सम्पादकीय
यो देशमा अहिले जुन हदमा निराशाको बादल मडारिएको छ । त्यो भन्दा त नागरिकमा नेपालको राजनीति र नेताहरु प्रति तिब्र आक्रोश छ । लामो समयदेखि राजनीतिमा समर्पित केन्द्रीय स्तरका कुनै यस्तो नेता छैनन्, जो प्रति सर्वथा श्रद्धा र सम्मान स्वतस्फूर्त अभिव्यक्त होस् । बरु विस्तारै यस्तो अवस्था सिर्जना हुन थालेको छ कि पुराना नेताहरु भन्न साथ आलोचना, आक्रोश मात्र होइन, हातपात र भौतिक आक्रमण समेत हुन थालेको छ । यसले के संकेत गर्छ भने भोलिका दिनमा अहिलेकै अवस्था, पात्र र प्रवृत्ति बिद्यमान रहने हो भने नेपाली राजनीति, राजनीतिक दल र तिनका नेताहरु चौतर्फी खतराका बिचमा रहने छन् । जुन बेलाको घटना र परिदृश्य सरकार, राजनीतिक दल र नेताहरुको बशमा नहुन सक्छ ।
आखिर किन यस्तो अवस्था सिर्जना भइरहेको छ त ? यसमा हाम्रो राज्य सञ्चालक, मुख्य राजनीतिक दल, नेता र स्थायी सरकारको उपमा पाएको कर्मचारीतन्त्रले गम्भिरतापूर्वक समीक्षा मन्थन गरिरहेको छैन । त्यस अनुरुप योजना, कार्यक्रम र यथोचित नीतिहरु निर्माण र अबलम्बन गर्न सकिरहेको छैन । राजनीतिक दलका नेताहरु सस्तो आकर्षण र लोकप्रियताका लागि जे पनि बोल्ने, जे पनि गर्ने प्रवृत्तिका कारण आज चौतर्फी आलोचना र आक्रमणको शिकार बनिरहेका छन् । नेताहरु आफ्नै बोलि, विश्वास र भरोसाको अवमूल्यन हुने गरी बोल्न थालेपछि व्यक्तिमात्रै होइन, सिंगो उन्नत व्यवस्था माथि नै औँला उठाउने संख्या उल्लेख्य मात्रामा बढेको छ । कुनै बेला यही समाजले राजनीति र नेताहरूलाई निकै सम्मान, आशा भरोसाका दृष्टिले हेथ्र्यो । अहिले सबैभन्दा धेरै यो देशमा कसैको अवमूल्यन र उपहास हुन्छ भने त्यो राजनीतिक दलका नेताको हुन्छ र भइरहेको छ । चाहे त बहालवाला प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पूष्पकमल दाहाल प्रचण्ड होउन् या पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा वा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली अथवा अरु नै शीर्षस्थ नेताहरु होउन्, सबै नेता प्रति घृणा र आक्रोश व्याप्त देखिन्छ ।
यिनै नेताहरु हुन्, जसले पुरानो व्यवस्था बदले । उनीहरुलाई तत्कालीन समयमा सम्मानका साथ भरोसा पनि गरे । तर, आमअपेक्षा र विश्वास अनुरुप समाज र देशको हितमा उल्लेख्य कदम र सुधार गर्न नसके पछि नागरिकमा निराशा बढेको हो । त्यसमा कोरोना, डेँगु जस्तो महामारी होस् या आर्थिक मन्दी जस्तो विश्व्यापी संकट र समस्या होस् अथवा मुलुकमा बिद्यमान बेरोजगारी समस्या, जसका कारण दैनिक हजारौंको संख्यामा बिदेश पलायन हुनुपरेको समस्या होस् । जसमा सरकार, राजनीतिक दल र नेताहरुले वर्षौदेखि शासन चलाइरहे पनि ठोस कदम र काम अघि बढ्न नसकेकै कारण आजको समस्या र परिस्थिति उत्पन्न भएको हो । अर्को कुरा राजनीतिमा पनि सीमित स्वार्थका लागि विचार, सिद्धान्त सबै बिर्सेर मिल्ने तर भाषण गर्न परे एकले अर्कोलाई राजनीतिक सहिष्ण्ुाता बिर्सेर कटाक्ष र गाली गनले पनि नकच्च¥याइँको सीमा नाघेको हुन्छ । एउटा उच्च पद र कद हासिल गरेको नेताहरुले समेत सामान्य शिष्टता र मर्यादाको ख्याल राख्ने अपेक्षा त समाजले गरेकै हुन्छ । उनीहरूलाई आफूले जे बोले पनि जनताले पत्याउँछन् भन्ने भ्रम छ । अब यो भ्रमबाट त मुक्त हुनुपर्ने छ नै, चौतर्फी नेपाली राजनीति, पुराना मुख्य राजनीतिक दल र तिनका नेताहरु प्रति बढेको बितृष्णा, घृणा र आक्रोश पनि समयमै साम्य पार्नु आवश्यक छ । अन्यथा, यो स्वयंम् राजनीतिक दल, तिनका नेताहरुका लागि मात्र होइन, सिंगो नेपाल र नेपालीकै लागि घातक सावित हुनेछ ।