संस्कृति मन्त्रीको विवादास्पद अभिव्यक्तिबारे

सम्पादकीय
नेपाली समाजमा राजनीति कुरुप खेलका रुपमा परिभाषित छ नै, यसले देशका नेताहरुलाई खराब चित्रित गर्ने मात्र होइन, दैननिदिन बदनाम बनाइरहेको छ । त्यतिकै बदनाम र आलोचित छन् देशका नेताहरु । त्यसैले त पुराना राजनीतिक दल र नेताहरु प्रति आम रुपमा तिब्र गुनासो, आक्रोश र घृणा व्याप्त छ । नयाँ भनिएका दल र नेताहरुमा देखिने पुरानै प्रवृत्तिले पनि नागरिक आजित हुन थालेका छन् । नेताहरु नेपाली समाजको आवश्यकता, विविधता अनुसारको काम, कदम र भाषण भन्दा पनि मास सेन्टिमेन्टमा केन्द्रित रहेर बोल्ने कारण पटक पटक विवादित र तिब्र आलोचित बन्ने गरेका घटना थुप्रै छन् । बुधवार मात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले धार्मिक विषयलाई लिएर दिएको भाषण अहिले विवादित र आलोचित बनेको छ ।

‘क्रिश्चियनलाई मान्दिन भन्नु संविधान नमान्नु र संविधान नमान्ने देशद्रोही हुन् त्यस्तालाई हत्कडी लगाएर जेलमा हालिदिने हो ।’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किरातीको यस अभिव्यक्तिको संक्षिप्त भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसको हिन्दुधर्मालम्बी लगायतले चर्को विरोध गरिरहेका छन् भने माओवादी नेता, कार्यकर्ता र क्रिश्चियन धर्मालम्बीले भने उनको अभिव्यक्तिको बचाउ गरिरहेका छन् । संसदीय समितिको बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । नेपाल वायु सेवा निगमका विषयमा छलफलका लागि प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले राखेको बैठकमा राप्रपाका सांसद धवलशमशेर राणाले किरातीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मन्त्री किरातीमाथि देशमा द्वन्द्व निम्त्याउने अभिव्यक्ति दिएको आरोप लगाउँदै सार्वजनिक रुपमा माफी माग्न आग्रह गरिएको छ । राप्रपा निकट युवा संगठन सहित कतिपयले उनको पुत्ला दहन र राजीनामाको माग समेत गरेका छन् ।

अहिलेको मन्त्रपरिषदमा मन्त्री किराती तुलनात्मक रुपमा इमान्दार र प्रष्ट मानिन्छन् । यद्यपि, उनी माथि पनि अनेकन आरोप भने छ । उनी आफूलाई लागेको विषय खुलेर भन्छन्, त्यो सकारात्मक पक्ष हो । तर, यसरी बोल्ने क्रममा नेताहरु कहिले भावनात्मक र कहिले मास, तालीको उक्साहट र आयोजकको स्वागत सत्कारको पुलिन्दामा उत्तेजित हुँदा विवादास्पद र आलोचित हुन पुग्छन् । मन्त्री किरातीको पछिल्लो समयको अभिव्यक्ति पनि यसकै उपज हो । उनी स्वयंम्ले धर्मनिरपेक्ष देशमा सबै धर्म प्रति राज्यको अभिभावकका हिसाबले अरु धर्म जस्तै क्रिश्चियन धर्मालम्बीलाई पनि सम्मान र स्थान दिनुपर्छ भन्ने कुरा गलत हैन । तर, त्यही कुरा अरु विवादित नहुने हिसाबले पनि भन्न सकिन्थ्यो । यसमा उनी केही न केही चुकेकै छन् । यस्ता संवेदनशील विषयमा बोल्दा प्रधानमन्त्री, मन्त्री र नेताहरुले बोलीमा लगाम लगाउनै पर्छ । अझ हिन्दु धर्म, हिन्दु संवेदनामाथि अशोभनीय र अमर्यादित टिप्पणी गर्ने कार्यमा कतै उनको नियत या खोट केही छ भने त्यो खतरानक विषय हो । नेपाली समाज जाति, धर्म, लिंग, क्षेत्र धेरै हिसाबले विविधता सहितको समाज हो । यसमा कसैले पनि कुनै पनि बाहना र विषयमा साम्प्रदायिक विद्वेष फैलाउने अभिव्यक्ति र कार्य गर्नुहुन्न । अझ राज्यको बागडोर सम्हालेर बसेकाहरु त अझ सचेत, संवेदनशील र गम्भिर बन्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *