एमालेको संकल्प यात्रा, समृद्धि र अपेक्षा

सम्पादकीय
देशमा चौतर्फी चरम निराशा बढ्दो छ । राजनीतिमा बिकर्षण मात्र होइन, गुनासो र आक्रोश बढ्दो छ । अझ पुराना ठुला भनिएका राजनीतिक दल र नेताहरु प्रति त तिब्र बितृष्णा बढेको छ । ठिक यही बेला नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित झुलाघाटदेखि चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा गरिरहेको छ । एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा शीर्ष केन्द्रीय नेताहरु सहितको टोली बिहीबार गण्डकी प्रदेशको बागलुङ हुँदै पोखरा पुगेको छ । टोलीलाई निसीखोलाको पातिहाल्नेबाट बागलुङ सदरमुकाम सम्मै भव्य स्वागत गरियो । बागलुङ बजार, बुर्तिबाङ र गलकोटमा सन्देश सभा गरेको छ । जसमा एमाले नेता, कार्यकर्ताको मात्र होइन, आम जनमानसको ध्यानाकर्षण भइरहेको छ ।

एमालेले अहिले सञ्चालन गरेको संकल्प यात्राको जे उद्धेश्य निहित छ, त्यो उद्धेश्य र उपलब्धि कति हासिल भइरहेको छ र हुन्छ ? त्यो विस्तारै देखिएला । तर, यस अभियानले पूष्पलाल मध्यपहाडी लोकमार्गको यात्रालाई प्रोत्साहित र प्रवद्र्धन गरेको छ । सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्यमा केही मन्थन भइरहेको छ । अभियानमा अन्तरक्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफलले एमाले नेता कार्यकर्ताका साथै जनतासँग पनि नजिक पुग्ने अवसर छोपेको छ । यसले नयाँ स्वतन्त्र पार्टीहरुको लहरका बिच निराश र उदास बन्दै गरेका स्वयंम् एमालेकै नेता, कार्यकर्तामा पनि नयाँ उर्जा भरेको छ ।

सरकारको नेतृत्वमा रहँदा एमालेले सडक संकल्प र समृद्धिको पक्षमा के कति काम ग¥यो ? त्यसको बेग्लै समीक्षा र बहस हुन सक्छ । तर, अहिले प्रमुख प्रतिपक्षमा रहेको नेकपा एमालेले जनताको बिचमा पुग्नका लागि जे अभियान सञ्चालन गरेको छ । चुनावको बेलामा बाहेक जनताको घरदैलोमा नपुगेको गुनासो र आरोप तिब्र बनिरहेको बेला एमाले अभियान सकारात्मक छ । यसले एमालेजनमा नयाँ उत्साह र उर्जाको सञ्चार गराएको छ नै, मध्यपहाडी लोकमार्ग आसपासका जनतामा पनि केही न केही सकरात्मक उभार ल्याएको छ । तर, जुन मार्ग भएर अभियान सञ्चालित छ । त्यही मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड वर्षौदेखि अलपत्र छ । ठेकेदार पटक पटक सम्पर्कबिहिन छ । म्याद सकिए पनि सत्ता र शक्तिको आडमा पटक पटक म्याद थप गरिएको छ । अब अभियानका क्रममा देखिएका यस्तो समस्या, जटिलता, सम्भावना, अवसर, जनताको गुनासो र मागलाई कसरी आवाज बुलन्दित गर्छ ? सत्तामा पुग्दा कसरी सम्बोधन गर्न पहल र नेतृत्व गर्छ ? त्यो भने परीक्षाकै रुपमा रहनेछ । एमालेले अभियानका क्रममा व्यक्त गरेको संकल्पलाई समृद्धिमा रुपान्तरित गर्न कुनै पहल, समन्वय र नेतृत्वदायक भूमिका निर्वाह गरेन भने त्यो केबल एक कर्मकाण्डमा सीमित रहनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *