चुनाव कि देशको चिन्ता ?

सम्पादकीय
जुन कुनै पनि लोकतान्त्रिक देशका लागि चुनाव त महत्वपूर्ण हो नै, अझ त्यसमा सहभागी राजनीतिक दल र नेताहरुका लागि त नेतृत्वको बागडोर लिने ऐतिहासिक अवसर पनि हो । जनताका लागि त आफ्नो भाग्य र भविष्य निर्माण गर्ने निश्चित अवधि अख्तियारी दिने स्वर्णिम मौका हो । तर, दुर्भाग्य भन्नुपर्छ, हामीकहाँ राजनीति कुरुप, राजनीतिकर्मी खराब नियतबाट निर्देशित हुँदा न त देशले व्यवस्था अनुुसारको विकास पाएको छ, न त आर्थिक समृद्धि नै । बरु राजनीति अस्थिरता, बेथिति, बेरोजगार लगायतका समस्याको थुप्रो छ । यसबाट देशलाई मुक्त गरेर स्वदेशमै भविष्य सुनिश्चित गर्ने अवस्था कहिले आउला ? निकै सोचनीय विषय बनेको छ ।

यतिबेला मुलुकको अवस्था नाजुक छ । आर्थिक मन्दीले हर व्यवसाय प्रभािवत छ । आम्दानी घट्दो छ, बजारमा महँगी आकाशिएको छ । सरकार जनताको दैननिदिन समस्या, पिर मर्काको सम्बोधन गर्ने तर्फ भन्दा सत्ता कसरी जोगाउने भन्ने पिरलोमा छ । सत्तारुढ गठबन्धन देश बनाउने योजनाबद्ध खाका भन्दा आफ्ना निकटकालाई कसरी अवसर र लाभ दिलाउने भन्ने ध्याउन्नमा छन् । सत्ता इतरका दलहरु आगामी मिसन ०८४ केन्द्रित भन्दै अभियान चलाइरहेका छन् । यही अनुक्रममा शनिबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महत्वपूर्ण अभिव्यक्ति दिए । उसो त नेताहरुको भाषण त मिठास हुन्छ नै तर, उनले आजको जुन समय र सन्दर्भमा राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । यो खासमा अहिलेको अपरिहार्य छलफल, बहस, चिन्तन, मननको समय हो । यसमा सत्ताको बागडोर सम्हालेको नेकपा माओवादी केन्द्र मात्र होइन, सिंगो गठबन्धन उदासीन छ । प्रतिपक्षी दलहरु समेत सरकारलाई जवाफदेही बनाउने भन्दा ०८४ को रटानमा देखिएका छन् ।

गाउँ घर त राजनीति र नेताहरुबाट उपेक्षित थियो नै । यद्यपि, संघीय अभ्यास सुरु भएर तीन तहको सरकार बने पछि स्थानीय सरकारले केही नजिक तुल्याएको छ । मिसन ८४ होइन, खासमा सत्तारुढ दल र अरु इतरका राजनीतिक दलहरु बिचमा २०८० मै गर्ने काम, २०८१ मा गर्न सक्ने कामको बारेमा संसद र सेरोफेरोमा यथेष्ट छलफल मन्थन हुनुपथ्र्यो । यसो हुन नसक्नुमै सरकार, राजनीतिक दल र नेतृत्वमा समस्या हो । जसका कारणले देश बन्ने बनाउने भन्दा पनि चुनाव केन्द्रित राजनीतिले मुुलुकलाई राम्रो गर्दैन । यो धेरै पहिले देखि देशले भोगिरहेको दुःखद नियति हो । अब चुनाव केन्द्रित होइन, देश केन्द्रित राजनीतिको जरुरी छ । यसमा गम्भिर र जनउत्तरदायी जवाफदेही नहुने हो भने राजनीतिक दल र नेताहरुलाई समय र जनताले निकट सममयै किनारा लगाउने निश्चित छ । पुराना वर्षाैदेखि बर्चस्व जमाइरहेका राजनीतिक दल र नेताहरुलाई ०७९ कै निर्वाचनले खतराको घण्टि बजाइसकेको छ । अब पनि चेत नआउने या नसच्चिने, नसुध्रिने हो भने निःसन्देह भोलिका दिन साँच्चिकै राजनीतिक दल र राजनीतिकर्मीका लागि कठिन समय आउन सक्ने खतरा छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *