अराजक र घृणित कार्य बन्द गर

सम्पादकीय
दुइ दिन यता संघीय राजधानी काठमाडौं अशान्त छ । मेडिकल व्यवसायी दुर्गा प्रसाइँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा र विद्यार्थी संगठनले गणतन्त्र, भ्रष्टाचार र बेथितिको विषयमा सरकारलाई खबरदारी गर्न एकैदिन बिरोध प्रदर्शनमा उत्रिए । अझ माइतीघरमा एक अर्का प्रति तिब्र आक्रोशित र आक्रामक बनिरहेका दुई पक्षको प्रदर्शन पूर्व निर्धारित थियो । तर, जिल्ला प्रशासन कार्यालयले सम्भावित खतरालाई ध्यानमा राखेर माइतीघर बानेश्वर सिंहदरबार क्षेत्रमा निषेधाज्ञा जारी ग¥यो । जसले दुई समूह बिचको सम्भावित भिडन्त, दुर्घटना त हुन पाएन । तर, बल्खु क्षेत्रमा भने ढुंगा हानाहान भयो । प्रहरीसँग समेत प्रसाइँ समूहको झडप भयो । प्रहरीले भिड नियन्त्रणका लागि पानीका फोहरा र अश्रुग्याँस प्रहार गर्न बाध्य भयो ।

प्रदर्शनको बेला प्रहरीले दमन गरेको जिकिर सहित प्रसाइँ र उनको समूह थप आक्रामक बन्यो । शुक्रबार समेत तिनकुनेमा बिरोध प्रदर्शनको उद्घोष ग¥यो । तर, आन्दोलनको मुख्य नेतृत्वकर्ता दुर्गा प्रसाइँलाई घरमै नजरबन्दमा राखियो । भलै सरकार र स्थानीय प्रशासनले उनै प्रसाइँको सुरक्षाका खातिर घरमा प्रहरी सुरक्षा व्यवस्था गरिएकोे दाबी गरेको छ । बिरोध प्रदर्शनको दोस्रो दिन तिनकुनेलाई पनि निषेधाज्ञा जारी गरेर प्रदर्शनमा रोक लगाइएको थियो । जुन स्थानमा अघिल्लो दिन मात्रै एमाले निकट राष्ट्रिय युवा संघले प्रदर्शन गरेको थियो । अराजकता बढ्दै जान थाले पछि स्थानीय प्रशासनले कडाईका साथ तिनकुने र आसपासका क्षेत्रबाट ठुलो संख्यामा प्रदर्शन गर्न आएकाहरुलई पक्राउ ग¥यो । पक्राउ पर्नेमा राजतन्त्रको वकालत गर्न आएका तन्नेरीदेखि बृद्धबृद्धा सम्म थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौँले प्रशासनले काठमाडौँमा कसैको पनि गैरकानुनी हर्कत सह्य नभएको बताएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पु–याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरूमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न दिइएन ।

पछिल्लो समय मुलुकमा भ्रष्टाचार, बेथिति मात्र होइन, अस्थिरता र अराजकता पनि बढेको छ । सरकार र यसका निकायले कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा यथोचित कदम नचाल्दा अराजकताले हठ नाघ्न थालेको छ । एक व्यक्ति र समूहले अर्को व्यक्ति र समूहलाई यसरी सत्तेसराप गरिरहेका छन् कि जुन हेर्दा र सुन्दा पनि निकै असहज लाग्छ । राजनीतिक दल, तिनका नेताहरु समेत घृणित र अराजक गतिविधिमा उत्रिनु दुखद कुरा हो । आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाइँ तिनै पात्र हुन्, जसले बैंकको अरबौं रकम तिरिरहेका छैनन् । बरु त्यसलाई कसरी विषयान्तर र ब्ल्याक मेलिङ गरेर नागरिकको सेन्टिमेट क्याच गर्ने भन्ने ध्याउन्नामा उनी छन् । अहिलेको राजा ल्याउने, ऋण मिनाहा गर्ने र हिन्दु राज्य बनाउने घोषणा यसकै उपज हो । प्रसाइँ विवादै विवादको घेरामा छन् । उनी बैंकले ब्याजदर मनपरी बढाएको कुरा त जायज हो, जसबारे पुर्नबिचार हुन जरुरी छ । तर, बैंकबाट लिएको ऋण तिर्दैन, वर्तमान व्यवस्था उल्ट्याउछु भनेर स्वतन्त्रता र अधिकारको दुरुपयोग गरेर अराजक कदम चालिरहन पाउनु हुँदैन । सरकारले यसको यथोचित समाधान समयमै दिन सक्नुपर्छ । व्यवस्था खराब कदापि होइन, हाम्रा राजनीतिक दल, तिनका नेताहरुकै कारण देशमा चरम समस्या र बेथिति बिद्यमान छन् । यसको समाधानका लागि सरकारले नै ठोस कदम चाल्नुपर्छ । सत्ता सञ्चालकहरु नै सच्चिनु पर्छ । यसको विकल्पमा अहिले व्यवस्था उल्ट्याउने, निरकुंश राजा ल्याउने, ऋण नतिर्ने लगायतका कार्य बकबास मात्र हो । यसमा सरकार र राजनीतिक दलहरुले समयमै पाठ लिउन् र सच्चिउन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *