कमजोर मानवनिर्मित संरचना, विपद् र जोखिम

सम्पादकीय
नेपाल कति अव्यवस्थित र अस्थिर रुपमा चलिरहेको छ ? त्यसबाट नेपाली नागरिकले अकालमै कति मृत्युबरण गर्नुपरेको छ । कति नागरिकले कष्टप्रद जीवनयापन झेल्नुपरेको छ । त्यसको नेपाली राजनीति र समाजमा खास हिसाब छैन । सत्ताको बागडोर सम्हालेकाहरुमा पनि यसबारे खास गम्भिरता देखिदैन । नेपालको सिंगो प्रणाली हेर्दा पनि सत्ता र शक्तिमा हुनेहरुका लागि एकखालको सहजता देखिन्छ भने यसमा पहुँच नहुनेहरु सकसपूर्ण जीवन दैनिकी भोग्न बिबश बनिरहेका छन् । यो देशमा न सडक यात्रा सुरक्षित छ, न हवाइ यात्रा । न सुरक्षित आवास छ । सर्वत्र असुरक्षा र जोखिम व्याप्त छ ।

नेपालका संरचना खासगरी आवासीय र सार्वजनिक भवन कति मजबुत छन् त्यो २०७२ वैशाख १२ गतेको ७.८ म्याग्निच्युड र गत कात्तिक १७ गतेको ६.४ म्याग्निच्युडको भूकम्पले देखाइदिएको छ । तर पनि हाम्रो आँखा भने अझै खुलेको छैन । ०७२ सालको भूकम्प र त्यसपछिका पराकम्पले साढे १० लाखभन्दा बढी घरमा क्षति गरेको थियो । साढे ७ लाखभन्दा बढी घर पूर्णरुपमा ध्वस्त भएका थिए । घरहरु भत्किँदा पुरिएर÷थिचिएर ८ हजार ७९० जनाको मृत्यु भएको थियो । २२ हजार ३०० भन्दा बढी घाइते भएका थिए । २०७२ सालको भूकम्पले विनाश गरेको साढे ८ वर्षपछि गत कात्तिकमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको मध्यम खालको भूकम्प गयो । जाजरकोट भूकम्पले १३ जिल्लाका ६२ हजारभन्दा बढी घरमा क्षति गर्यो । घरहरु भत्किँदा १५४ जनाको मृत्यु भएको थियो । विपद् जोखिमसम्बन्धी विश्वव्यापी प्रतिवेदनहरुका अनुसार पनि विश्वमा सबैभन्दा बढी भूकम्प जोखिम भएको देशको सूचीमा नेपाल ११औँ स्थानमा पर्छ भने विश्वमा सबैभन्दा बढी प्रकोपको जोखिम भएको देशको सूचीमा नेपाल २० औं नम्बरमा पर्छ । विश्वमा सबैभन्दा बढी बाढीको जोखिम भएको देशको सूचीमा नेपाल ३०औं स्थानमा पर्छ । यस्तो जोखिमयुक्त देशमा सरकारले पूर्ववत सचेतता सहितको उपर्युक्त नीति, कार्यक्रमम आत्मसाथ गर्नुपर्ने हो, त्यसमा राज्य र यसका संयन्त्रहरु पटक पटक चुकिरहेका छन् ।

देशमा जे जस्तो विपद् र घटनाबाट ठुलो क्षति हुने गरेको छ । त्यसमा खासगरी मानव निर्मित संरचनाहरु भत्किँदा धेरै जनधनको क्षति हुने गरेको पाइएको छ । यसको उदाहरण पछिल्लो पटक गत कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प र यसबाट भएको क्षतिलाई लिन सकिन्छ । यसमा दोष भूकम्प विपद्का घटनाको होइन, मानिसको हो जसले सम्भावित विपद्लाई कम आँकेर जबरजस्त कमसल संरचना बनाएकाले हो । यसले के देखाउँछ भने अब हामीले संरचनाहरु निर्माण गर्दा विपद् ख्याल गरी बनाउनुपर्छ । घर बनाउँदा जमिनको अध्ययन सहित जोखिम कम गर्न के कस्तो सामाग्री, कसरी प्रयोग गर्ने भन्नेमा ध्यान दिनुपर्छ । यसका लागि भवनसंहिताको पालना गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *