एउटै बसपार्क बनाउन/चलाउन कति वर्ष ?

सम्पादकीय
नेपालको विकास र बेथिति कति र कस्तो छ ? हेर्न बुझ्नका लागि टाढा कतै जानै पर्दैन । हरेक नागरिकले आफ्नो गाउँ ठाउँ, सेरोफेरो रस्तीबस्तीको योजना, आयोजना, त्यसमा जनप्रतिनिधि, कर्मचारीको शंकास्पद र उदेकलाग्दो भूमिका तथा तत्कालको उपलब्धि हेरे काफी हुन्छ । उसो त नेपालको राष्ट्रिय गौरवकै आयोजनाहरु ठुलो दुर्दशाबाट गुज्रिरहेका छन् । कति वर्षौदेखि ठेकेदारको लापरबाहीका कारण अलपत्र अवस्थामा छन् भने कतिको धिमा गति र प्रगति निराशाजनक अवस्थामा छ । अनि समाज र देशको विकास र समृद्धि कसरी सम्भव हुन्छ ? नागरिकमा चरम निराशा नभएर अरु के हुन्छ ? विकल्पमा विदेश जाने बाध्यता बाहेक के सोच आउँछ ? यसमा सरकार र सरोकारवाला निकाय बढी गम्भिर र संवेदनशील बन्नुपर्ने हो । त्यसमा भने सबैको भूमिका निकै फितलो देखिएको छ ।

बागलुङ बजार साविक धौलागिरी अञ्चल सदरमुकाम हो । अहिले यस मुकाम व्यवसाय र मानिसहरुको चहलपहलमा आएको उल्लेख्य गिरावटका कारण कठिन अवस्थामा छ । लाखौं लगानी गरेका र व्यवसाय मार्फत कुनै समय राम्रो आर्जन गरेकाहरु पनि यसबेला हतास मनस्थितिमा देखिएका छन् । अर्को तर्फ व्यवस्थित र गतिशील विकासको अवस्था हेर्ने हो भने पनि उस्तै निराशाजनक परिदृश्य देखिन्छ । बागलुङ बजारको बसपार्क यसकै एक खराब उदाहरण हो । बागलुङ बसपार्क निर्माणको पहल र कार्य शुभारम्भ भएको वर्षाै बितिसकेको छ । यद्यपि, अझै सम्म पनि बजारभन्दा नजिकै उपल्लाचौर दावगरामा बनाइएको बसपार्क प्रयोगविहीन छ । बसपार्क निर्माण भएको भनिएको दुई वर्ष पूरा भइसकेको छ । अझै पनि बसपार्क कहिले सञ्चालनमा आउँछ भन्ने पत्तो छैन । नगर विकास कोषबाट करोडौँ ऋण लिएर बसपार्क निर्माण गरिएको थियो । अहिलेसम्म उक्त ऋण चुत्ता भइसकेको छैन । नगरपालिकाले हरेक वर्ष करिब ६० लाख भुक्तानी गर्दै आएको छ । निर्माणसम्पन्न भएको बसपार्क वर्षौंसम्म सञ्चालनमा नआउँदै जीर्ण बन्ने खतरा व्याप्त छ ।

बागलुङ बसपार्कको योजना लामो समयदेखिको हो । यसअघि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलको कार्यकालमा धेरै काम अघि बढ्यो । पाँच वर्षअगाडि ठेक्कामा गएको बसपार्क विसं २०७८ मा निर्माण सम्पन्न भयो । अनेकन मुद्धा, विवाद र समस्याका बाबजुद सञ्चालनमा भने आउन सकेन । अहिलेका मेयर वसन्तकुमार श्रेष्ठको कार्यकाल एक वर्ष बितेको छ । बसपार्क सञ्चालनमा नआउँदा व्यवस्थित रुपमा यातायात सञ्चालन, व्यवस्थापनमा समस्या देखिएको छ । दुई वर्षअगाडि निर्माण भएको बसपार्कको अहिले पार्किङस्थलको कालोपत्र उप्कन थालेको छ । उपल्लाचौरमा निर्मित बसपार्क पुग्ने पहुँच मार्ग नबनेका कारण सञ्चालनमा ढिलाइ भइरहेको छ । बसपार्क जोड्न केही दुरीको सडक विस्तार र स्तरोन्नति अपरिहार्य छ । यसमा बानपाले जतिसक्दो छिटो नेतृत्वदायक भूमिका निर्वाह गरेर बसपार्क सञ्चालनमा ल्याउने बातावरण बनाउनु पर्छ । एउटै बसपार्क बनाउने कति समय, कति कार्यकाल जनताले कुर्नुपर्ने हो ? अब यो प्रश्न र सवाल गम्भिर बनेको छ । यसमा स्थानीय सरकार, जनप्रतिनिधि र कर्मचारी जवाफदेही बन्नै पर्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *