फुटबल माथिको कुरुप राजनीति

सम्पादकीय
नेपालमा खेलकुद पछिल्लो समय विकास र विस्तार हुँदै जाने क्रममा त छ । तर, हरेकजसो खेलुकदमा भित्र भित्रै हुर्किदै गरेको फोहोर राजनीतिले समग्र खेल क्षेत्रलाई नै कुरुप बनाउदै लगेको छ । चाहे त्यो नेपाली क्रिकेटमा होस् या फुटबल या अरु लोकप्रिय खेलहरु होस् । राजनीतिक दल, व्यक्तिगत टकराव र स्वार्थहरुको दन्तबझानका कारण खेलकुद समिति, संघहरु समस्याग्रस्त अवस्थामा छन् । समिति भित्रै एकले अर्को व्यक्ति र समूहलाई अविश्वास प्रस्ताव राख्नेदेखि कुनै पनि काम गर्न नसक्ने विवाद र बातावरण छरपष्ट देखिन्छ । जसको प्रत्यक्ष असर सिंगो खेल र खेलाडीमा पर्न गएको छ । यही कारण राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतिस्पर्धाहरुमा समेत नेपालले अपेक्षाकृत प्रदर्शन अझै पनि गर्न सकेको छैन ।

पछिल्लो समय क्रिकेटले उल्लेख्य छलाङ मारेको छ । टि ट्वान्टी विश्वकपमा दोस्रो पटक छनोट भएको छ । विश्वव्यापी रुपमा लोकप्रिय खेलको रुपमा रहेको नेपाली राष्ट्रिय फुटबलमा भने उदेक लाग्दो अवस्था देखिन्छ । राष्ट्रिय टिमका खेलाडीहरु धमाधम विदेशीका समाचार र फोटो सार्वजनिक भइरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मा भने पदाधिकारी, सदस्यको आन्तरिक विवाद उत्कर्षमा छ । एन्फाका बहुमत सदस्यले गत भदौमा वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै विभिन्न १९ आरोपसहित अध्यक्ष पंकजबिक्रम नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरे पश्चात विवाद उत्कर्षमा पुगेको थियो । तर अध्यक्ष नेम्वाङले आफू मात्र बर्खास्तीको प्रस्तावको सामना गर्ने निर्णय गर्दै विशेष साधारण सभामा उक्त एजेन्डा लगेका थिए । विशेष साधारणसभामा एन्फा अध्यक्ष नेम्वाङ र असन्तुष्ट पूर्व अध्यक्ष कर्माछिरिङ शेर्पा समूह बिच वादविवाद मात्र भएन, नाराबाजी र धकेलाधकेल समेत भयो । प्ररीले हस्तक्षेप गरे पछि विवाद साम्य भएर अविव्वासको प्रस्तावमा मतदान गरियो । विशेष साधारणसभाले अध्यक्ष नेम्वाङलाई बर्खास्त गर्ने प्रस्ताव अस्वीकृत गरेको छ । प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५३ मत परेको छ । एक मत बदर भएको छ । विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्नुपर्छ भन्ने प्रस्ताव राख्ने असन्तुष्ट पक्षले मतदान गरेनन् । एन्फामा अध्यक्षको बर्खास्तीको प्रस्ताव पारित हुन दुई तिहाई मत आवश्यक पर्ने विधानको व्यवस्था छ ।

फुटबलको विकास र हित गर्ने सर्वोच्च संस्था अखिल नेपाल फुटबल सघं (एन्फा)कै यो बेहाल र दुरावस्था छ भने फुटबल खेल र खेलाडीको विकास कसरी हुन सक्छ ? यस्तो घटना र प्रवृत्ति अहिले मात्र होइन, हरेकजसो सघं, समितिको कार्यकालमा भइरहेकै छ । जसले आफु पनि काम नगर्ने र अरुलाई पनि काम गर्न नदिने हठ र खराब प्रवृत्तिले खेल क्षेत्र ग्रसित बनिरहेको छ । हरेक खेलमा अनुशासन उत्तिकै महत्वपूर्ण हुन्छ । तर, त्यही खेल क्षेत्रको नेतृत्वदायक संस्था, त्यसका नेतृत्वकर्ताहरु भने आफ्नो पदिय भूमिका र मर्यादा भुलेर आफ्ना सीमित स्वार्थहरुका कारण सिंगो खेल क्षेत्रलाई बदनामी गर्ने, वर्षौ पछि धकेल्ने दुश्प्रयासमा छन् । यस्तो खराब पात्र र प्रवृत्ति हुर्किदै गर्दा पनि नेपाल सरकार र यसका सम्बन्धित निकायहरुले यथोचित निगरानी र कदम चाल्न सकिरहेका छैनन् । सीमित स्रोत साधनका बाबजुद पनि हरेकजसो खेलमा नेपाली खेलाडीले उच्च खेल कौशल प्रदर्शन गरेर देशको शिर उचो बनाएका छन् । अब खेल भित्रको कुरुप राजनीति बन्द गरेर खेलकुद संघ संस्था र समितिमा पनि स्वस्थ छलफल, प्रतिस्पर्धा गर्ने, बिधिलाई सर्वोपरी राख्ने र खेलाडीहरुको भविष्यका लागि पनि यथोचित कदम चाल्ने तर्फ भुमिका खेल्नुपर्छ । एन्फाका पदाधिकारी, सदस्यले निर्वाचित भएर आएर पनि जग हसाउने काम बन्द गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *