व्यवस्था कि नेतामाथि खतरा ?

सम्पादकीय
यतिबेला देश भूकम्पबाट क्षतिग्रस्त बनिरहेको जाजरकोट र रुकुम पश्चिमको पीडामा छ । भूकम्पबाट कतिले आफ्ना अभिभावक गुमाएका छन् भने कतिले आफ्ना प्रिय सन्तान गुमाएका छन् । घर लगायतका भौतिक सम्पत्तिमा त अर्बौको क्षति पुगेको छ । अहिले भूकम्प पीडितहरु चिसो कठ्यांग्रिने जाडोयाममा सुत्नका लागि त्रिपाल समेत नपाएर सकसमा छन् । कैयनले खान नपाएर छटपटिनु परेको छ । देशभरबाट प्राप्त भएको राहत सहयोग र सामग्री सरकारले एकद्धार प्रणालीबाट बितरण गर्ने नीति लिएको छ । तर, राहत सहयोग सामग्री वास्तविक पीडितहरु सम्म अझै पुग्न सकेको छैन । जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित स्थलमा पुगेको राहत सहयोग सामग्री पनि सत्ता र शक्तिको पहुँच निकट भएकाहरुलाई नै बाँडिएको गुनासो आएको छ । यस्तो बेला सरकार, राजनीतिक दल, नागरिक सबै तत्कालको राहत, उद्धार, उपचार, पुर्नस्थापनामा केन्द्रित हुनुपर्ने बेला सरकार र मुख्य राजनीतिक दलको अरु नै विषय र चासोले देश तरंगित बनिरहेको छ ।

संघीय सरकारले मुख्य राजनीतिक दलहरुका बिचमा सिंहदरबारमा एक बैठक आव्हान ग¥यो । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले २०६२÷६३ को जनआन्दोलनमा सक्रिय र १२ बुँदे समझदारीमा हस्ताक्षर गरेका दलहरूलाई बैठकमा बोलाएका थिए । जहाँ जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्प, त्यसको असर, राहत र पुर्नस्थापनाबारे छलफल हुने अपेक्षा थियो । तर भूकम्प प्रभावित क्षेत्रबारे बैठकमा छलफल त भएन नै, बरू गणतन्त्र ल्याउन भूमिका खेलेका दलहरूमाथि अन्धाधुन्ध प्रहार भइरहेको भन्दै त्यसबारे ‘गम्भीर’ समीक्षा गरियो । र गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता समग्रमा सिंगो व्यवस्थामाथि प्रहार भइरहेको र त्यसमा सबै सचेत र संगठित भएर मुकाबिला गर्ने सहमति गरेको खबर सार्वजनिक छ । हो पछिल्लो समय नेपाल र नेपालीमा चरम निराशा व्याप्त छ । लामो कोरोनाकाल पछि केही वर्ष यता देखिएको आर्थिक मन्दीले धेरैको जीवन दैनिकी र सपनाको लय बिग्रिएको छ । यही कारण मुलुकमा स्वभाविक निराशा, आक्रोश, अराजकता, केही बेथिति बढेको अवश्य छ ।

निराशा, गुनासो, आक्रोश, अराजकता बढ्नुको कारण के हो ? के व्यवस्था बिरोधी गतिविधि नै कारक छ कि वर्तमान व्यवस्थाकै शासकीय चरित्र, खराब पात्र र प्रवृत्ति कारक छ ? यसमा गम्भिरतापूर्वक समीक्षा गर्नु आवश्यक छ । गणतन्त्रवादीहरु नै सरकारको नेतृत्वमा हुँदा पनि मान्छेमा किन यतिबिघ्न निराशा बढिरहेको छ ? यसको कारण अति हिन्दुवादी या अराजकतावादी मात्रै हो कि अरु पनि कारण छ ? यसको कारण राज्यमा बस्नेले खोजी गरेर समाधानको पहल गर्नुपर्छ कि पर्दैन ?’ यता तर्फ पनि तीन तहको सरकार, यसका निकायले सोच्नुपर्छ । यदि नियोजित रुपमा व्यवस्था बिरोधी गतिविधि भइरहेका छन् भने त्यसलाई निगरानी गर्ने, सचेत हुनुपर्छ । तर, यसो भनेर अहिलेको चरम निराशा, अस्थिरता, बेथितिहरुबाट राज्यका सञ्चालक, मुख्य राजनीति दलहरु उम्किन मिल्दैन । सार्वजनिक पद र भूमिकामा रहेका सबै जिम्मेवार हुनुपर्छ, र तत्तत् निकायका सबैलाई जिम्मेवार बनाउनु पर्दछ । लामो संघर्ष र बलिदानबाट स्थापित गणतन्त्र कुनै एक दुई व्यक्तिले चिच्याहट गर्दैमा डगमगाउदैन । सत्तामा बस्ने र सार्वजनिक भूमिकामा रहनेहरु माथि स्वभाविक प्रश्न उठ्छन्, आलोचना हुन्छ । यसमा हतास भएर दुःख मनाउ गर्नु भन्दा प्रश्नको कारण र समाधान खोज्नु नै अहिलेको उन्नत व्यवस्थाको अझ सुन्दरतम पक्ष हो । यो सरकार, मुख्य राजनीतिक दल नेताहरुले हेक्का जरुर राख्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *