चिसोबाट जोगाउ र जोगिऔं

सम्पादकीय
नेपालको संस्कृति, प्रकृतिकमा मात्र होइन, मौसममा पनि अनौठो विविधता छ । कहिले बर्खा, कहिले हिउँद, कहिले गर्मी र कहिले चिसो । भलै कसैलाई गर्मी मन पर्छ, कसैलाइ गर्मी भन्दा जाडोयाम मन पर्छ । तर, यही विविधता भित्र समय अनुकुल जीवनशैली अपनाउन नसक्दा वर्षेनी कैयन नेपालीले अकालमै ज्यान गुमाउन बाध्य हुने गरेका छन् । यसवर्ष पनि भर्खर चिसो मौसम सुरु भएको छ । अहिले नै जाजरकोटमा चिसोबाट पाँच जना भूकम्प पीडितको ज्यान गइसकेको छ । १७ कात्तिकको भूकम्पका कारण घरबारविहीन भएकाहरू त्रिपालमुनि बसिरहेका छन् । चिसो बढेसँगै दीर्घरोगी, सुत्केरी तथा गर्भवती महिला, वृद्धवृद्धा र बालबालिका समस्यामा परेका छन् । तराई लगायतका कैयन स्थानमा खासगरी गरिब, बिपन्न समुदायका ज्येष्ठ नागरिक, बालबालिकाहरु चिसोबाट प्रताडित बन्ने गरेका छन् ।

जाजरकोट केही साता अघि मात्रै भूकम्पबाट सयौंको संख्यामा मानवीय तथा लाखौंको भौतिक सम्पत्तिको क्षति बेहोर्न बाध्य थियो । अहिले चिसो मौसम सुरु भए सँग खुल्ला आकाशमुनी त्रिपालको भरमा रात काट्नु पर्दा जीवन दैनिकी सकसपूर्ण मात्र हैन, मृत्यु समेत हुने गरेको घटना गम्भिर कुरा हो । बारेकोट गाउँपालिका–१ रामीडाँडा, भेरी नगरपालिका, नलगाड नगरपालिकामा केहीले चिसोकै कारण ज्यान गुमाएका छन् । चिसो बढेसँगै जाजरकोटमा भूकम्पपीडित बिरामी पर्न थालेका छन् । स्थानीय स्वास्थ्य चौकीका अनुसरा दिनमै ५० भन्दा बढी बिरामी स्वास्थ्य चौकीमा आइरहेका छन् । अधिकांशमा ज्वरो आउने, बान्ता हुने समस्या देखिएको छ । चिसो र शितलहरका कारण तराई क्षेत्रमा वर्षेनी यसरी नै ज्यान गुमाउने धेरै छन् । चिसोले अहिले अस्पतालहरुमा रुघाखोकी, दम र निमोनियाका बिरामी समस्या र सकसमा छन् । तराईका गरीब र सीमान्तकृत समुदाय चिसोमा बढी प्रभावित हुने गरेका छन् ।

हरेक वर्ष देशमा विपद्, महामारी मात्र आउदैन । ऋतु परिवर्तनको अनुक्रममा गर्मीयाम पश्चात चिसोयाम आउँछ । यही चिसोमा गरिबीका कारण बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने यथेष्ट चेतना ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जान्छ । सरकारले यस्तो घटनामा दुःख र समवेदना व्यक्त गर्छ । तर, वर्षेनी आफ्ना नागरिकको मृत्यु हुँदा पनि पूर्ववत तयारी, सचेतनाका लागि ठोस कदम चाल्न सक्दैन । अझ यसपटक त जाजरकोट र रुकुम पश्चिममा भूकम्पले सयौं घर तहसनहस छ । मानिसहरु त्रिपाल र केही लत्ताकपडाको साथमा अहिले चिसो छल्न प्रयासरत छन् । अस्थायी घरहरु निर्माणाधीन अवस्थामा छन् । भूकम्पबात प्रताडित नागरिकलाई एकातर्फ परिवारका अभिभावक, सन्तान र आफन्त गुमाएको पीडा छ, अर्को तर्फ चिसोले जीवन दैनिक सकसपूर्ण छ । यस अवस्थामा राज्य हुनुको अनूभूति सरकारले गराउनु पर्छ । अब झन् चिसो बढ्ने समय भएकाले नागरिकले समेत आवश्यक सतर्कता तयारी गर्नुपर्छ । ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकाले उनीहरुलाई विशेष प्राथमिकतामा राख्नुपर्छ । केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारले चिसो र यसको सम्भावित जोखिमको समयमै बिश्लेषण गरेर यथोचित कदम चाल्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *