सरकारको कार्यशैली जरुर बदलियोस्

सम्पादकीय
नेकपा माओवादी केन्द्र नेतृत्वको गठबन्धन सरकार बनेको एक वर्ष पुरा भएको छ । यो एक वर्ष वर्तमान सरकारका लागि सुशासनमा केही सकरात्मक कदम अघि बढाए पनि अरु विषय र क्षेत्रमा भने चौतर्फी निराशाजनक अवस्था बिद्यमान छ । सरकार मुलुकको परिवर्तन, विकास, समृद्धिमा केन्द्रित भन्दा पनि सत्ता के कसरी जोगाउने भन्ने ध्याउन्नमा छ । देशमा आर्थिक मन्दी व्याप्त छ । मुलुकको दक्ष जनशक्ति युवाहरुको विदेश पलायन तिब्रतर गतिमा छ । आफ्नै देशमा केही गरौं भन्ने नागरिकहरु समेत हतोत्साही अवस्थामा छन् । शहर बजारका दर्जनौ सटरहरु अहिले खाली भएर भाडाका लागि सूचना टाँस गरिरहेका छन् । यस्तो गम्भिर अवस्थामा पनि सरकारले मुलुकको अर्थतन्त्रलाई लयमा ल्याउन, विदेश पलायनलाई कम गर्न, स्वदेशमै केही गर्न उत्प्रेरित गर्ने खालका कार्यक्रम ल्याउन नागरिकलाई खास अनुभूति हुने गरी कुनै चासो र भूमिका देखाएन ।

यद्यपि, वर्तमान सत्ता गठबन्धनको सरकार बनेको एक वर्ष पुरा हुँदा सरकार स्वयंम् रक्षात्मक अवस्थामा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार एक वर्ष पूरा भएको अवसरमा देशवासीका नाममा सम्बोधन गर्दै त्यसको स्वीकारोक्ति गरेका छन् । त्यस क्रममा उनले अब सरकारको कार्यशैली बदलिने घोषणा गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनबाट देशवासीसामु स्वीकार गर्दै सरकार असफल त भएन, तर आफ्नो सपना र हुटहुटी अनुसारको परिणाम नआएको प्रष्ट बताएका छन् । बनिसकेका पूर्वाधारको जस खोसाखोस गर्न छाडेर सम्पन्न हुन बाँकी पूर्वाधारको चिन्तामा रहेको उद्घोष गर्दै देश कति बन्यो भन्ने होइन, कति बन्न सक्थ्यो भन्ने आत्मसमीक्षामा गर्नु सकारात्मक पक्ष हो । यही चिन्ता र आत्मसमीक्षाका साथ प्रधानमन्त्री प्रचण्डले अब सरकारको कार्यशैली बदल्ने सार्वजनिक घोषणा गर्नुले अझै केही गर्न खोजेको प्रतीत हुन्छ । यसको शुरुवातको रुपमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने र सिंगो राज्यका लागि त्यो एउटा संकेत र सन्देश हुने उद्घोष गरेका छन् । कार्यतालिका र समयतालिका नै बनाएर सबै सरोकारवालालाई एक ठाउँमा राखेर समग्र पूर्वाधार विकासका कानुनी, नीतिगत र प्रक्रियागत जटिलताको दीर्घकालीन हल खोज्ने प्रतिबद्धता छ । एकले अर्कोलाई देखाएर देशको विकास अवरुद्ध गर्ने प्रवृत्ति अन्त्य गर्ने घोषणा छ ।

हुन त नेपालको सरकार, राजनीतिक दल, नेताहरुको घोषणा, भाषण, प्रतिबद्धता प्रति आम विश्वास र भरोसा छैन । किनकि यसअघि यी र यस्ता कैयन घोषणा, भाषण, प्रतिवद्धता सार्वजनिक रुपमा व्यक्त गरिएका छन् । सत्ता र शक्तिमा पुग्दा त्यसको कार्यान्वयन हेर्ने हो भने निकै निराशाजनक अवस्था र परिदृश्य व्याप्त देखिन्छ । वर्तमान सरकारले विश्वव्यापी आर्थिक मन्दी लगायतका समस्या, अप्ठ्यारा बाबजुद पनि सुशासन लगायतका क्षेत्रमा केही गर्न खोजेको छ, त्यो सकारात्मक छ । तर, अरु गर्नै पर्ने काम र कदमहरुमा सरकार पटक पटक चुकिरहेको छ । वर्तमान सरकार बन्दा जुन आशा, अपेक्षा, भरोसा थियो, त्यसमा उल्लेख्य गिरावट आएको छ । कार्यशैली पनि उही पुरानै ढर्राकै छ । यद्यपि, प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकार बनेको एक वर्ष पुगेको अवसरमा सरकारको कार्यशैली बदल्ने जुन घोषणा गरेका छन्, त्यो अपरिहार्य काम र कदम हो । यसमा वर्तमान सरकार र प्रधानमन्त्री प्रचण्ड अब कदापि नचुकुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *