गण्डकी,वैदेशिक रोजगार र मृत्युको तथ्यांक

सम्पादकीय/ वैदेशिक रोजगार नेपाल र नेपालीको अधिक मात्रा बाध्यताको गन्तव्य हो भने केहीका लागि रहरको गन्तव्य हो । तर, यसरी परदेश पुगेर धन कमाउने, परिवारको जीविकोपार्जन जीवन दैनिकी सहज बनाउने धेरैको सपना चकनाचुर बनेको छ । कतिले विदेशमै अकालमै जीवन त्याग गर्नुपरेको छ भने कति अपेक्षा अनुसारको काम, पैसा नभए पछि बरालिने गरेका छन् । कति विदेश जाँदा लगानी गरेको ऋण खर्च समेत उठाउन नसकेर खाली हात फर्किन बिबश बनिरहेका छन् । यस्तो बिडम्बनापूर्ण अवस्था आउनुमा श्रम स्वीकृति लिएर जाने पनि छन्, त्यो भन्दा बढी अवैध रुपमा विदेश जानेहरु छन् । यसमा राज्य पनि लाचार प्रायः अवस्थामा छ ।

वैदेशिक रोजगारीको रेमिट्यान्स बाहेक अरु धेरै तथ्य र तथ्यांक दुःख र चिन्ता लाग्दो छ । वैदेशिक रोजगारीमा गएकाहरुको गण्डकी प्रदेशको पछिल्लो मृत्युको तथ्यांक पनि झस्काउने खालको छ । ४ महिनामै गण्डकीका ७५ जनाको वैदेशिक रोजगारीमा मृत्यु भएको तथ्यांक छ । गत साउनदेखि कात्तिकसम्म वैदेशिक रोजगारीमा रहेका कास्कीका मात्र ११ जनाको मृत्यु भएको छ । मंसिरमा थप १० जनाको मृत्यु भएको तथ्यांक रहेको सुरक्षित आप्रवासन परियोजना (सामी)ले जनाएको छ । सबैभन्दा धेरै नवलपुरका १६ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यक्रम अधिकृत शिव रेग्मीका अनुसार गण्डकी प्रदेशमा मात्रै साउनयता औसतमा महिनाको १५ जनाको दरले मृत्युका घटना आइरहेका छन् । साउनदेखि कात्तिकसम्म ६५ जना र त्यसयता कम्तीमा थप १० जनाको मृत्यु भएको तथ्यांक अहिले छ । त्यो भन्दा ठूलो संख्यामा अंगभंग र बिरामी बनेर फर्कने संख्या छ । देशभरको तथ्यांक हेर्दा गत आर्थिक वर्षमा १ हजार २०८ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

नेपालका लागि वैदेशिक रोजागार बाध्यताको गन्तव्य त हो तर, राज्यले यसलाई सहज र सुरक्षित बनाउन सकिरहेको छैन । नेपालबाट प्रति वर्ष करिब ५ लाख भन्दा बढी श्रमशक्ति श्रम बजारमा प्रवेश गर्ने तथ्यांक छ । मुलुकमा सीमित रोजगारीका अवसर, गरिबी लगायतका कारण वैदेशिक रोजगारीप्रति आकर्षित भइरहेका छन् ।नेपालबाट श्रम स्वीकृत लिएर वैदेशिक रोजगारमा जानेको संख्या ७१ लाख नाघिसकेको छ । हाल दैनिक सरदर २ हजार २०० जना वैदेशिक रोजगारमा गइरहेका छन् । यसरी विदेश जाने, पठाउने मात्र होइन, तीन तहको सरकारले विदेशमा हुने मृत्युको जोखिम, दुःख,सास्तीबारेमा पनि यथेष्ट जानकारी र बोध गराउनु पर्छ । जाने स्वयंम् व्यक्ति पनि मानसिक, शारीरिक सबै हिसाबले तयार र सचेत बन्नुपर्छ । अन्यथा विदेशमा धन होइन, आफै शब बनेर सेतो बाकसमा आउने खतरा सदैव हुनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *