तिहार शुभ रहोस्

सम्पादकीय
यतिबेला मुलुकको कर्णाली क्षेत्र शोक र सकसमय छ । यसका बाबजुद पनि नेपालका अरु भेगमा भने चाडपर्वको लहर, उत्साह र रौनकता बढ्दो छ । घर आँगनमा भित्रिसकेको नेपालीहरुको महान पर्व बडा दशैं पछिको दोस्रो ठुलो पर्व तिहारको सेलिब्रेसनका निमित्त व्यस्त र दौडधुपमा छन् । तिहारलाई परिवार, आफ्ना प्रियजनका बिचमा सम्झनलायक बनाउन प्रयासरत छन् । संघीय राजधानी काठमाडाैँदेखि शहर बजार र दुरदराजका गाउँहरु पनि उज्यालो झिलिमिली बनेका छन् । चिसो निस्पट्ट अध्यारो रात भए पनि त्यसको खासै गुञ्जायस छैन । शहर बजारमा सयपत्री मखमली फूल र मालाको किनबेच गर्नेहरुको भिडभाड छ । यमपञ्चक सुरु भएदेखि पाँच दिन मनाइने तिहारको हरेक दिनको छुट्टा छुट्टै विशिष्ट महत्व छ । तिहार पर्वको अनेकन ऐतिहासिकता, जनविश्वास र मानक नेपाली समाजमा स्थापित छ । यस अवसरमा खेलिने देउसी भैलोले तिहार पर्वलाई अझ बढी सामाजिक र ऐतिहासिक बनाउन भूमिका खेलिरहेको छ ।

उज्यालो पर्वको रुपमा लिइने दीपावली अर्थात् तिहार खास त दिदीबहिनी दाजुभाइ बिचको प्रियकर पर्व हो । यसका अतिरिक्त रंगहरुको पर्व पनि । नेपालमा पर्वहरूको धार्मिक रंग मलिनो हुँदै गएको अवस्थामा तिहारमा प्रयोग गरिने रंगले सांस्कृतिक चमक बढाउछ । तिहारमा खेलिने देउसी भैलो सांस्कृतिक पछिल्लो समय दसैंजस्तै तिहार पनि कुनै जात, समुदाय वा सम्प्रदाय विशेषमा सीमित छैन । शरद् ऋतुको मध्यमा पर्ने तिहारमा काग, कुकुर, गाई, गोरु, गोवर्धन पर्वत, दाजु, भाइ, दिदी, बहिनी सबैलाई आदर र सम्मान गर्दै पाँच दिनसम्म पूजा गर्ने प्रचलन छ । तिहारको पहिलो दिन कागलाई शुभ र अशुभ दुवै किसिमका सन्देश ल्याउने पंक्षीका रूपमा पुजा गरिन्छ भने यस सँगै घरको रक्षक, आज्ञाकारी र सेवकका रूपमा कुकुर, प्राचीन तथा वैदिक कालदेखि गाईलाई गौमाता भन्दै आमाका रूपमा गाइ, धनधान्यकी देवीको रुपमा लक्ष्मीको पुजा गरिन्छ । तिहारको पाँचौं अथवा अन्तिम दिनमा भाइटीका मनाइन्छ जुन दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्छन् । यसरी हेर्दा तिहार सम्बन्ध र अर बहुआयामिक महत्व राख्ने पर्वको रुपमा स्थापित छ ।

तिहार पर्व यसपटक त अझै महत्वपूर्ण यसकारण छ कि नेपालको राष्ट्रिय विदाको अवधि लामो छ । सबै संयोगहरुले एकसाता बढी सार्वजनिक विदा भएकाले पनि तिहार मनाउने या नमनाउनेहरुका लागि समेत सेलिब्रेसनका लागि यथेष्ट समय र अवसर छ । तिहार पर्वको मुख्य विशेषता भनेको सम्बन्ध, आपसी सद्भाव, आदर–सम्मान, मेलमिलाप, भ्रातृत्व र सहिष्णुतालाई थप कसिलो बनाउने हो । चाहे त्यो पशुपंक्षी, मान्छे र प्रकृति बिचमा होस् या चाहे दाजुभाइ, दिदीबहिनीहरुका बिचमा होस् । तिहारले छुट्टै खालको आत्मियता, हार्दिकता र भावनात्मक सम्बन्धलाई बलियो बनाउन एक कोशेढुंगाको रुपमा काम गर्छ । यद्यपि, पछिल्लो समय देउसी भैलो लगायतको मौलिकतामा चर्को बिचलन देखा पर्न थालेको छ । संस्कृतिको पक्ष भन्दा दानको पक्ष प्रधान बन्न थालेको छ । सीमित स्वार्थ समूहको मनपरीका कारण देउसी भैलोको खास सुन्दरता र मौलिकता हराउँदै जाने हो भने भोलिका दिनमा थप समस्या देखा पर्ने निश्चित छ । अतः यस वर्षको तिहारले पनि नेपाली समाजमा मौलिक संस्कृतिको जगेर्नाका साथै सबैका माझमा अझ बढी सम्बन्धहरुको नविकरण, सुदृढिकरण, आपसी सद्भाव र सामाजिक सहिष्णुताको विकास गर्न सकोस् । तिहार पर्वका अवसरमा सिंगो आदर्श सञ्चार र धौलागिरी जागरणा दैनिक परिवार तपाईं सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *