सम्पादकीय
पछिल्लो केही वर्ष यता व्यवसाय गर्ने लहर आयो । केही न केही आफै गर्नुपर्छ भन्ने सोच सकारात्मक थियो नै । तर, केही न केही व्यवसाय सुरु गर्नका लागि व्यवसायिक सम्भावना, अवसर, यसका चुनौती जोखिमहरुबारे खासै गम्भिरतापूर्वक अध्ययन आँकलन गर्न भने चुकिरहेको देखिन्छ । जसका कारण लहडमा लगानी गर्ने र विस्तारै यथेष्ट बजार, व्यवस्थापन लगायतको अभावले व्यवसाय नै डुब्ने र चौपट हुने अवस्था पैदा भएको छ । यसबाट कैयनको उठिवास भइसकेको छ भने कैयन गर न मरको अवस्थामा बस्नुपरेको छ । हालै मात्र छिमेकी जिल्ला म्याग्दीबाट यही र यस्तै बिडम्बनापूर्ण खबर आएको छ । देशव्यापी लहडका बिच कालिजपालन गरेका म्याग्दीका उद्यमीहरु विस्थापित हुन थालेका छन् ।
वनखुकुरा भनेर चिन्ने कालिज पालन पहिले नेपालमा निषेध थियो । ‘राउननेक’ जातको कालिज घरमा पाल्नलाई सरकारले अनुमति दिएको छ । पछिल्लो पटक संशोधित वन ऐनले कालिजको व्यावसायिक पालन गर्न सक्ने व्यवस्था गरेको छ । यही व्यवस्थाबाट म्याग्दीमा दुई वर्षअघि जिल्लाभर छवटा ठुलो संख्याको कालिज फार्म सञ्चालनमा थियो । अहिले त्यो जम्मा एउटामा मात्र सीमित भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र म्याग्दीले जनाएको छ । सञ्चालनमा रहेको हरियाली ग्रुपको फार्ममा पनि न्यून मात्रामा कालिज पालिएका छन् । तीन हजारभन्दा बढी कालिज पाल्न सक्ने क्षमता रहेको फार्ममा हाल दुई सय ५० हाराहारीमा कालिज छ । एकवटा भाले कालिजको मूल्य रु दुई हजार पाँच सयदेखि तीन हजार र पोथीको मूल्य दुई हजार हाराहारीमा किनबेच हुन्थ्यो । सुरुमा बजार माग र मूल्य राम्रो भए पनि अहिले कम भए पछि कालिज पालन व्यवसाय संकटमा पुगेको छ ।
नेपालमा हरेकजसो व्यवसायमा लहड देखिन्छ । कुनै एक नागरिकले अलि राम्रो पृथक र सफल व्यवसाय ग¥यो भने त्यसकै छेउमा उही र उस्तै प्रकृतिको व्यापार व्यवसाय गर्ने प्रवृत्ति देशव्यापी छ । जसका कारण न आफु सफल हुने, न अरु व्यावसायिक रुपमा सफल हुने अवस्था छ । यसमा अझ पछिल्लो समय तिब्र आर्थिक मन्दीले व्यापार व्यवसाय चौपट छ भने उपभोक्ताको क्रयशक्ति पनि कमजोर अवस्थामा पुगेको छ । यसबेला आफ्ना व्यापार व्यवसायदेखि घर व्यवहार समेत संयमतापूर्वक सञ्चालन व्यवस्थापन गर्नुपर्नेछ । अन्यथा, लाखौं, करोडौंको लगानी भएको व्यवसाय डुब्ने मात्र होइन, सिंगो जीवन भविष्य नै धुमिल हुने खतरा छ । यस्तो खतराबाट जोगिनु भनेको हामीले जे जस्तो कर्म, व्यवसाय गर्दैछौ, त्यसको यथेष्ट सम्भावना, अवसर, चुनौती, जोखिमबारे अध्ययन गर्नु अपरिहार्य छ । र सोही मुताबिक तत्कालीन र दिर्घकालीन रुपमा योजना तयार गरेर काम गर्नुपर्दछ । नत्र भोलिका दिनमा पछुताउनु र गुनासो गर्नुबाहेक हामीसँग कुनै विकल्प र बाटो हुने छैन ।