ । २०७८ सालमा मनाङमा आएको बाढीलाई पनि जलवायु परिवर्तनसँग जोडेर हेरिएको छ । हिमाली क्षेत्रका नागरिकहरूले वर्षाबाट जोगिन छाना फेर्न थालेका छन् । केही वर्ष अघिसम्म माटोकै घर र माटोकै छत भएका यहाँका घरहरूमा अहिले जस्तापाता र कंक्रिट देखिन्छ । घरको बनोट फेर्नुमा जलवायु परिवर्तनलाई हेरिएको छ । गत साउन २८ गते मुस्ताङको कागबेनीमा बाढीका कारण ठुलो क्षति भएको छ । मुस्ताङ सबैभन्दा कम पानी पर्ने क्षेत्र पनि हो । तर पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनको असरका कारण बर्सात हुन थालेको छ । एक अध्ययन अनुसार मुस्ताङ जिल्ला नेपालमै सबैभन्दा बढी तापक्रम बढेको जिल्ला पनि हो । अन्य क्षेत्रमा वर्षेनी ०.०१ प्रतिशत तापक्रम बढ्छ भने मुस्ताङमा ०.१ प्रतिशत तापक्रम वृद्धि भएको उक्त अध्ययनले देखाएको छ । यसको अर्थ अन्य क्षेत्रमा भन्दा १० गुणा बढी तापक्रम मुस्ताङमा बढेको छ ।
मुस्ताङ ऐतिहासिकता, भौगोलिक विशिष्टता, संस्कृति, परम्परा र उत्पादनको हिसावले संवेदनशील र पृथक जिल्ला हो । यहाँ पुग्ने जो कोहीलाई पनि जलवायु परिवर्तनको प्रत्यक्ष अनुभव हुन्छ । पछिल्लो समय धेरै वर्षपछि अविरल वर्षा, बाढी र त्यसले पु¥याएको क्षति विशिष्ट प्रकृतिको छ । यसलाई सरकारले गम्भीरता पूर्वक लिनु र प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय संस्थाबाट प्राप्त ५० करोड दिने घोषणा सकारात्मक हो । तर, पैसा दिने घोषणा मात्र ठुलो कुरा भने होइन । जलवायु परिवर्तन राष्ट्रिय चुनौतीको रूपमा देखिएकाले यसको यथेष्ट जलवायु परिवर्तनका बहुआयामिक असरमा अनुसन्धान, नियन्त्रणमा ठोस नीति, योजना र कार्यक्रम अहिलेको आवश्यकता हो । दक्षिण एसिया र खासगरी हिमालय पर्वत शृंखलामा जसरी हिउँ पग्लने क्रम सुरु भएको छ । यसले प्रत्यक्ष जनजीवन र वातावरणमा गम्भीर असर र दुर्घटना निम्त्याउने खतरा प्रति समयमै सचेतता अपनाउनु जरुरी छ ।