सम्पादकीय
नेपाली राजनीतिमा अपराध र अपराधको राजनीतिकरण निकै पुरानो रोग हो । यो रोग मुलुकका लागि क्यान्सर जस्तो बनिसकेको छ । जुन निर्मुल हुने चरणमा भन्दा झन् भन्दा झन् फैलिने क्रममा छ । अहिलेको उन्नत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा समेत राजनीतिमा अपराधिकरण र अपराधमा राजनीतिकरण उत्तिकै हाबी छ । जसले देशमा बिधिको शासन, सुशासन, जवाफदेहिता, पारदर्शिता जस्ता विषय केवल नारामा सीमित हुन पुगेको छ । जुनसुकै दल सरकारमा भए पनि आफ्नो र निकट व्यक्तिहरुको गम्भिर अपराधमा समेत सुनपानी छर्केर जबरजस्त चोख्याउने प्रवृत्ति व्याप्त छ । यसले कानुनी शासन माथि ठाडै उपहास गरिरहेको छ ।
पछिल्लो एक आपराधिक मुद्धा, न्यायालयको फैसला, जेल सजाय भुक्तान र राष्ट्रपतिले गरेको कैद मिनाहा चर्चा र बहसमा छ । अझ बहसमा त राष्ट्रपतिले कैद मिनाहा गरेर रिहा भएका व्यक्तिहरुको स्वागतका निमित्त गरिएका भड्किला तामझाम, केहीले पुनः गरेको हत्या अपराध लगायतका घटनाले देश तरंगित छ । चेतन मानन्धरको हत्यामा जन्मकैदको सजाय पाएका नेपालगञ्जका रिगललाई सरकारको सिफारिसमा राष्ट्रपतिले संविधान दिवसमा कैद मिनाहा गर्ने निर्णय गरेका थिए । त्यसविरुद्ध चेतनकी श्रीमति भारती मानन्धरले दिएको रिटमा न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले कैद मिनाहा गर्ने सरकारको निर्णय बदर गर्दै ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न आदेश दियो । यति मात्रै होइन, कारागार प्रशासनले ४० प्रतिशत कैद भुक्तान गरेका कसुरदारलाई दिने कैद छुटको निर्णयमाथि गम्भीर प्रश्न उठाउँदै सर्वोच्च अदालतले रिगल ढकालको कैद मिनाहालाई कानुन विपरीत मात्रै होइन, संविधानकै भावना प्रतिकुल भनी व्याख्या गरेको छ । घटनामा आपराधिक मनसाय, भेदभावयुक्त कैद मिनाहा, विचाराधीन मुद्दामा कैद मिनाहा नहुने, कैद छुट दिदा पीडितको सहमति अनिवार्य लगायतका विषयमा अदालतले महत्वपूर्ण आदेश गरेको छ ।
नेपालको कानुनमा सत्ता, शक्तिको स्वार्थ र नियतमा खेल्न सकिने गरी यस्ता यस्ता छिद्र राखिएका छन्, जसले सिंगो देशको शासन माथि बारम्बार प्रश्न उठाइरहेको मात्रै छैन, बिधिको शासन माथि गम्भिर उपहास समेत गराइरहेको छ । अहिले कर्तव्य ज्यान मुद्धामा अपराध करार भएका रिगल कैद मिनाहा प्रकरण पनि सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक निकटताकै आधारमा मिनाहाको निर्णय गरे । यो आफैमा बिधिको शासनको खिलाफमा थियो, त्यसमाथि कांग्रेस कार्यकर्ता र साथी शुभेच्छुकले कारागारबाट निस्किदै गर्दा दर्जनौ गाडी र मोटरसाइकल, फूलमाला सहित उनको स्वागत सत्कार र तामझाम गरियो । त्यो अझ बढी लोकलज्जाको विषय थियो । यसबाट कानुनी राज चाहनेहरु त आहत थिए नै, त्यो भन्दा बढी आहत उनको श्रीमती भारती शेर्पालाई भयो । र उनी अदालतको ढोका त ढकढकाए नै, त्यतिमा सीमित नरही माइतीघरमा अनशन सहित आन्दोलनमा उत्रिए । अन्ततः उनले उठाएको आवाजले रिगल पुनः जेलसजाय भोग्ने मात्र होइन, अरु कैद मिनाहा गर्दा समेत पीडितको सहमति अनिवार्य गर्ने लगायतका ऐतिहासिक नजिर स्थापित गरेको छ । यसका लागि भारतीको दृढता, साहस र न्यायालय धन्यवादका पात्र छन् ।