विमानस्थलबाटै मानव तस्कर


सम्पादकीय
/ यो मुलुकमा आज पनि तस्करहरुको राज छ । रक्तचन्दन लगायतका महत्वपूर्ण चिजबस्तुको त देश विदेशमा तस्कर भइरहेको थियो नै, नेपालको अर्को बिडम्बनापूर्ण कुरा यो हो कि मानव तस्कर पनि डरलाग्दो रुपमा व्याप्त छ । त्यो पनि बाहिरी नागरिक, सर्वसाधारणबाट होइन, सरकारका मन्त्री, राजनीतिक दलका नेता, सरकारी उच्च पदस्थ कर्मचारीहरुकै प्रत्यक्ष अप्रत्यक्ष संम्लग्नतामा मानव तस्करीका घटना भइरहेका छन् । जसको बारेमा सरकार र यसका बेखबर जस्ता देखिन्छन् । यद्यपि, यी यसरी मानव तस्करका घटना हुन्छन् भन्ने जानकारी मात्र होइन, किस्सा किस्साबारे पनि थाहा भने धेरैलाई छ । बिडम्बना यसको नियन्त्रणका लागि यथोचित कदम चाल्नमा भने सरकारले कुनै गम्भिरता देखाएको छैन ।

मानव तस्करका घटनाका समाचार दैनिकजसो कतै न कतै आइरहेकै हुन्छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय, प्रहरी र एयरलाइन्ससँगको मिलेमतोमा नक्कली कागजपत्रका आधारमा भिजिट भिसा बनाएर युएईलगायतका मुलुकमा मानव तस्करी हुने गरेको खबर हालै मात्र सार्वजनिक छ । नक्कली कागजपत्र बनाउने समूहका सदस्यसहित एक प्रहरी पनि पक्राउ परेपछि यो तथ्य बाहिरिएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डिएसपी गोविन्द पन्थी नेतृत्वको टोलीले गत १९ र २० कात्तिकमा विमानस्थलस्थित प्रहरी सुरक्षा कार्यालयमा कार्यरत एक प्रहरी जवानसहित नक्कली कागजपत्र बनाउने समूहका १२ सदस्यलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा यो समूहले अध्यागमन, प्रहरी र एयरलाइन्सका कर्मचारीसँग ‘सेटिङ’ मिलाएर भिजिट भिसामा मानव तस्करी गर्ने गरेको खुलेको छ । अध्यागमन कार्यालयका कर्मचारीलाई प्रतिव्यक्ति ४० देखि ५५ हजार र एयरलाइन्सका कर्मचारीलाई प्रतिव्यक्ति १० देखि १५ हजार बुझाउने गरेको थियो । त्यस्तै, विमानस्थलस्थित प्रहरीलाई भने उनीहरूले प्रतिव्यक्ति १० हजार रूपैयाँ दिएर सेटिङ मिलाउने गरेका थिए ।

मानव तस्करमा अन्तर्राष्ट्रिय विमानस्थल स्थित तालुकवाला निकायका कर्मचारी नै संलग्न देखिनु अझ गम्भिर र लज्जाको विषय हो । तस्कर समूहले विमानस्थलमा ‘सेटिङ’का लागि मात्रै प्रतिदिन दुई करोडसम्म खर्च गर्ने गरेको तथ्यले त यो मुलुक कसरी चलिरहेको छ ? देशमा राजनीतिक दल कि अरु कसैको राज चलिरहेको छ ? बुझ्न अझ थप कठिन र जटिल भएको छ । प्रहरीको पछिल्लो अप्रेसनले मानव तस्करको महत्वपूर्ण सञ्जाल पत्ता लागेको छ । यसले अहिले सम्म कति मानव तस्कर गरिसकेको होला । त्यसबाट कति नागरिक ठगिएका होलान् ? सोचनीय विषय छ । बिडम्बना मानव तस्करीमा संलग्न अध्यागमन र एयरलाइन्सका कर्मचारीलाई भने प्रहरीले अझै पक्राउ गरेको छैन । उनीहरुलाई पक्राउ मात्र होइन, निश्पक्ष अनुसन्धान र दोषिलाई कारबाहीको कठघरामा जरुर उभ्याउनु पर्छ । अरु पनि बिभिन्न हिसाबले विमानस्थल मार्फत सेटिङमा मानव तस्कर भइरहेको व्यापक गुनासो छ । यसमा पनि सरकार र सम्बन्धित निकायले गहन अनुसन्धान अघि बढाएर मानव तस्करलाई पूर्णतः रोक्न पहल र भूमिका तत्काल खेल्नुपर्छ । अन्यथा, अझ कैयन नागरिक अबैध बेचिनेछन्, ठगिनेछन् । तस्करहरुले भने बेफिक्री अवैध अकुत धन आर्जन गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *