बढ्दो निराशा र आत्महत्या रोकौं

सम्पादकीय/ पछिल्लो केही महिना यता देश आर्थिक मन्दीको समस्याबाट ग्रस्त छ । उद्योग, व्यवसाय निकै खस्कदो अवस्थामा छन् । राजधानीदेखि शहर बजारका पसलका सटरहरु भाडाका लागि सूचना टाँसिएका दृश्य छरपष्ट देखिन्छन् । यसबिचमा नियमित वर्षौदेखि व्यवसाय गरेकाहरु पनि हतास मनस्थितिमा देखिएका छन् । कति त आफ्नो पेशा, व्यापार, व्यवसाय छोडेर पलायन भइसकेका छन् । शहर बजार, चोक, चौतारी, चिया पसलहरुमा दैनिक देखिने र भेटिने ९० प्रतिशत मानिसहरु चरम निराशामा छन् । उनीहरु देश भित्र अहिले कुनै सम्भावना नभएको निष्कर्षमा पुगिरहेका छन् । हरेकजसो मान्छे फस्टेड छन् । आखिर किन यस्तो भइरहेको छ ? नेपालमा मात्रै कि विश्व समुदायमा पनि यस्तो समस्या व्याप्त छ ? नेपालमा यति बिघ्न निराशा, त्यसले आत्महत्या लगायतका अप्रिय घटना बढ्दै जानुका कारण के हो ? यी र यस्ता प्रश्न, सवालमा गम्भिरतापूर्वक मन्थन हुनु र सरकारी तबरबाट यथोचित कदम चाल्नु अपरिहार्य भएको छ ।

मुलुकमा व्याप्त निराशाबाट मानिसहरु यति आक्रान्त र आजित भएका छन् कि जसका कारण कैयनले मृत्युबरण समेत गरेका छन् । पछिल्लो केही समय यता आर्थिक लगायतका समस्याका कारण आत्महत्या गर्ने संख्या बढ्दो छ । केही साता अघि मात्रै चर्चित मोडेल दिपासा बिसीले विष सेवन गरेर आत्महत्या गरिन् । मिटरब्याजीको समस्याबाट अरु पनि थुप्रैले आत्महत्या गरिसके । शनिवार साँझ मात्रै संघीय राजधानी काठमाडौंमा एक व्यक्तिले २८ हजार रुपैयाँ ऋण तिर्न नसक्दा आत्महत्याको प्रयास गरे ।

करिब साढे ६ मिनेट फेसबुक लाइभमा आएका उनले मोटरसाइकल किन्दा दुई वर्ष अघि ऋण लिएको र अहिले बाँकी २८ हजारका लागि आफूलाई निकै टर्चर दिने काम भएको उल्लेख गरेका छन् । दुई वर्षअघि २ लाख १५ हजारमा ८ प्रतिशत ब्याजमा किस्तामा यामाहाको रेजेडआर मोटरसाइकल लिएको र अहिले १८ प्रतिशत ब्याज बनाइएको उनले लाइभमा बताएका थिए । उनले दुर्गा प्रसाईंले भनेको सही रहेको भन्दै लाइभमै पासो लगाएर अप्रिय निर्णय लिन लागे पनि समयमै पुगेको प्रहरी टोलीले जिवितै उद्धार गर्न सफल भयो ।

२८ हजार ऋण किस्ता तिर्नै नसकेका कारण आत्महत्याको प्रयासले नेपाली समाज कुन अवस्थामा पुगिरहेको छ ? धेरै कुरा प्रष्ट हुन्छ । आर्थिक मन्दी, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, कमिसनतन्त्रको जगजगीका कारण अकालमै मर्ने र चरम निराशा उन्मुख धेरै छन् । यस्तो संवेदनशील अवस्थामा पनि सरकार र सरोकारवाला निकायले बिद्यमान समस्या अन्त्य गर्ने तर्फ यथोचित ध्यान र गम्भिरता देखाउन सकिरहेको छैन । मिटरब्याजी पीडितहरु पैदल हिँडेर राजधानी सम्म आन्दोलन गर्न आउँदा सम्म पनि राज्यले वार्ता मार्फत तत्कालका लागि थामथुम त पारेको छ । तर, यी र यस्ता गम्भिर समस्या समाधान, भोलिका दिनमा थप जटिलता र आत्महत्या समेत गर्न बाध्य हुने अवस्था अन्त्य गर्नमा ध्यान पुगेको देखिदैन । उसो त कुनै पनि समस्याको समाधान आत्महत्या होइन र हुन सक्दैन । समाजमा बढ्दो निराशालाइ रोकौ, नयाँ आशा, सम्भावना र अवसरको लागि पहल प्रयत्न गरौं । आजको समय कठिन हुन सक्छ, जीवन दैनिकी जटिल हुन सक्छ । भोलि राम्रो समय आउन सक्छ, यसका लागि विकल्प र कोशिस गर्नुपर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *