सम्पादकीय
अचेल हिमालहरु सेता होइन, हिउँ पर्ने सिजनमा समेत नाङ्गा र उदास लाग्दा देखिन्छन् । हिमाली जिल्लाहरुको जलवायु पहिले जस्तो थियो, अहिले त्यस्तो छैन । पहिले जीवन दैनिकीका लागि अपनाइएका उपायहरु पछिल्लो केही वर्ष यता फिक्का हुन थालेका छन् । हिमाल भेगमा अचेल भारी हिमपात होइन, वर्षा हुन थालेको छ । हिउँ छेक्न बनाइएका माटोका घर वर्षाले कामयावी देखिन छोडेको छ । अरु खेतिपातीमा पनि उस्तै समस्या बढ्दो छ । यसबेला विश्वव्यापी रुपमा देखिएको जलवायु परिवर्तन, यसका बहुआयामिक असरबारे सचेततापूर्वक कदम चाल्न जरुरी भएको छ । ठिक यही बेला विश्व समुदायको ध्यानाकर्षणका लागि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिया गुटेरेस नेपाल आएका छन् । र उनले विश्वको शिखर सगरमाथा क्षेत्रबाट जलवायु परिवर्तनको भयावह असरबारे विश्व समुदायको ध्यानाकर्षण गराएका छन् ।
विश्वका १० अग्लामध्ये आठ हिमाल नेपालमा छन् । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा बढी परेको अध्ययनहरूले पनि देखाइसकेको छ । यही यथार्थका बिच गुटरेसले सगरमाथाको स्याङ्बोचे क्षेत्र र अन्नपूर्ण आधार शिविरमा पुगेर जे जस्तो सन्देश प्रवाह गर्ने पहल र प्रयत्न गरे, त्यो धेरै हिसाबले महत्वपूर्ण छ । किनकि, जलवायु परिवर्तनका सन्दर्भमा दुई चरणको खतरनाक अध्यायबाट दुःखद घटना हुन लागेको गुटरेसले प्रष्ट संकेत गर्दै विश्व समुदायलाई सचेत गराएका छन् । पहिलो चरण हिमनदी र बरफ पग्लने हो । उल्लेख्य तापमान भनेको उल्लेख्य ग्लेसियर पग्लनु हो । नेपालले ३० वर्षको अवधिमा झन्डै एकतिहाइ बरफ (हिउँ) गुमाएको छ । अन्टार्कटिका र ग्रिनल्यान्डले हरेक वर्ष अर्बौँ टन बरफ गुमाइरहेका छन् । बरफहरू पग्लिनुको अर्थ सुगन्धित तालहरू र नदीहरूमा बाढी आउनु, सम्पूर्ण समुदायलाई बगाउनु हो । विश्वभर तटीय समुदायलाई खतरामा पार्ने गरी तीव्र रूपमा समुन्द्र बढेर गएका छन् । संकटले गति लिइरहेको छ । यसको मतलब यो त्रासदीको दोस्रो चरण अझ ठूलो हुन्छ– हिमनदीहरू पूर्ण रूपमा हराउनेछन् । हिमतालहरू बरफका जलाशय हुन् । यहाँ हिमालयमा रहेका जलाशयले एक अर्बभन्दा बढी मानिसलाई ताजा पानी आपूर्ति गर्छन् । जब तिनीहरू संकुचित हुन्छन्, त्यसरी नै नदीहरू बग्दछन् । भविष्यमा सिन्धु, गंगा र ब्रह्मपुत्रजस्ता प्रमुख हिमाली नदीको बहावमा ठूलो मात्रामा कमी आउन सक्छ । तल्लो तटीय देश र समुदायहरू सदाका लागि मेटाइँदै छ । पानी र जमिनका लागि लाखौँ मानिस भयंकर प्रतिस्पर्धामा छन् । र, विश्वव्यापी रूपमा बाढी, खडेरी र पहिरोको गति बढ्दै गएको छ ।
गुटरेस नेपाल भ्रमणमा आउनु र त्यसमा पनि हिमाल बचाउनु पर्ने सन्देश विश्वव्यापी रुपमा प्रवाह गर्नु नेपालका लागि निकै महत्वपूर्ण कुरा हो । सबैभन्दा खराब जलवायु परिवर्तनको अराजकताबाट बच्न विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रीमा सीमित गर्न प्रयास गरिहाल्नुपर्छ । यसलाई अब पनि पर्खेर बस्ने समय छैन । हिमनदी पूर्ण रूपमा हराउने खतराबाट विश्वलाई जोगाउन नसकिए संसारले नपर्खिने र भयावह स्थितिको सामना गर्नुपर्नेतर्फ विश्व समुदाय सचेत भएर आवश्यक कदम चाल्नुको विकल्प छैन । महासचिव गुटरेसले नेपाल आएर दिन खोजेको सन्देशले नेपाललाई स्वभाविक थप बल मिलेको छ । आसन्न कोप–२८ का बेला बढी कार्बन उत्सर्जन गर्ने शक्तिराष्ट्रलाई ‘कार्बन घटाउन, हिउँ बचाउन’ आव्हान गरेका छन् । जलवायु परिवर्तन न्यूनीकरणका सवालमा अतिकम विकसित राष्ट्रको समन्वय समितिको नेतृत्व गरिरहेको देश नेपालमा आएर संयुक्त राष्ट्रसंघका महासचिवले यति महत्वपूर्ण सन्देश प्रवाह गर्ने कुरा ऐतिहासिक छ । अन्तर्राष्ट्रियस्तरमा जलवायु परिवर्तन न्यूनीकरणका नीति बनाउनेमा नेपालले अझ थप दृढता र सचेततापूर्वक नेतृत्व गर्नुपर्छ ।